फ्याँकिएको फूललाई नयाँ जीवन दिने सुषमा « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

फ्याँकिएको फूललाई नयाँ जीवन दिने सुषमा



सविना कार्की                             

आर्थिक आत्मनिर्भरता नै सशक्तिकरणको आधार हो । यही विश्वासका साथ अघि बढिरहेकी काठमाडौंकी सुषमा शर्माको यात्रा धेरैका लागि प्रेरणा बनेको छ । खेर जाने फूललाई नयाँ जीवन दिँदै सुरू भएको फूलप्रसादले आज उनको मात्र हैन सय भन्दा बढी महिलालाई आत्मनिर्भर बनाइदिएको छ । यही सन्दर्भमा फूलप्रसादकी सञ्चालक सुषमा शर्मासँग हामीले महिला सशक्तिकरण र उद्यमशीलताको विषयमा कुराकानी गरेका छौं ।

 १. बैंकिङ करियर छोडेर उद्यममा लाग्ने निर्णय किन र कसरी गर्नुभयो ?

मैले ३० वर्षको जागिरे जीवनमा १५ वर्ष बैंकमा बिताएँ, तर जागिर गर्दा मन सन्तुष्ट थिएन । त्यसैले तीन महिनाको बिदा लिएर उद्यमशीलतामा के गर्न सकिन्छ भनेर अध्ययन गरें । अध्ययनको क्रममा मन्दिरमा भक्तजनहरूले चढाएको फूल फोहोरको गाडीमा फ्याँकिएको देखेँ । फ्याँकिएको फूललाई नयाँ जीवन दिने विचार आयो, जसले थुप्रै महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन सक्ने सम्भावना थियो । मैले जागिर पूर्ण रूपमा छोडेर उद्यमशीलतामा लाग्ने निर्णय गरें ।

२. खेर जाने फूलबाट नै व्यवसाय गर्ने सोच कसरी आयो ?

नयाँ केही गर्नुपर्छ भन्ने सोच त पहिलेदेखि नै थियो । मन्दिरमा चढाइएका फूलहरू फ्याँकिएको देख्दा मन छोयो, र त्यहीँबाट वेस्टहुने फूललाई प्रसादकै रूपमा पुनः प्रयोग गर्न सकिन्छ भन्ने विचार आयो । त्यसपछि ती फूललाई धुपका रूपमा रूपान्तरण गर्ने कल्पना गरियो । फूल कुहिन नदिई त्यसलाई नयाँ जीवन दिने उद्देश्यसहित फूलप्रसाद सुरू गरियो । यस क्रममा परापूर्वकालदेखि चलिआएको बाटेको धुपलाई आधुनिक रूपमा ब्रान्डिङ गर्ने सोच पनि आयो । फूल र विभिन्न प्रकारका वनस्पतिबाट धुप उत्पादन गर्दा एकातिर रोजगारी सिर्जना गर्न सकिन्छ भने अर्कोतिर वातावरण सफा राख्न पनि सहयोग पुग्छ ।

३. उमेरले पाँच दशकपछि पनि उद्यममा लाग्ने ऊर्जा र प्रेरणा कहाँबाट आयो ?

अहिले म ५९ वर्षकी छु, तर सधैं आफूलाई युवा महसुस गर्छु । यहाँ उमेरले होइन, उद्देश्यले नै उर्जा दिन्छ । जुनसुकै उमेरमा पनि नयाँ सुरूवात गर्न सकिन्छ । सबैभन्दा ठूलो कुरा भनेको आत्मविश्वास हो । आत्मविश्वास मर्न दिनु हुँदैन, यही कुरा सबैका लागि प्रेरणाको स्रोत बन्न सक्छ ।

४. फूलप्रसाद कति लगानीमा सुरू भयो, अहिले के उत्पादन हुन्छ ?

सानो लगानीबाट फूलप्रसाद सुरू गरियो तर विश्वास ठूलो थियो । बाटेको धुपबाट सुरू भएको फूलप्रसादमा अहिले पूजाका सामानदेखि विभिन्न थरीका धुप उत्पादन हुन्छ । हाम्रो मुख्य प्राथमिकता धुप नै हो ।

५. फूलप्रसादले कति महिलालाई रोजगारी दिएको छ, महिलाहरूलाई आत्मनिर्भर बनाउँदा तपाईंलाई कस्तो अनुभूति हुन्छ ?

फूलप्रसादमा अहिले सय भन्दा महिलाहरू जोडिनुभएको छ । मन्दिरबाट संकलन गरेर ल्याएको फूल कारखानामा धुलो बनाउनेदेखि, धुलोबाट धुप बनाउने र प्याकेजिङ गर्नेसम्म महिलाहरू नै हुनुहुन्छ । यो देख्दा खुसी लाग्छ । हिजो उ अरूसँग हात थाप्नुपर्थ्यो भने आजको दिनमा आफैं सक्षम भएको देख्दा आनन्द लाग्छ । आर्थिक रूपमा आत्मनिर्भर हुनु त छँदै छ त्यसले दिएको खुसीको कुनै मूल्य नै हुँदैन ।

 ६. उद्यम सुरू गर्दा मुख्य चुनौती के थिए, कसरी पार गर्नुभयो ?

जुनसुकै काम सुरू गर्दा सबैभन्दा ठूलो कुरा विश्वास जित्नु हो। बजार बनाउनु र त्यससँगै आर्थिक व्यवस्थापन मिलाउनु पनि आफ्नै किसिमका चुनौती हुन् । हरेक काममा चुनौती त हुन्छन् नै, तर तिनलाई अवसरका रूपमा लिन सक्नुपर्छ भन्ने हाम्रो मान्यता हो । फूलप्रसाद सुरू गरेलगत्तै देशमा कोभिड महामारी फैलियो, जसले थप चुनौती खडा गर्‍यो । तर त्यही समयलाई हामीले अवसरका रूपमा उपयोग गर्दै कम्पनीको ब्रान्डिङ र उत्पादनको प्याकेजिङ राम्रो बनायौं ।

 ७. महिलाहरू उद्यममा अपेक्षित रूपमा किन आउन सकेका छैनन् ?

विगतको तुलनामा अहिले धेरै महिला उद्यममा जोडिएका छन् । आज पैसाकै कारण व्यवसायका लागि बाधा छैन । महिला उद्यमीका लागि स्टार्टअप कर्जा उपलब्ध छन् र ऋण लिन पनि पहिलेको भन्दा सहज छ । तर दुरदराजका महिलाहरूको सन्दर्भमा, तालिम र नेटवर्कको अभाव अझै छ । धेरै महिलाहरू आफ्ना सपना पूरा गर्न अघि बढ्न नसकी परिवार र समाजको डरले त्यसलाई दबाएर बस्न बाध्य हुन्छन् । यदि एक अर्कालाई सहयोग गर्ने वातावरण निर्माण भयो र महिलालाई शंकाको दृष्टिले हेर्ने प्रवृत्ति हट्यो भने धेरै अघि बढ्न सक्छन् । म हुर्केको परिवारले मलाई छोरा सरह व्यवहार गर्‍यो, त्यसैले मैले कहिल्यै आफूलाई पुरुषभन्दा कम महसुस गर्नुपरेन । हरेक परिवारले छोरीलाई छोरासरह व्यवहार गर्ने र अवशर दिने हो भने छोरीहरू पनि सपना पुरा गर्न सक्छन् ।

८. महिला उद्यमीलाई अघि बढाउन कस्ता नीति आवश्यक छ ?

महिला उद्यमीका लागि सहुलियत कर्जालाई निरन्तरता दिनु आवश्यक छ । महिलाले उत्पादन गरेका वस्तुमा सरकारले कर छुटको व्यवस्था गर्नुपर्छ । उनीहरूको उत्पादनलाई बजारसम्म सहज पहुँच दिलाउन सहयोग गर्नुपर्छ । र सीप विकासका लागि निरन्तर तालिमको अवसर उपलब्ध गराइरहनुपर्छ, जसले उनीहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्छ ।

 ९. महिलाको आर्थिक सशक्तिकरणले समाजमा कस्तो प्रभाव पर्छ ?

सबैभन्दा पहिले घरमै सकारात्मक प्रभाव देखिन्छ । घरमा स्थायित्व र खुसी आउँदा त्यसको प्रभाव समाजसम्म पुग्छ, र समाज हुँदै देशसम्म फैलिन्छ । यस अर्थमा महिलाको आर्थिक सशक्तिकरणलाई एउटा बलियो स्तम्भका रूपमा लिन सकिन्छ । जसले सामाजिक सन्तुलन मात्र होइन, देशको समग्र अर्थतन्त्रलाई पनि मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्‍याउँछ ।

 १०. नेपालमै उद्यम गर्न चाहने महिला उद्यमीलाई तपाईंको सन्देश के छ ?

महिला दिदीबहिनीहरू आँट गर्नुहोस्। यसका लागि टाढा जानुपर्दैन वरपर हेर्नुहोस् । नयाँ कुरा खोज्नुहोस् र त्यसलाई सानो नमूना (प्रोटोटाइप) बनाएर अघि बढाउनुहोस् । जुनसुकै कुरा पनि मेहनत र लगनशीलताका साथ बजारमा स्थापित गर्न सकिन्छ । तपाईंमा आत्मविश्वास, मेहनत र स्थिरता रह्यो भने कुनै पनि काम सफल बनाउन सकिन्छ ।

 

प्रकाशित मिति : २१ चैत्र २०८२, शनिबार  ९ : ३० बजे

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री

माइतीघरमा द्वन्द्वपीडितको धर्ना, सहभागितामूलक न्याय प्रक्रियाको माग

काठमाडौं । संक्रमणकालीन न्याय प्रक्रियामा द्वन्द्वपीडितको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने मागसहित द्वन्द्वपीडितहरूले बिहीबार काठमाडौंको माइतीघर मण्डलमा

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, कानुन सुधारमा जोड

काठमाडौं । संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्अन्तर्गत विश्वव्यापी आवधिक समीक्षा

यौन हिंसापीडितको क्षतिपूर्तिमा पहुँचसम्बन्धी क्षेत्रीय अध्ययन प्रतिवेदन सार्वजनिक

काठमाडौं । दक्षिण एसियामा यौन हिंसापीडितहरूको क्षतिपूर्तिमा पहुँचको अवस्थाबारे गरिएको