चिया पसलदेखि महासचिवसम्म: सडक वारपारको सङ्घर्षमय यात्रा « Mahila Khabar
९ कार्तिक २०८३, आइतबार

चिया पसलदेखि महासचिवसम्म: सडक वारपारको सङ्घर्षमय यात्रा



रिना थापा

पोखरा । उद्योग वाणिज्य संघ, पोखराको कार्यालय । फागुन महिनाको मध्यान्ह । कार्यालयको एक कक्षमा फोनको घण्टी बजिरहेछ । टेबुलमा फाइलहरू थुप्रिएका छन् । र ती सबैबीच एक महिला व्यस्त देखिन्छिन्– फोन डायल गर्दै, भेटघाट मिलाउँदै, कामको तालिका बनाउँदै ।

झट्ट हेर्दा दृश्य सामान्य छ । कुर्सी पनि साधारण नै छ । तर त्यो कुर्सीमा बस्ने महिला असाधारण छिन् । किनकि त्यो जिम्मेवारी बोकेको कुर्सी थियो– महासचिवको कुर्सी । र, त्यो कुर्सीमा बसेकी थिइन् शोभा गौतम ।

उनको व्यस्तता पदको कारण थियो, तर उनको कथा पदभन्दा धेरै ठूलो छ । त्यो कथा हो सङ्घर्ष, अपमान, आँसु र अडानले बनेको एउटा जीवनयात्राको । जुन कथा पोखराको एउटै सडक वारपारमा लेखिएको छ ।

किनकि आज उनी नेतृत्वमा पुगेको संस्थाको ठीक अगाडि उनले चिया बेचेर जीवन धानेकी थिइन् ।

अझ रोचक कुरा के भने, उनले नेतृत्व गरिरहेको संस्थाको कार्यालयको ठीक अगाडि, सडकको पारिपट्टि, २७ वर्षअघि उनले सानो चिया पसल चलाएर जीवन धानेकी थिइन् । आजको दूरी सडक वारपार जस्तो देखिन्छ, तर जीवनको हिसाबले त्यो दूरी पार गर्न उनलाई वर्षौँको कठोर सङ्घर्ष गर्नुप¥यो ।

विसं २०३७ मा कास्कीकोटको एक सामान्य परिवारमा जन्मिएकी शोभा घरकी जेठी छोरी थिइन् । जेठी छोरी भएकाले घरमा उनीमाथि जिम्मेवारी पनि बढी थियो र मायाको केन्द्र पनि उनी नै थिइन् । परिवारका लागि उनी घरको ‘शोभा’ थिइन्, र संयोगले उनको नाम पनि त्यही रह्यो–शोभा । बाल्यकालको केही समय उनले पनि अरू बालबालिकाजस्तै रमाइलोमा बिताइन् । तर त्यो बाल्यकाल धेरै लामो रहेन । १६ वर्षको उमेरमै विवाह भएपछि उनको जीवनको बाटो अचानक मोडियो ।

साउदी अरबमा रोजगारी गर्ने युवकसँग उनको विवाह भयो । विवाहपछि दुई वर्षसम्म श्रीमान विदेशमै रहे । त्यस समय उनी माइतीमै बसिन् । पछि उनी पोखरा आइन् । साल ठ्याक्कै उनलाई याद छैन, तर एउटा कुरा उनी स्पष्ट सम्झिन्छिन्– छोरा पेटमा हुँदा नै उनले चिया पसल चलाउन सुरु गरिसकेकी थिइन् ।

पोखराको गैह्रापाटनमा, जिल्ला प्रहरी कार्यालय कास्कीको ठीक अगाडि, सानो चिया पसल थियो उनको । त्यही पसल उनको जीवनको आधार बन्यो । २०५८ सालमा पहिलो सन्तान–छोरा जन्मियो । त्यो समय देश द्वन्द्व कालमा थियो । बाहिर देशको अवस्था अस्थिर थियो,भित्र शोभाको जीवन पनि त्यत्तिकै अस्थिर थियो ।

प्रहरी कार्यालयभित्र क्यान्टिन नभएकाले उनको चिया पसलमा ग्राहकको कमी थिएन । व्यापार राम्रै चल्थ्यो । आम्दानी पनि हुन्थ्यो । तर त्यो आम्दानीले उनलाई समाजको दृष्टिकोणबाट बचाउन सकेन । चिया पसल चलाउने महिला भएकाले उनले अनेक किसिमका टिप्पणी र शङ्का सहनुपथ्र्यो ।

“महिलालाई सबैभन्दा धेरै संरक्षण घरबाट चाहिन्छ,” उनले सुनाइन्, “घरपरिवारकै साथ भएन भने बाहिरका मान्छेहरूले झन् नकारात्मक दृष्टिले हेर्छन् ।”

द्वन्द्वकाल भएकाले कहिलेकाहीँ उनलाई माओवादीलाई खाना दिएको आरोप पनि लाग्थ्यो । तर उनको पसलमा त जो आयो, उसैलाई खाना र चिया बेचिन्थ्यो । पसल चलाउनु उनका लागि राजनीति थिएन, बाँच्नका लागि गरिएको प्रयास मात्र थियो ।

त्यतिन्जेलसम्म श्रीमान स्वदेश फर्किसकेका थिए । सुरुवातमा वैवाहिक जीवन सामान्य थियो । तर समयसँगै सम्बन्ध बिग्रँदै गयो । शोभाले धेरै प्रयास गरिन् सम्बन्ध जोगाउन । उनलाई लाग्थ्यो,घर जोगाउने जिम्मेवारी महिलामाथि हुन्छ । त्यही सोचले उनलाई धेरै वर्षसम्म थिचिरह्यो । श्रीमानका कठोर शब्द, मानसिक यातना र कहिलेकाहीँ कुटपिट पनि सहिन् उनले ।

एक दिन घटना यस्तो भयो जसले उनको जीवनको दिशा नै बदलिदियो । “म बेडमा सुतिरहेको थिएँ, उहाँ मैनबत्ती लिएर आएर जलाउन लाग्नुभयो,” उनले ती दिन सम्झिन्, “त्यसपछि शरीर बचाउनकै लागि उहाँबाट टाढिनुप¥यो ।”

त्यसपछि उनले एक्लै जीवन जिउने निर्णय गरिन् । त्यो निर्णय सजिलो थिएन । साथमा एउटा सानो छोरा थियो । तर उनले आफ्नो जीवनको बाटो आफैँ रोजिन् ।

त्यसपछि उनको आधार फेरि त्यही चिया पसल बन्यो । तर त्यो पसलमा उनले कहिल्यै आफ्नो मेहनतको प्रशंसा सुनिनन् । “चिया कति मिठो छ भनेर कसैले भनेन,” उनले दिक्दारी प्रकट गरिन्, “साहुनी कस्ती हो भनेर मात्रै टिप्पणी हुन्थ्यो ।”

यही अनुभवले उनलाई चिया पसल छोड्ने निर्णयमा पु¥यायो । तर चिया पसल बन्द गरेपछि अर्को प्रश्न खडा भयो–अब के गर्ने ?

दुई जनाको जीवनको जिम्मेवारी थियो । उनले हार मानिनन् । चिनेजानेका मान्छेहरूसँग ५ देखि १० हजार रुपैयाँ ऋण लिइन् । यसरी जम्मा भयो,६० हजार रुपैयाँ । त्यसै पैसाले उनले पुष्पान्जली हर्बल ब्युटी पार्लर सुरु गरिन् ।

त्यो समय ब्युटिसियन पेसा समाजमा खासै प्रतिष्ठित मानिँदैनथ्यो । धेरैले यसलाई ‘नक्कली काम’ भनेर होच्याउँथे । कतिपयले त यस क्षेत्रमा काम गर्ने महिलाको चरित्रमाथि नै प्रश्न उठाउँथे । तर शोभाले ती सबै खरा टिप्पणीलाई बेवास्ता गर्दै आफ्नो काम जारी राखिन् ।
तर सङ्घर्ष त्यहीँ रोकिएन । कहिलेकाहीँ छोराको स्कुल फी तिर्ने पैसा पनि उनीसँग हुँदैनथ्यो । घरभाडा तिर्न नसकेर ढलानको घरबाट टिनको कोठामा सर्नुप¥यो । त्यो कोठाको छाना चुहिन्थ्यो ।

एक रातको घटना उनी कहिल्यै बिर्सिन सक्दिनन् । “छोरा रुझ्छ कि भनेर रातभर काखमा लिएर बसेँ,” उनी भावुक सुनिइन्, “आफू भिजेँ तर छोरालाई रुझ्न दिइनँ ।”

त्यस्तो समय पनि आयो जब घरमा चामल किन्ने पैसा पनि थिएन । दिनभर ग्राहक नआउने, साँझ परेपछि मात्र काम आउने । राति अबेर घर पुग्दा छोरा भोकै सुतिसकेको हुन्थ्यो । छोरा भोकै सुत्दा उनी पनि भोकै ओछ्यानमा पल्टिन्थिन् ।

उनलाई सबैभन्दा धेरै पीडा दिने सम्झना त्यही हो । “त्यही जिन्दगी फेरि पाउँ भने असल छोराकी आमा बन्न मन छ,” उनले सुनाइन्, “छोरालाई खाना पकाएर स्कुल पु¥याउने रहर कहिल्यै पूरा भएन ।”

संघर्षले कहिलेकाहीँ मानिसलाई अत्यन्त अँध्यारो ठाउँमा पु¥याउँछ । एक दिन उनी महेन्द्रपुल पुगिन् । मनमा एउटै विचार– सबै समाप्त गरिदिने ।

“पहिला छोरालाई धकेल्छु अनि म पनि हाम फाल्छु भन्ने सोच आयो,” उनी ती कहाली लाग्दा दिन सम्झिन्छिन् ।

त्यही बेला उनको पार्लरमा काम गर्ने एक स्टाफको कुरा सम्झिइन् । ती महिला पनि एकल आमा थिइन् । शोभाले दिएको रोजगारीले ती महिलाको परिवार चलेको थियो । त्यो सम्झनाले उनलाई झसङ्ग बनायो । उनले त्यो गलत निर्णय त्यहीँ छोडिन् ।
जीवन फेरि अघि बढ्यो ।

श्रीमानसँग सम्बन्ध टुटेपछि परिवार र आफन्त पनि टाढिएका थिए । पार्लर उद्घाटनमा बोलाउँदा उनका बुबा समेत आएनन् । चाडपर्वमा कसैले बोलाउँदैनथे । त्यसैले उनी र छोरा नारायणथान मन्दिर जान्थे । दिनभर त्यहीँ बस्ने, बेलुका कोठामा फर्किने ।
घरबेटीले सधैँ सोध्थे– “घर जान्नौ? माइती जान्नाँै ?”

उत्तर दिन उनलाई गाह्रो हुन्थ्यो ।

समयसँगै परिस्थिति बदलियो । आज त्यही आफन्तहरू उनको सफलतामा साइनो जोड्न आउँछन् । तर शोभाको मनमा कसैप्रति द्धेष छैन । जीवनले सिकाएको एउटा पाठ उनले कहिल्यै बिर्सिन्नन् – मानवता ।

त्यसैले उनी मानव सेवा आश्रमसँग आबद्ध भइन् र समाजसेवामा सक्रिय भइन् । पुष्पान्जली फेसन एन्ड इभेन्ट र सफल एडभर्टाइजिङ कम्पनी सञ्चालन गरिरहेकी छन् । महिलाहरूको नेतृत्व विकास र आर्थिक सशक्तीकरणका लागि पनि काम गरिरहेकी छन् ।

आज उनी आफ्नै मेहनतले बनाएको घरमा बस्छिन् । गाडी चढेर हिँड्छिन् । तर समाजका प्रश्न भने अझै रोकिएका छैनन्।

“आज म गाडी चढेर हिँड्दा मान्छे भन्छन्– यो गाडी कसले किन्दियो होला ? घर कसले बनाइदियो होला ?” उनी भन्छिन् ।

त्यो सुन्दा उनलाई दिक्क लाग्छ । “दुई रुपैयाँको मिठाई दिने मान्छे छैन,” भन्छिन्, “तर महिलाको सफलतालाई अरूसँग जोड्न समाजलाई किन यति सजिलो लाग्छ ?”

जीवनका धेरै खुड्किला चढेपछि आज उनी पोखरा उद्योग वाणिज्य संघकी महासचिव बनेकी छन् । संयोग के छ भने त्यो कार्यालय त्यही सडकको पारिपट्टि छ, जहाँ उनले २७ वर्षअघि चिया पसल चलाएकी थिइन् ।

दूरी हेर्दा सडक वारपार मात्र हो । तर त्यो दूरी पार गर्न उनलाई वर्षौँको सङ्घर्ष लाग्यो । भोक, आँसु, अपमान र अडानले भरिएको सङ्घर्ष ।

आज जब उनी त्यो सडकतिर हेर्छिन्, सायद उनलाई आफ्नै विगत देखिन्छ । चिया उमालिरहेकी एक महिला, जसले थाहा नपाई आफ्नो भविष्य पनि उमालिरहेकी थिइन् । र त्यो भविष्य आज पोखराको नेतृत्वमा बसेको छ–शोभा गौतमका नाममा ।

प्रकाशित मिति : २१ चैत्र २०८२, शनिबार  ९ : २२ बजे

विपद्पीडितको पुनर्स्थापनाका लागि तत्काल कार्यक्रम घोषणा गर्न आह्वान

भदौ १० गते रसुवा जिल्लामा आएको अकल्पनीय र महाविनाशकारी भोटेकोसी

अपाङ्गता भएका मतदाताको मतदान अधिकार सुनिश्चित गर्न माग, सर्वोच्चद्वारा कारण देखाऊ आदेश

काठमाडौं । दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका व्यक्तिले आफूले रोजेको

जलवायु न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन

काठमाडौं । गत भदाै १० गते रसुवाकाे भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै वसन्तपुरमा दीप प्रज्वलन गरिने

काठमाडौं । भोटेकोशीमा आएको बाढीको एक महिना पूरा भएको सन्दर्भमा

बागलुङमा पहिरोले घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु

काठमाडौं । बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले एकै परिवारका चार जनाको