रञ्जिता अधिकारी
दाङ । पहिले निशा चौधरीलाई चिनौँ । ठेगाना–घोराही उपमहानगरपालिका–४, लक्ष्मीपुर । पूर्वकमलरी ।
कमलरीबाट मुक्त भएपछि नै हो– उनको जीवनमा आनकोतान परिवर्तन आएको । अहिले उनको परिचय फेरिएको छ । दैनिक जीवन बदलिएको छ । उनी कसैको घरमा काम गर्ने अवला नारी होइनन्, आफ्नै पौरखको बलमा उनले बनाएको परिचय हो– पौरखी महिला ।
कमलरीबाट मुक्त भएपछि उनले कुखुराको मासु विक्रेता बन्ने तालिम पाइन ।
धन्यवाद– आइएम नेपाल र मुक्त कमलरी विकास मञ्च, जसले उनलाई यस किसिमको तालिम प्रदान गरेर आफ्नै खुट्टामा उभिन सक्ने बनायो ।
आफ्नै थलोमा निशाले मासिक तीन हजार भाडामा एउटा सटर लिएर उनले आफ्नो कर्म सुरु गरिन् । नाम राखिन– निशा फ्रेस हाउस । सुरुका दिनमा एक्लै सुरु गरेको यो व्यवसायमा अहिले श्रीमान् गोपाल चौधरीको पनि साथ पाएकी छन् ।
निशाका श्रीमान् गोपालको कथा छुट्टै छ । भएछ के भने, रोजगारको सिलसिलामा भारत छिरेछन्,गोपाल । जब मासु व्यवसायले आकार लिन थाल्यो तब निशाले श्रीमानलाई भारतको रोजगारी छाडेर घर बोलाइन् । गोपाल पनि श्रीमतीको सल्लाह स्विकारेर घर आए । अहिले दुवै श्रीमान्–श्रीमती मासु व्यवसायमा रमेका छन् ।
घोराही उपमहानगरपालिका –२ निमुरियाकी दामी चौधरी पूर्वकमलरी हुन् । कमलरी बस्दा उनले धेरै दुःख भोग्नुप¥यो । तर, यी सबै ती दिनका कुराहरू थिए । अहिले गुरधौली महिला कृषि समूहमा आबद्ध उनले समूहमा बसेर धेरै कुराको ज्ञान लिएकी छन् ।
सिकेको कुरालाई आफूमा लागु गर्नुपर्छ भनेर उनले बङ्गुर पालन, तरकारी खेती र घरमै नास्ता पसल पनि सञ्चालन गरेकी छन् । यी कामबाट उनलाई घर खर्च चलाउन सजिलो भएको छ ।
“म पूर्वकमलरी हुँ, अर्काको घरमा काम गर्न बसेको बेलाको दुःख भनी साध्य छैन, जुन संस्थाले हामीलाई मुक्ति दियो, उसैले बाँच्न सिकाएको छ,” आत्मविश्वासको जगमा उभिएर उनले सुनाइन्, “अहिले व्यावसायिक रूपमा काम गर्न थालेपछि आर्थिक रूपमा सबल बन्दै गएको छु ।”
समूहमा आबद्ध भएर ज्ञान सीप आर्जन गर्ने अनि आफूमा लागू गर्दै आएकी दामीले कमलरी जीवनबाट मुक्ति दिलाएकोमा सरोकारवालाहरूलाई सधैँ धन्यवाद दिन्छिन् ।
मुक्त कमलरी विकास मञ्च र आइ एम नेपालको सहयोगमा श्री उज्ज्वल पशुपालन महिला समूह गठन गरिएको छ । सो संस्थामा सदस्य रहेर निशाले मासिक बचत गर्नुका साथै आम्दानी र खर्चको अनुपात मिलाउने तरिका जानेकी छन् । निशाले फुरुङ्ग हुँदै सुनाइन्,“पैसाले पैसा कमाउन सिकेकी छु,अरू जीवन उपयोगी सिप सिक्न पाएको छु ।”
थारु जातीमा दास प्रथाका रूपमा कमलरी प्रथा रहेको थियो । गरिबिका कारण कुप्रथामा कुल्चिएका कमलरी राम्रो शिक्षा, स्वास्थ्य , रोजगारीका साथै आधारभूत अधिकारबाट वञ्चित थिए । कमलरी मुक्ति भइसकेपछि पनि मुक्त कमलरीहरूको चौतर्फी विकासका लागि विभिन्न कार्यक्रम हुँदै आएका छन् । ती कार्यक्रम मार्फत पूर्व कमलरीले जीवन परिवर्तन गरेका छन् । मुक्त कमलरी विकास मञ्च (एफकेडिएफ) ले पूर्वकमलरी, बालबालिकालाई सक्षम र सबल बनाउन विभिन्न कार्यक्रम गर्दै आएको छ ।
मुक्त कमलरी विकास मञ्च (एफकेडिएफ) मुक्त कमलरीहरूको अगुवाइमा वि.सं.२०६७ सालमा विधिवत् रूपमा दाङ जिल्ला प्रशासन कार्यालयमा दर्ता भई निरन्तर क्रियाशील एक गैरसरकारी सामाजिक संस्था हो । यो संस्था विगत १० वर्षदेखि दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर जिल्लाहरूमा काम गर्दै आइरहेको छ । संस्थाले मुक्त कमलरीहरूको शिक्षा, स्वास्थ्य तथा दिगो जीविकोपार्जन सम्बन्धी काम गर्दै आइरहेको छ । मुक्त कमलरीको सङ्ख्या १२७६९ रहेको छ भने दाङ जिल्लामा मात्र जम्मा ३६५८ जना रहेका छन् ।
मुक्त कमलरी सशक्तीकरण (आइ.एम स्वीडिस नेपाल) ले दाङमा काम गर्दै आएको छ । जस अन्तर्गत घोराही उपमहानगरपालिकाको २,४ र ८ नं. वडामा मुक्त कमलरी, कमलरी परिवार, विपन्न तथा पिछडिएको समुदाय र दलितलाई समेटेर १३ वटा महिला समूह र तीन वटा युवा क्लब गठन गरी उनीहरूको सामाजिक, आर्थिक र सांस्कृतिक विकाससँगै सिप र तालिम प्रदान गरी स्वरोजगार एवम् रोजगार बनाउने काम गर्दै आइरहेको छ ।
समूहमा महिलाहरूलाई छलफलसँगै खर्च हुने पैसा बचत गर्न प्रोत्साहन गरी त्यही पैसाबाट साना साना आम्दानी हुने खालका काम गर्न सहयोग गर्दै आइरहेको छ । संस्थाले सरकारी र गैरसरकारी संस्थासँग सहकार्य समन्वय गरी महिलाहरूको पहुँच र सहभागितामा पनि वृद्धि गराउँदै आएको छ ।
विभिन्न निकायबाट पाइने सेवा सुविधाका बारेमा जानकारी गराई सेवा सुविधामा महिलाको पहुँच बढिरहेको छ । समाजमा हुने नराम्रा क्रियाकलाप रोक्न तथा त्यस विरुद्ध आवाज उठाउन पनि सचेत रूपमा महिला अगाडी बढिरहेका छन् । बाल विवाह र महिला हिंसाका घटनाका बारेमा खुलेर कुरा गर्ने र त्यसको अन्त्यका लागि अग्रसर हुने गरेका छन् ।
विभिन्न तालिम सिप तथा घुम्तिकोषबाट रकम लिएर साना साना व्यवसाय सुरु गरी आम्दानी गर्दै आइरहेका छन् । आयआर्जनमा महिला पनि जोडिए पछि पुरुषहरूले पनि साथ दिन थालेका छन् । परिवारमा खुसी छाएको छ भने खेतबारी हराभरा भएका छन् । समूहले आत्मीयता बढेको छ । पैसाको अभाव भएको छैन । आफैँ मालिक बन्न पाउँदा सबैको मुहार उज्यालो भएको छ ।
घोराही उपमहानगरपालिका–२ सुर्केडाँगीकी सन्तोषी चौधरीको पनि आफ्नै कथा छ । पूर्वकमलरी उनले अहिले व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएकी छन् । केही वर्ष अघिसम्म उनले निर्वाहमुखी खेती गर्दै आएकी थिइन् । गाउँ टोलमा स्थापना भएको जलजला महिला कृषि समूहमा सन्तोषी आबद्ध भएपछि उनले व्यावसायिक तरकारी खेतीबारे जानकारी लिइन । पहिले निर्वाहमुखी खेती गर्दै आएकी उनले अहिले सीप र व्यवहारिक पक्षका बारेमा जानकारी पाइन । “अहिले त मैले व्यावसायिक रूपमा खेती गर्न थालेको छु,” सन्तोषीले सन्तोषको लामो श्वास फेर्दै सुनाइन्, “यही पेसाबाट कमाई पनि राम्रो भएको छ,घर–व्यवहार राम्रै चलेको छ ।”
संस्थामा जोडिएर व्यावसायिक तरकारी खेती गर्न थालेपछि सन्तोषी बाह्रै महिना खेतबारीमा व्यस्त हुन थालेपछि मासिक दुईदेखि तीन लाख रुपियाँ बराबरको तरकारी बिक्री हुने नै भयो । सन्तोषी जस्तै ३० जना महिलाहरू समूहमा आबद्ध भएर सीप सिक्ने, आत्मविश्वास जगाउने तथा वित्तीय साक्षरताका बारेमा धेरै कुराको ज्ञान हासिल गरेर कृषि पेसामा जोडिएका छन् ।
एक पटक अनितालाई सुनौँ । घोराही उपमहानगरपालिका–८ की अनिता चौधरी पूर्वकमलरी हुन् । २४ जना दिदीबहिनीहरू मिलेर सगरमाथा महिला समूहमा आबद्ध भएपछि बचत कसरी गर्ने, आय आर्जनमा कसरी जोडिने र आफ्नो व्यावसायबाट कसरी जीवन धान्न सकिन्छ भन्ने तालिम पाएपछि व्यवसायमा जोडिन प्रेरणा मिलेको उनको अनुभव छ ।
आफ्नो छ कट्ठा र भाडाको चार कट्ठा गरी १० कट्ठा जमिनमा तरकारी खेती गरेकी अनिताले सहयोगी संस्थाको सहयोगमा दुई वटा टनेल प्राप्त गरिन । ती दुई वटा टनेलभित्र बेमौसमी करेला र टमाटर खेती गरिन । परिणाम ? “सात जनाको परिवार छ,सबैको सहयोगले व्यावसायिक तरकारी खेतीले जीवन सहज भएको छ” अनिता उत्साही सुनिइन्, “सहयोगी संस्थाले सिप र पैसा सहयोग गर्यो, हामीले मेहनत गरेको त व्यवसायी बनायो ।”
घोराही उपमहानगरपालिका–४ सुनपुरकी सुधनी चौधरी पनि पूर्वकमलरी हुन् । कमलरी मुक्ति भएपछि उनले व्यावसायिक रूपमा बङ्गुर पालन गरेकी छन् । घर खर्च चलाउनका लागि पालिएका बङ्गुरलाई उनले व्यावसायिक आकार दिइन् । मुक्त कमलरी विकास मञ्च र आइएम नेपालले विपन्न र मुक्त कमलरीलाई आर्थिक र मानसिक रूपमा सक्षम बनाउने उद्देश्यले स्थापना गरेको सुनौलो पशुपालन महिला समूहमा आबद्ध भएर उनले व्यावसायिक रूपमा बङ्गुर पालन गरेकी हुन् । विपन्न वर्गको उत्थानका लागि उपलब्ध गराउँदै आएको घुम्ती कोषबाट २० हजार निःशुल्क ब्याजमा ऋण लिएर व्यावसायिक बङ्गुर पालन गरेको उनले बताइन् ।
तीन वटा बङ्गुरबाट व्यवसाय सुरु गरेको उनीसँग अहिले २० वटा बङ्गुर छन् । छुट्टाछुट्टै सात वटा खोर छन् । साना र ठूलालाई अलग अलग स्थानमा राख्न सकिने व्यवस्था छ । बङ्गुर पालनसँगै तरकारी खेती गरेकी सुधनी अहिले हरेक कुरामा सक्रिय छन् । गाउँघरमा हुने हरेक कार्यक्रममा उनको सहभागिता रहन्छ । समूहमा आबद्धता भएपछि जीवन परिवर्तन भएको उनको कथन छ । आइएम नेपालले उनलाई जीवन उपयोगी सीपको सूत्र सिकाएकोमा उनी फुरुङ्ग छन् । “आर्थिक अवस्था कमजोर भएका कारण घर खर्च चलाउन र परिवारको आवश्यकता पूरा गर्न समस्या थियो,” सुधनीले संक्षेपमा सुनाइन्, “आफ्नो व्यवसाय सुरु गरेपछि श्रीमान्–श्रीमती मिलेर काम गर्न थालेपछि पैसाको अभाव भएन ।”
मुक्त कमलरी र विपन्न परिवारको जीवनमा परिवर्तन गर्नका लागि मुक्त कमलरी विकास मञ्चले व्यावसायिक कृषि, सरसफाइ, समूह व्यवस्थापन, घुम्ती कोष परिचालन जस्ता विविध विषयमा सहजीकरण गर्ने गरेको छ । दाङ जिल्लाको घोराही उपमहानगरपालिका भित्रका तीन वटा वडामा १३ वटा समूह बनाएर महिलाहरूलाई सशक्तीकरणका लागि सहजीकरण गरेको छ ।
समूहमा आबद्ध महिलाहरू बालविवाहको विरुद्धमा आवाज उठाउन सक्ने र बाल विवाहलाई रोक्न सक्ने भएका छन् । गाउँघरमा हुने महिला माथिका विभेदका विरुद्ध आवाज उठाउन सक्ने भएका छन् । समूहमा बस्दा आफ्नो नाम भन्न पनि डराउने,लजाउने महिलाहरू अहिले आफ्ना समस्याका बारेमा खुलेर छलफल गर्ने भएको फिल्डमोटिभेटर सुनिता चौधरी बताउँछिन् । उनले सारमा सुनाइन्, “समूहमा बस्न नमान्नेहरू अहिले बैठक बस्ने दिन कुरेर बसेका हुन्छन् ।”
मुक्त कमलरीहरू आर्थिक र सामाजिक रूपमा सशक्त हुनुपर्छ भन्ने मान्यताका साथ ४२ वटा सहकारी र एक समूह मार्फत आय आर्जनका विभिन्न काम गरिरहेका छन् । सहकारीमा १४ हजार ७ सय २१ जना सदस्य रहेका छन् । सहकारीबाट घुम्ती कोष अनुदान सहयोग लिएर तरकारी खेती, कुखुरा पालन, बङ्गुर पालन, किराना पसल र नास्ता पसल सञ्चालन गरेर आयआर्जन गर्दै आएको मुक्त कमलरी विकास मञ्चका केन्द्रीय पूर्वअध्यक्ष हिरा चौधरी बताउँछन् । भन्छन्, “मुक्त कमलरी सबैलाई आयआर्जनमा जोडेर जीवन परिवर्तन गर्ने प्रयास गरिरहेका छौँ ।”
कमलरी विकास मञ्चजस्ता स्थापित संस्थाले खेल्दै आएको भूमिकाका कारण समस्या समाधानसँगै आगामी योजनाहरूका बारेमा अघि बढ्न सहज भएको छ । दाङको घोराही उपमहानगरपालिकामा मुक्त कमलरी तथा सामाजिक बहिष्करणमा परेका महिलाहरूको सशक्तीकरणमा परियोजनामार्फत गर्दै आएको वित्तीय साक्षरता कार्यक्रमले मुक्त कमलरी, विपन्न महिलाहरूको जीवनमा परिवर्तन आएको छ ।
घोराही उपमहानगरपालिकाले मुक्त कमलरीका लागि ढकीया बुनाइ तालिम, तरकारी खेती, कुखुरा पालनमा सहयोग गर्दै आएको छ । घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले मुक्त कमलरीको जीवन स्तर परिवर्तन गर्नका लागि उनीहरुलाई सीप सिकाउने र उनीहरूले उत्पादन गरेको बस्तु बजारीकरण गरेको बताउँछन् । तरकारी, पशुपालन गर्नेहरूले घोराहीमा सञ्चालन भइरहेको तरकारी हाट बजारमा बिक्रीका लागि स्थान बनाएको उनको भनाई छ ।
वडा कार्यालयमा आउने विभिन्न सीपमूलक तालिममा मुक्त कमलरीलाई स्थान दिने गरेको घोराही उपमहानगरपालिका–२ का वडा अध्यक्ष चित्रबहादुर चौधरी सुनाउँछन् । उनीहरूको जीवन बदल्न तथा सामाजिक रूपान्तरणमा वडाको सकारात्मक भूमिका रहेको उनको धारणा छ ।
घोराही उपमहानगरपालिका कृषि तथा पशु व्यवसाय प्रबन्धन शाखा प्रमुख श्रीधर अधिकारीका अनुसार, एकल,असक्त र मुक्त कमलरी एक सय महिलालाई कुखुराका चल्ला वितरण गरिएको छ । पालिकाका १९ वटै वडाका नागरिकलाई सूचना पु¥याएको र उनीहरूले माग गरेका आधारमा अण्डा र मासु उत्पादनका लागि छ हप्ताका कुखुरा वितरण गरिएको छ । प्राविधिक तालिम दिनुका साथै कुखुराको चल्ला र चार लाख मूल्य बराबरका कुखुरा वितरण गरिएको अधिकारीको भनाइ छ । “पालिकाले सूचना निकाल्यो एकल, असक्त र मुक्त कमलरीले परिचयपत्रका आधारमा निवेदन आयो,पालिकाको छनोट समितिले छनोट गरेकालाई मात्र यो अवसर प्रदान ग¥यो,” अधिकारी भन्छन्, “हाम्रो पालिकाभित्रका महिलाको आर्थिक अवस्था राम्रो होस् भनेर गरिएको यो प्रयास परिणाममुखी देखिएको छ ।”
वित्तीय साक्षरता र प्राप्त सहयोगी हात र साथको बलमा पछिल्लो समय महिलाहरू कसरी आत्मनिर्भर हुँदै गएका छन् ? लगानी कसरी जुटाउने,लगानी गर्दा के कस्ता कुराहरूमा ध्यान दिने र आम्दानी–खर्चको बीचबाट बचत कसरी गर्ने ? यस्ता जीवनोपयोगी सूत्र बुझ्न थालेका छन्, दाङका थारु महिलाले ।
कमलरीको अँध्यारो अध्यायबाट आत्मनिर्भरताको उज्यालो यात्रासम्मको यो रूपान्तरण केवल व्यक्तिगत सफलता नभई सामाजिक परिवर्तनको दस्ताबेज हो । आफ्नै नाम उच्चारण गर्न हिचकिचाउने महिलाहरू आज आफ्नै पसल, खेतबारी र पशुपालनका खोरका मालिक बनेका छन् । सिप, साहस र सामूहिकताको बलले उनीहरूले प्रमाणित गरेका छन्—मुक्ति कागजमा घोषणा मात्र होइन, व्यवहारमा स्थापित गरिने अधिकार हो ।
वास्तवमै जब वित्तीय साक्षरता, सीपमूलक तालिम र संस्थागत साथ एकसाथ जोडिन्छन्, तब पीडित पहिचान बदलिँदै पौरखी परिचय बन्छ । दाङका पूर्वकमलरीहरूलाई सलाम, जसले पुराना घाउका खाटा पुर्दै आफ्नो र परिवारको जीवनमा आत्मनिर्भर र आत्मनिर्भरताको नयाँ बाटो हिँडेका छन्, हिँड्दै छन् ।






प्रतिक्रिया