-
केही पढ्न नआउने छेमकुमारी र सामान्य लेखपढ गर्न सक्ने सुप्रियाका जीवनका आ–आफ्नै भोगाई छन् । उतारचढाव पार गर्दै उनीहरू अघि बढिरहेमा सफलता मिल्छ नै ।
नुमा थाम्सुहाङ
यी दुई महिलाको कथा मात्र होइन– पात्र, पेसा, अनुभव र उमेर सबै फरक छ । एक महिला काठमाडौं, कीर्तिपुरको सडक छेउमा मकै पोलेर गुजारा गर्छिन् भने अर्की महिला सैलुन व्यवसाय चलाउँछिन् । उनीहरू हुन्, ७० वर्षकी छेमकुमारी सिंह ठकुरी र ३९ वर्षीया सुप्रिया राउत महर्जन ।
हरेक साँझ छेमकुमारी धुवाँसँग लुकामारी खेल्दै मकै पोल्छिन् । चाउरिएको अनुहारमा मिठो मुस्कानसहित बाटो हिँड्नेहरूसँग मकै खाइदिन आग्रह गर्छिन् ।
त्यही ठाउँभन्दा अलि पर कीर्तिपुर नयाँ बजारमा पुरुषहरुको कपालमा निर्धक्क कैँची चलाउँदै गरेकी भेटिन्छिन्, सुप्रिया । केही वर्ष अघिसम्म निश्चित आम्दानीको स्रोतका लागि जीवनमा अनेकौं असफल प्रयासको अनुभव उनीसँग छ । अब उनी आफैँले सुरु गरेको सानो व्यवसायको मालिक भएकी छन् ।
पेसा फरक भए पनि दुवै आफैँमा सक्षम र उदाहरणयोग्य महिला हुन् । जो आफ्नै परिवारको निम्ति दैनिक मिहिनेत र संघर्ष गरिरहेका छन् ।
दुःखमा पनि हाँस्न जानेकी छेमकुमारी भन्छिन्, ‘यो उमेरमा आराम गरेर बस्न मन छ, तर काम नगरी सुख छैन ।’ उनी कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय जाने बाटो किनारामा मकै पोलेर बेचिरहेकी छन् ।
यसरी मकै पोल्न थालेको बीस वर्ष भयो । उनकै शब्दमा, ‘यसरी मकै पोलेर घरमा नुन तेल किन्न पुगेको छ । अरुलसँग पैसा माग्नुपरेको छैन ।’
उनी बिहान पाँच बजे कालिमाटी पुग्छिन् । ६० घोगा मकैको भारी, जुन झन्डै २० केजी हुन्छ, आफैँ बोक्छिन् । उनले मकैको प्रति घोगा २० रुपैयाँ बुझाउँछिन्, गाडीलाई सामानसहित सय रुपैयाँ तिर्छिन् । उनको यो वर्षौदेखिको दैनिकी हो । ‘पहिले दिनमा सय घोगासम्म मकै पोल्थे अब सक्दिनँ,’ उनी भन्छिन्, ‘कमाउने अरु बाटा नहुँदा मलाई यही सजिलो लाग्छ ।’ उनी भन्छिन्, ‘मैले नपढेको मान्छेले गर्न सक्ने काम म गर्दैछु ।’
उनी मकै बेच्न दिउँसोको २ बजे ठेलासहित आईपुग्छिन् । रातीे ८ बजेसम्म मकै बिक्री गर्न बस्छिन् । उनका ग्राहक विशेषगरी विश्वविद्यालयका विद्यार्थी हुन् । यसका अतिरिक्त उनले सात वटा पनि बाख्रा पालेकी छन् ।
कीर्तिपुरमै सैलुन व्यवसाय चलाउने सुप्रियाको भोगाई अलि बेग्लै छ । उनले सैलुन चलाउन थालेको डेढ वर्ष भयो । आफ्नै व्यवसाय सुरु गर्न उनलाई पाँच वर्षभन्दा बढी लाग्यो ।
‘मैले सानो किराना पसल पनि चलाएँ । सहकारी कार्यालयमा सहयोगीको काम गरें,’ विगतबारे उनी सुनाउँछिन्, ‘अब काम राम्रो नभएपछि गोलभेडा खेती सोचें । तर, ऋण पाइएन । एक जना दिदीले नगरपालिकाले दिने निःशुल्क सीपमूलक तालिम लिँदै व्यवसाय गर्ने सल्लाह दिनुभयो । आज म त्यही गरिरहेकी छु ।’
दुःखको अक्षरबाट नै धेरै सिकें
छेमकुमारीको सानैमा बिहे भयो । पढ्न जाने रहर हुँदा हुँदै परिवारको जिम्मेवारीले थिच्यो । तीन सन्तान छन् । उनीहरूको ठ्याक्कै उमेर कति हो, उनलाई थाहा छैन । उनलाई मिति थाहा हुने भनेको ती वर्ष घटेका घटना हुन् । ‘हामी राजाको हत्या हुँदा काठमाडौं आएका हौं ।’
उनले पैसाको भाषा बुझेकी छन् । हरेक पैसाको हिसाब उनी आफैँ राख्छिन् । उनी सुनाउँछिन्, ‘पैसा गन्न आउँछ । यो त जान्नै प¥यो । ठूलो मकैको ४० अनि सानोलाई ३० रुपैयाँमा बेच्छु ।’ दिनमा उनले हजार रुपैयाँसम्मको मकै बिक्री गर्छिन् । यसरी बाटो छेउमा मकै बेच्ने काम गरे पनि कुनै अप्ठयारो नभएको उनको अनुभव छ ।
उनले मकै पोलेर जोडेको र श्रीमानले काम गर्दा गरेको बचतले कीर्तिपुरकै मच्छेगाउँमा घडेरी जोडिन् । दुई छोरा, एक छोरी भए । बिस्तारै घर पनि बन्यो । तर, छेमकुमारीको सुखका साथ परिवारसँग बस्ने रहर पूरा भएन । श्रीमानले दोस्रो विवाह गरे ।
‘दुवै छोराले बिहे गरिसकेका छन् । उनीहरू त्यही घरमा बस्छन्,’ उनी भन्छिन्, ‘म र छोरी कीर्तिपुरमा साहुको घरमा बस्छौं । भाडा तिर्नु पर्दैन, तर घरको काम गर्छौं ।’
उनलाई कसैको भर छैन । उनी सकुन्जेल काम गरेर खाने बताउँछिन् र मकै पोलेर बेचेको पैसाले छोरी पढाउँछिन् । उनको माइती बाग्लुङ हो र श्रीमानको घर चितवन हो ।
‘छोरी कतिमा र के पढ्दैछिन् ?’ भन्ने प्रश्नमा उनको जवाफ छ, ‘१४ क्लास पुग्यो । चित्र कोर्ने पढ्छ । भोटाहिटीमा कलेज छ ।’
जसलाई सिपले दियो अवसर
सुप्रियाको सैलुनमा कपाल काट्ने लाइन हुन्छ । बिहान १० देखि बेलुकी ८ बजेसम्म सैलुन खुल्छ । उनलाई आराम गर्ने फुर्सद पनि कमै मिल्छ । सुरुमा उनलाई पुरुषहरूको कपाल काट्न सक्छु भन्ने आत्मविश्वास थिएन । त्यसैले तालिम लिए लगत्तै उनले सैलुन खोल्न नसकेको बताउँछिन् ।
उनी भन्छिन्, ‘मैले कीर्तिपुर नगरपालिकाबाट निःशुल्क कपाल काट्ने तालिम लिएँ, त्यतिले पुगेन । फेरि नगरपालिकाबाटै एड्भान्स तालिम लिएँ । यसले पनि व्यवसाय गर्ने हिम्मत आएन । अनि आफैँले ५० हजार रुपैयाँ तिरेर तालिम लिएँ ।’
उनले आधारभूत २ महिना, एडभान्स १ महिना र आफैँ खर्च गरेर डेढ महिना तालिम लिइन् । त्यसले पनि उनलाई पुरुषहरूको कपाल काट्ने हिम्मत आएन । त्यसपछि ५ महिनाभन्दा बढी विना तलब अरुको सैलुनमा काम गरिन् । यसले उनको मनोबल बढायो । अनि एक लाख रुपैयाँ जुटाइन् र नगरपालिकामा दर्ता गरिन्, ‘पियरलेस ब्युटी एन्ड ब्युटी सलोन’ ।
उनलाई कीर्तिपुर नगरपालिकाले दुईवटा ऐना र बस्ने कुर्सी प्रोत्साहनस्वरूप दियो । त्यो उनलाई व्यवसायमा उभिन सहारा बन्यो ।
उनी भन्छिन्, ‘मैले कपाल काट्ने थोरै थोरै सामान जोड्दै काम सुरु गरें । त्यसको लगानी पनि उठाइसके ।’
सटरको भाडा मासिक पाँच हजार रुपैयाँ छ । दिनमा भ्याएसम्म ५० जना जतिको कपाल काट्छिन् । एकजनासँग उनी सय रुपैयाँ लिन्छिन् । त्यतिमात्र होइन उनले १२ कक्षासम्म पढ्ने विद्यार्थीलाई २० रुपैयाँ छुट दिन्छिन् । यो छुटले गर्दा उनीकहाँ धेरै भीड हुन्छ ।
सुप्रिया हक्की स्वभावकी छन् उति नै सरल पनि । समय, परिस्थिति र जिम्मेवारीले यो पेसामा हात हालेको उनी सुनाउँछिन् । यसले घर खर्च चलाउन सजिलो भएको उनले बताइन् । श्रीमान् मिस्त्रीको काम गर्छन् । १९ वर्षको उमेरमा बिहे गरेकी सुप्रियाका दुई छोरा छन् । ठूलो छोरा २० र कान्छो छोरा १० वर्षका छन् ।
‘ठूलो छोरा आईटीमा ब्याचलर गर्दैछ र कान्छो चारमा पढ्दैछ,’ सुप्रिया भन्छिन्, ‘एकजनाको कमाइले मात्र पुग्दैन । छोराहरूका पढाई खर्च सबै सैलुनबाटै निकाल्छु ।’
उनी बिहान घरको काम सकेर सैलुन आउँछिन् । बेलुकी घरमा उनलाई श्रीमान र छोराहरूले काममा सहयोग गर्छन् । उनी भन्छिन्, ‘म घर पुग्दा खाना पाकिसकेको हुन्छ । श्रीमानबाट यो काम गर्न कुनै रोकतोक छैन ।’
सिप सिकेर कमाउनु राम्रो भएकाले परिवार खुसी भएको उनको अनुभव छ । उनी व्यवसाय अझ बढाउने सोचमा छिन् । भर्खरै उनले दुई वटा नयाँ कुर्सी थपेकी छन् । ‘अब कपालमा कलर गर्ने, दिदी–बहिनीहरूलाई पनि सेवा दिन पाए हुने जस्तो लागेको छ,’ उनी भन्छिन्, ‘म काम सघाउने मान्छे पनि खोजिरहेकी छु ।’
केही पढ्न नआउने छेमकुमारी र सामान्य लेखपढ गर्न सक्ने सुप्रियाका जीवनका आ–आफ्नै भोगाई छन् ।
‘अब के गर्न मन छ’ छेमकुमारीको जवाफ रह्यो, ‘अब वृद्ध भत्ता पाए हुन्थ्यो भन्ने छ । यतिन्जेल दुःख गरियो, अब बाँचिन्जेल काम नै गर्ने हो ।’
यसैगरी सुप्रिया भन्छिन्, ‘गुनासो गर्नुभन्दा सिप सिक्दै काम गर्नुपर्छ ।’






प्रतिक्रिया