हुमाको हिम्मतले ढकमक्क फूलेको उद्यम–रोज नर्सरी « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

उद्यमी बन्ने सोचले फक्रिएको हुमाको पुष्प व्यवसाय

हुमाको हिम्मतले ढकमक्क फूलेको उद्यम–रोज नर्सरी



मिना गुरुङ

लमजुङ । ठूला सहरमा उद्यमशीलता बढाउने धेरै प्राध्यापकहरूको जीवन जागिरमै बित्छ । तर एक दशकअघि आफ्ना विद्यार्थीका लागि जागिर खोजी हिँड्ने प्राध्यापक हुमा गुरुङको कुरा भने अलि बेग्लै छ । अहिले उनी सफल व्यवसायी बनेकी छन् । त्यो पनि साना सहरमा धेरैले नपत्याउने व्यवसायमा ।

आफ्नो व्यावसायिक यात्रामा उनी १० जनाकी रोजगारदाता बनिसकेकी छन् । गण्डकी प्रदेशका गाउँ–सहरमा उनले सिर्जना गरेका फूल मुस्कुराएका छन् ।

लमजुङको बेसीशहर नगरपालिका–२, बोहोराबेसीस्थित रोज नर्सरी आज चर्चित र विश्वसनीय पुष्प व्यवसायका रूपमा स्थापित छ । ५० रुपैयाँदेखि ३० हजार रुपैयाँसम्मका महँगा फूल र बिरुवा यहाँ उपलब्ध छन् । पाँच सयभन्दा बढी प्रजातिका फूल तथा फलफूलका बिरुवाहरू नर्सरीमा जन्मिएका छन्, हुर्किएका छन् । नर्सरीका ग्राहक बेसीशहर, भोटेओडार, सुन्दरबजार, खुदीदेखि छिमेकी जिल्ला मनाङ, तनहुँ र गोरखासम्म फैलिएका छन् ।

लमजुङ सिप विकास प्रतिष्ठान (गैरी क्याम्पस) मा व्यवसाय प्रवद्र्धन अधिकृतको रूपमा कार्यरत रहँदा सिर्जना भएको छटपटीले जन्मिएको हो– रोज । तर उद्यमको यात्रा कठिन हुन्छ भनेर आरम्भमा कसरी अनुमान हुनु र ? त्यस कठिन यात्रामा सङ्घर्ष र मेहनत खिचेर उनले आफूलाई सफल उद्यमीका रूपमा स्थापित गरेकी छन् ।

मस्र्याङ्दी गाउँपालिका–२ मा जन्मिएकी हुमा कुनै बेला गैरी क्याम्पसमा प्राविधिक शिक्षा अध्ययन गराउने र स्वरोजगार तथा सिपमूलक तालिमहरू सञ्चालन गर्थिन् । विद्यार्थी तथा प्रशिक्षार्थीहरूलाई विभिन्न व्यावसायिक फर्म तथा कारखानामा ‘अन–द–जब ट्रेनिङ’ (ओजेटी) का लागि पठाउने जिम्मेवारी उनकै काँधमा थियो ।

विद्यार्थीका लागि रोजगारी खोज्दै हिँड्दा एक दिन उनले आफैँलाई प्रश्न गरिन्– अरूका लागि रोजगारी खोजिरहनुभन्दा आफैँले रोजगारी सिर्जना गर्ने काम किन नगर्ने ? त्यही दिनदेखि उनले पहाडी जिल्ला लमजुङमा कस्तो व्यवसाय उपयुक्त होला ? भनेर अध्ययन गर्न थालिन ।

हुमाले उद्यमी बन्ने निर्णय त गरिन तर सही बाटो पहिल्याउन सजिलो थिएन । जुन व्यवसाय देख्यो त्यही मन पर्ने, त्यही गरौंगरौं लाग्ने । तर, उनले तत्कालीन भावुकतामाथि विजय हासिल गरिन् । त्यसैले त क्याफे, मिनी मार्ट र रेस्टुराँजस्ता चल्तीको व्यवसाय छाडेर उनले मौलिक र दीर्घकालीन सम्भावनाको व्यवसाय थाल्ने सुर कसिन् ।

त्यो २०७१ साल थियो, जुन दिनले उनको जीवनमा नयाँ मोड लिएर आयो । जागिर छाडिन् । वरपरकाले हुँदाखाँदाको जागिर छाड्ने पटमूर्ख भने । बुवा आमा दलप्रसाद र नन्दमायालाई समेत उनको निर्णय गतिलो लागेन ।

जागिर त छाडिन् । तर, व्यवसायको टुङ्गो लागिसकेको थिएन । त्यसपछिका केही महिना अन्योलमा बित्यो । चिन्ता र छटपटी उनका सङ्गीजस्तै भए । यद्यपि उनको डायरीमा हिम्मत हार्ने कुरा लेखिएकै थिएन ।

भविष्य सुरक्षित हुने व्यवसाय के हुन सक्छ भन्ने खोजीमा उनी विभिन्न स्थान घुमिन्, सरसल्लाह मागिन् । अध्ययन गरिन् ।

बेसीशहर–२, बोहोराबेसीमा उनले जागिरकै क्रममा दुई रोपनी खेत किनेकी थिइन् । त्यही जग्गामा नयाँ व्यवसाय चलाउने योजना बनाइन् । त्यो व्यवसाय थियो–पुष्प नर्सरी ।

तर, समस्या यहीँबाट सुरु भयो । न उनीसँग फूलका बिरुवा उमार्ने सिप थियो, न त कहाँ र कसरी बेच्ने भन्ने जानकारी नै । त्यही हुटहुटी र अन्योल लिएर पुष्प विकास केन्द्र गोदावरी पुगिन् हुमा । त्यहाँ पुष्प नर्सरी सञ्चालनको एक हप्ते तालिम लिएपछि बल्ल उनको मन स्थिर भयो । आत्मविश्वास जाग्यो–फूलकै बिरुवा बेचेर गरी खान सकिन्छ ।

तर, समस्याले पिछा छाडेन । यसपालि नयाँ र मुख्य चुनौती आयो, लगानीको । सुरुमा बेसीशहरमै नर्सरी खोल्ने बारेमा पनि उनले नसोचेकी होइनन् तर त्यहाँ जग्गा भाडामा पाउनै कठिन भयो । अन्ततः आफ्नै जग्गामा नर्सरी स्थापना गर्ने योजना बन्यो । अनि घरेलु तथा साना उद्योग कार्यालयमा नयाँ कम्पनी दर्ता भयो– रोज नर्सरी । लगानी जुटाउन उनले विभिन्न बैंक तथा वित्तीय संस्थामा आफ्नो योजना प्रस्तुत गरिन् । धेरैले उनको आत्मविश्वास र साहसको प्रशंसा त गरे, तर अनुभव र धितोको अभाव देखाउँदै लगानी गर्न हिचकिचाए ।

ठीक त्यही समय जिल्लाकै व्यवसायीहरूको लगानीमा स्थापना भएको प्यासिफिक विकास बैंक (पछि ग्लोबल बैंकमा मर्ज) का प्रबन्धक महेन्द्र अधिकारीलाई उनको योजनाले तान्यो । उनको सहयोगमा १० लाख रुपैयाँ ऋण स्वीकृत भएपछि हुमाको उद्यम यात्राले उडान थाल्यो ।

१० लाख रुपैयाँ लगानीमा दुई रोपनी जग्गाबाट सुरु भएको रोज नर्सरी अहिले चार रोपनी क्षेत्रफलमा फैलिएको छ । हुमाले एक करोड रुपैयाँभन्दा बढी लगानी गरिसकेकी छन् । आज रोज नर्सरी लमजुङ जिल्लाकै प्रतिष्ठित र बढी कारोबार हुने व्यवसायमध्ये एक बनेको छ । चार जनालाई स्थायी रोजगारी दिएको छ भने सिजनको समयमा थप ६ जनासम्मले काम गर्ने गरेका छन् । रोज नर्सरीले सिजनमा मासिक १० लाखदेखि १५ लाख रुपैयाँसम्म र अफसिजनमा चारदेखि पाँच लाख रुपैयाँसम्मको पुष्प तथा बिरुवा बिक्री गरिरहेको छ ।
विसं.२०७१ माघबाट व्यवसाय सुरु गरेकी गुरुङले २०७२ देखि फूल र बेर्ना बिक्री थालेकी हुन् ।

व्यवसायको सुरुवाती दिनमा बजार पाउन गाह्रो हुन्छ कि भन्ने डर थियो, उनलाई । तर, फूलको सौन्दर्यप्रति मानिसको बढ्दो आकर्षणका कारण उनले बजारको समस्या झेल्नु परेन । उनले जिल्लाकै रेडियोमा रोज नर्सरीको विज्ञापन गरेकी छन् भने अहिले आएर सामाजिक सञ्जालमार्फत फूलहरूको बारेमा जानकारी दिने गर्छिन् । आफ्नै वेबसाइट र एप्स्मार्फत अनलाइन व्यवसाय गर्ने उनको योजना छ ।

रोज नर्सरीमा चार आधुनिक ग्रीन हाउसमा मौसमी र बेमौसमी फल र फूलका बिरुवा उत्पादन हुन्छन् । यहाँबाट पेटुनिया, डालिया, डाइन्थस, लिली, जिनिया, सयपत्री, असर्फी, मिरानियस, जरभेरा, इजेलिया क्याक्टस, लकी व्यम्वोलगायत फूलका बिरुवा बढी बिक्री हुने गरेका छन् । अम्बा, कागती, लिची, सुन्तला,मुन्तला जस्ता फलफूलका बिरुवाहरू पनि ग्राहकको रोजाइमा पर्ने गरेको हुमाको अनुभव छ ।

व्यवसायमा हिम्मत गरेपछि उनलाई साथ दिन आए–प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र फ्लोरिकल्चर एसोसिएशन नेपाल (फ्यान) । परियोजना र फ्यानले दुई वटा आधुनिक टनेल निर्माण गर्न ५० प्रतिशत लागत साझेदारी गरे । “सुरु–सुरुमा बिरुवा हुर्काउन निकै समस्या भयो,” हुमाको हिम्मत बोल्यो, “सिक्दै जाँदा अहिले करिब ९० प्रतिशत बिरुवा जोगाउन सफल भएकी छु ।”

निरन्तरको व्यावसायिक कर्मले उनलाई लमजुङ र वरपरका जिल्लामा ‘फूल बेच्ने दिदी’ को परिचय दिलाएको छ । उद्यमप्रति उनको लगाव,सफलता र निरन्तरतालाई सम्मान गर्दै रोट्रर्याक्ट क्लब अफ पोखरा फिस्टेलले २०७३ मा सफल उद्यमी महिला र जिल्ला युवा समितिको कार्यालय लमजुङले २०७४ मा युवा प्रतिभा तथा उद्यमी पुरस्कार प्रदान गरेका छन् । त्यस्तै, लमजुङ उद्योग वाणिज्य संघले २०७६ मा र घरेलु तथा उद्योग विकास कार्यालय लमजुङले २०७७ मा जिल्लाको सफल उद्यमीको रूपमा पुरस्कृत गरेका छन् । बेसीशहर नगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ को उत्कृष्ट करदाताको रूपमा सम्मान पनि गरेको छ, उनलाई ।

नर्सरी व्यवसायलाई पुष्प पर्यटनका रूपमा अघि बढाउने र नर्सरी परामर्श सेवा चलाउने योजना बुनेकी हुमाले यसबाट अझ धेरै रोजगारी सृजना हुने सम्भावना देखेकी छन् । अहिले पनि नर्सरीमा अध्ययन तथा अवलोकन लागि आउने व्यक्ति तथा संस्थाहरूलाई उनले परामर्श दिँदै आएकी छन् । तीमध्ये केहीले थोकमा फूलहरू किनेर सामाजिक सञ्जालमार्फत अनलाइन व्यवसाय समेत गर्दै आएका छन् । यसरी उनको त्यो सानो नर्सरीले अहिले फराकिलो बन्ने अवसर पाएको छ ।

यसैले त भनियो, हुमाको हिम्मतले ढकमक्क फूलेको उद्यम हो– रोज नर्सरी ।

प्रकाशित मिति : २१ चैत्र २०८२, शनिबार  ९ : ०४ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री