चाँदनी आचार्य
कैलाली । आठ वर्षकी हुँदा सालको पात बेचेर कापी–कलम किनेकी सरिता बुढामगर यतिखेर सफल उद्यमी हुनुभएको छ । यो सफलताका पछाडि संघर्षको बेग्लै कथा छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–१४ की स्थानीयवासी सरितालाई सफल उद्यमीको परिचय सालको पातले दिएको हो । विवाह नहुँदै चितवनको नवलपुरमा गोठालो जाँदा सालको पात टिप्दै बेच्ने र त्यो पैसाले कापी–कलम किनेको स्मरण उहाँका लागि अझै ताजा छ ।
उहाँको विवाह रोल्पामा भयो । त्यसपछि दुई दशक भारतमा मजदुरी गरेपछि उहाँलाई नेपालमै केही गर्ने सोच आयो । उहाँ भन्नुहुन्छ, “भारतमा कमाएको पैसाले यतै घरबासको व्यवस्था ग¥यौँ । श्रीमानले पनि यतै सानोतिनो काम पाउनुभयो । म पनि कामको खोजीमै थिएँ ।”
छोराछोरी हुर्कँदै गर्दा खर्च बढ्दै थियो । सरितालाई केही काम गर्न पाए हुन्थ्यो भन्ने लागिरहेको थियो । २०७४ सालको स्थानीय निर्वाचनपछि वडाले गाउँमा कार्यक्रम तथा योजनाका लागि टोल भेला ग¥यो । सरिताको दिमागमा बाल्यकालमै सालको पातमा पाएको मूल्य झ्वास्स आयो । अनि अरू गाउँका महिला दिदीबहिनीसँग दुना–टपरी बनाउने तालिम माग गर्ने सल्लाह भयो ।
त्यही तालिममै सहभागी गाउँका अरू दुई साथीबीच दुना–टपरी उद्योग चलाउने सल्लाह भयो । सरिता भन्नुहुन्छ, “२०७४ सालमा उद्योग दर्ता गरी तीनैजनाले संयुक्त रूपमा चलायौं । एक साझेदारको निधन भयो । त्यसपछि उद्योग एक्लै सञ्चालन गर्ने सल्लाह भयो । २०७५ सालमा न्यू फूलबारी दुना–टपरी उद्योग दर्ता गरी चलाइरहेकी छु ।”
त्यसरी सुदूरपश्चिममा दुना–टपरीको काम सुरु गर्ने पहिलो उद्योग बन्यो । सँगै उहाँ सफल प्रशिक्षकसमेत बन्नुभएको छ र पश्चिमको दार्चुलादेखि पूर्वको रामेछापसम्म दुना–टपरी बनाउने तालिम दिँदै हुनुहुन्छ ।
पहिला बजारमा खासै किनबेच हुँदैनथ्यो । दुना–टपरी सडाएर फाल्नुप¥यो । उहाँ भन्नुहुन्छ, “दुना–टपरी टन्न बनाएकी थिएँ, बिक्री भएन । अरूले पनि पात बेचेर के हुन्छ भन्दै खिसीट्युरी गर्थे ।”
यतिखेर वार्षिक १५ लाख रुपैयाँको दुना–टपरी बिक्री हुन्छ । तीनवटा मेसिनबाट दुना–टपरी उत्पादन हुन्छन् । गाउँका महिलाले काम पाएका छन् भने गोठालाका सालको पात टिप्दै आम्दानी गर्ने माध्यम बनेको छ । दुना–टपरीबाट घरखर्च, छोराछोरी पढाउनेदेखि जग्गाजमिन जोड्नसमेत उहाँ सफल हुनुभएको छ ।
ती दुना–टपरी धनगढी, अत्तरिया, महेन्द्रनगरलगायत अन्य जिल्लामासमेत जाने गर्छ । दुना–टपरी उद्योगले आम्दानी मात्र होइन, आत्मसम्मान र पहिचान दिएकोमा उहाँ खुसी हुनुहुन्छ ।
विपन्नतादेखि आत्मनिर्भरतातर्फ
त्यसरी नै धनगढी उपमहानगरपालिका– १४ फूलबारीकै ३६ वर्षीया भावना पुलामी मगरलाई टपरी उद्योगले सफल उद्यमीसँगै प्रभावशाली महिलाको पहिचान दिएको छ । उहाँ २०७६ देखि सानीडाँडा फूलबारी दुना–टपरी उद्योग सञ्चालन गर्दै हुनुहुन्छ ।
उहाँका उद्योगका दुना–टपरी देशका मुख्य सहरमा मात्र सीमित छैनन्, विदेशी मुलुकसम्म पुगेका छन् । उहाँ गतवर्ष अनलाइनखबरको ५० प्रभावशाली महिला छनौटमा पर्न सफल हुनुभएको छ ।
उहाँ भन्नुहुन्छ, “६० हजारबाट सुरु भएको मेरो दुना–टपरी उद्योग दुई गाउँका पाँच सयभन्दा बढी महिलाको आम्दानीसँग जोडिएको छ । घरको काम सकेर फुर्सदको समयमा काम गर्दा उहाँहरूलाई सानो भए पनि सहयोग पुगेको छ ।”
भावनाको उद्योगमा हाल पाँच जना महिलाले नियमित काम गर्छन् । गाउँका अरू महिलाहरूले जंगलबाट सालका पात संकलन गरेर बिक्री गरी आम्दानी गर्न पाएका छन् ।
यो सफलताका पछाडि उहाँको पनि दुःखद संघर्षका कथा छन् । भारतमा मजदुरी गरी परिवार पाल्ने बुबाको उहाँ सानै छँदा मृत्यु भयो । योसँगै उहाँका संघर्षका दिन सुरु भए । उहाँ भन्नुहुन्छ, “व्यापार–व्यवसाय गर्न पैसा थिएन । जागिर खान धेरै पढेकी थिइनँ, केही गर्न पाए हुन्थ्यो भन्ने मनमा लागिरहन्थ्यो ।”
उहाँले दुना–टपरी उद्योगका निम्ति सुदूरपश्चिम प्रदेश सरकारबाट पाँच लाख रुपैयाँको मेसिन सहयोग पाउनुभएको छ । जम्माजम्मी ६० हजार रुपैयाँ लगानीमा शुरु भएको उद्योगमा १२ लाख रुपैयाँका मेसिन, आठ लाख बराबरका तयारी सामान र एक लाख बराबरको कच्चापदार्थ छन् ।
उहाँ भन्नुहुन्छ, “पहिला–पहिला फिनिसिङमा ध्यान जाँदैन थियो । व्यापारीले सुझाव दिँदै गए, मैले गुणस्तरमा सुधार गरेँ । सम्झौता गरेर मात्र सामान पठाउने गरेकी छु । दुना–टपरीको माग पोखरा, काठमाडौँ, बुटवलमा छ ।”
सफल उद्यमीसँगै भावना प्रशिक्षकसमेत हुनुहुन्छ । उहाँ दुना–टपरी तालिम दिन ठाउँ–ठाउँमा जाने गर्नुहुन्छ । तर, त्यसरी हिँडेको वैदेशिक रोजगारीमा साउदी रहेका श्रीमान्लाई मन पर्दैनथ्यो । उहाँ भन्नुहुन्छ, “म आफ्नो उद्देश्यमा अविचलित भएर अघि बढिरहें । अब त मेरो प्रगति देखेर श्रीमान् खुसी हुनुहुन्छ ।”
अब घरको छाना फेरिएको छ । चार कोठाको सटरसहितको पक्की घरमा उद्योग चलेको छ । एक छोरा र एक छोरीलाई धनगढीकै राम्रै विद्यालयमा पढाउनुभएको छ ।
सफल उद्यमी हुन सीपसँगै कडा मेहनत, संघर्ष र धैर्य हुनुपर्ने अनुभव भावनासँग छ । उहाँ गृहिणी महिलाहरूलाई घरको कामधन्दा सकेपछि खाली समय खेर नफाल्न सुझाव दिनुहुन्छ ।
त्यसो त, धनगढी उपमहानगरपालिकाले पाँच वटा वडामा दुना–टपरी तालिमसँगै उद्योग सञ्चालन गर्न मेसिनसमेत दिएको छ । उपमहानगरपालिकाका उद्यम विकास सहजकर्ता मिनाकुमारी जोशी पालिकाले तालिम र जीआईजेडले मेसिन सहयोग गरेको बताउनुहुन्छ ।
उपमहानगरले २०७९ असोजदेखि नगरक्षेत्रभित्र प्लास्टिक प्रयोगमा निषेध गरेपछि दुनाटपरीको प्रयोग बढ्न थाल्यो । “अब त माग र बजारको त समस्या छैन,” भावनाले भन्नुभयो, “जति धेरै उत्पादन गरे पनि बिक्री हुने अवस्था छ ।”
धनगढी उपमहानगरपालिकाले उत्पादनलाई बजारसँग जोड्न प्रत्येक शनिबार महिला उद्यम बजार सुरु गरेको दुई वर्ष भयो । धनगढीको खुला मञ्चमा उपमहानगरपालिकाले महिलाहरूका लागि निःशुल्क स्टलको समेत व्यवस्था गरेको छ । उद्यम बजारमा एकसय जना महिलाले नियमित आफ्ना उत्पादन बेच्ने गर्दछन् । उक्त मेलामा सीपमा आधारित खानेकुरादेखि घरायसी प्रयोगका दुना–टपरीसम्म बिक्रीमा राखिन्छ ।
धनगढी उपमहानगरपालिकाले दातृ निकायसँग सहकार्य गरी दुई वर्षदेखि प्रदेशस्तरीय रोजगार तथा सीप मेला गर्दै आएको छ । सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका एक हजार २५ सहभागी महिलालाई सीपमा आधारित तालिम दिइएको थियो । यसपालि सुदूरपश्चिमका ८४ स्थानीय तहका ६२५ जना महिलाले ४० दिने तालिम लिइरहेको सहजकर्ता मिनाकुमारी जोशीले जानकारी दिनुभयो ।
उहाँका अनुसार, ४० दिनको तालिम सकिएपछि तालिममा सहभागी उद्यम–व्यवसाय गर्नेका लागि थप पाँच दिनको तालिम दिइन्छ । वृत्ति विकासमा लाग्नेहरूका लागि पाँच दिनको करियर काउन्सिलिङ गरिन्छ ।
दुना–टपरी उत्पादनबाट शुरु भएका प्रयास अब उद्यमशीलता, रोजगारी र आत्मसम्मानको आन्दोलनजस्तै बनेको छ । सरिता बुढामगर र भावना पुलामी मगरजस्ता महिलाले देखाउँदै छन्, सीप, साहस र निरन्तर मेहनत भए अभावले भविष्य रोक्न सक्दैन ।
रोजगार तथा सीप मेलामा महिलाले रुचिको विषयमा सीप सिकिरहेका छन् । यसबाट उनीहरूलाई स्वरोजगार र उद्यमशीलतामा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।






प्रतिक्रिया