बेसीशहरकी विसु लेख्दैछिन् सफलताको कथा « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

बेसीशहरकी विसु लेख्दैछिन् सफलताको कथा



बसन्ता भट्ट

लमजुङको बेसीशहरस्थित बजार क्षेत्रको आडमा एउटा घरको दोस्रो तलामा छ– न्यु लुक ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टर । विशोर (विसु) श्रेष्ठ यस सेन्टरकी सञ्चालिका हुन् । तीव्र इच्छाशक्ति र निरन्तरको मिहिनेतको जगमा उनै विसुले आफ्नो परिचय फराकिलो बनाएकी छन् । उनी अहिले बेसीशहरकी सफल व्यवसायी भएकी छन् । विसुलाई यो सफलता सजिलै प्राप्त भएको होइन, यसका लागि उनले निकै धेरै मिहिनेत गरेकी छन् । सामान्य व्यवसायको सपनाबाट सुरु भएको उनको यात्रा आजको दिनमा अरुका लागि समेत प्रेरणाको स्रोत बनेको छ ।

विसुले विद्यालय तहमा अध्ययनकै क्रममा १५ वर्षको कलिलै उमेरमा आफ्नै इच्छाले प्रेम विवाह गरिन् । बालविवाह भएपनि तत्कालीन समयमा कुनै रोकतोक थिएन । विवाहको वर्ष दिनमै उनले पहिलो सन्तानलाई जन्म दिइन् । “जीवन सहजै अघि बढिरहेको थियो,” विसुले ती दिन सम्झिँदै भनिन्, “सबै कुरा भएर पनि, के नपुगे–नपुगे जस्तो मन स्थिर थिएन ।” कुनै अभाव र दुःख कष्टको सामना नगरे पनि केही सिकौँ, केही नयाँ गरौँ र आत्मनिर्भर बनौँ भन्ने हुटहुटीले उनलाई सौन्दर्य कलासम्बन्धी सीप सिक्ने इच्छा जाग्यो । परिवारसँगको सल्लाहमा उनले झण्डै एक वर्ष सौन्दर्य कलाको आधारभूत सीप सिक्ने जाँगर चलाइन् । त्यही सीपलाई विसुले व्यवहारमा उतार्न थालिन् ।

समयक्रममा घरेलु कार्यालयको सहयोगमा एक महिनाको ‘एडभान्स व्युटिसियन कोर्स’ मा सहभागी हुने अवसर उनले पाइन् । त्यही विन्दुबाट विसुलाई व्यवसायिक रूपमा अघि बढ्न हौसायो । परिणामस्वरुप आज उनी एक सफल सौन्दर्य व्यवसायी, प्रशिक्षक र महिला उद्यमशीलताको उदाहरण बनेकी छन् । दुई दशक लामो संघर्ष, सिकाइ, निरन्तर मिहिनेत र सक्रियताले विसुलाई अहिलेको अवस्थामा ल्याएको हो ।

घरेलुमार्फत लिएको तालिमपछि उनको एउटै प्रण थियो– अब आफ्नै व्यवसाय सुरु गर्छु । लगत्तै बजारमा चलिरहेको पार्लर ५० हजार रुपैयाँमा किनेर व्यवसाय सुरु गरिन् । झण्डै २० वर्षमा विसुको व्यवसाय अहिले ५० लाख रुपैयाँको हाराहारी पुगेको छ । व्यवसाय सुरु गर्दा बजार क्षेत्रमा अरू पार्लर पनि थिए । सौन्दर्य प्रसाधन व्यवसायको प्रतिस्पर्धामा उनी मात्र थिइनन् । तर विसुले आफ्नो पार्लरबाट गुणस्तरीय सेवा दिन थालिन् । उनी सम्झिन्छिन्– “सरसफाइ र राम्रो व्यवहारले नै होला, एक पटक आएका ग्राहक फेरि फेरि आउन थाले, मेरो सीप निखारिँदै गयो अनि व्यवसाय राम्रो हुन थाल्यो ।”

समयको माग अनुसार सौन्दर्य कलासम्बन्धी नयाँ–नयाँ शैली सिक्दै त्यही अनुसारको सेवा दिन थालेपछि विसुको आम्दानी बढ्दै गयो । शुरुवाती दिनमा आफै स्वरोजगार बन्न सञ्चालन गरेको व्यवसायमा उनले अहिले पाँच जनालाई प्रत्यक्ष रोजगारी समेत दिइरहेकी छन् । चाडपर्वको समयमा त उनले सीमित अवधिका लागि भएपनि आठ–नौ जना सम्मलाई रोजगारी दिन पाउँदा विसु निकै खुशी छिन् ।

पार्लर चलाउनु बाहेक उनले सौन्दर्य कलासम्बन्धी प्रशिक्षकको रूपमा समेत काम गरिरहेकी छन् । विसु भन्छिन्– “यति नै भन्ने तथ्याङ्क त छैन, तर हालसम्म दुई हजार बढीलाई प्रशिक्षण दिइसकेको छु ।” बेसीशहर नगरपालिका, लमजुङ उद्योग वाणिज्य संघ, तत्कालीन घरेलु कार्यालय, सिटिइभिटी लगायतका विभिन्न संघसस्थाले आयोजना गरेको तालिममा प्रशिक्षकको भूमिका निर्वाह गरेकी उनले आफ्नै पार्लरमा समेत महिलाहरूलाई आधारभूत र विशेष तालिम दिँदै आएकी छन् ।

विसुले अहिले पार्लरमा सौन्दर्य सामाग्री पनि बिक्री गर्दै आएकी छन् । व्यवसाय र प्रशिक्षणसँगै उनले देश–विदेशमा अवलोकन भ्रमणदेखि कार्यशालामा सहभागी हुने अवसर पाएकी छन् । यस्तै अवसरहरुका कारण आत्मविश्वास बढेपछि आर्थिक रूपमा सबल बनेकी छन् । खर्च कटाएर मासिक एक लाख रुपियाँभन्दा बढी बचत हुने विसु बताउँछिन् । व्यावसायिक आम्दानीबाट घर÷घडेरी समेत जोड्न सफल छिन् । कमाइले आफ्नो दैनिक खर्च त छँदै छ, घर खर्च र सन्तानको पढाइका लागि खर्च गर्न सजिलो भएको छ । उनले भनिन्– “सीप नसिकेको भए सामान्य गृहणी नै हुन्थे होला, यो व्यवसायले मलाई नाम र दाम दुवै दिएको छ, सन्तुष्ट छु ।”

विसु एक सफल व्यवसायी, महिला उद्यमी र प्रशिक्षकको रूपमा स्थापित छिन् । बेसीशहर मात्र नभई जिल्लाकै अन्य स्थान र छिमेकी जिल्ला मनाङ, गोरखा र तनहुँदेखिका महिला उनका नियमित सेवाग्राही हुन् । विसुसँगै सीप सिकेकामध्ये कतिले बेसीशहरमा सौन्दर्य व्यवसाय सुरु गरेका छन् । कतिपय यही कामको लागि विदेश पुगेका छन् । विसुले हालसम्म एक सय बढीलाई रोजगारी समेत दिइसकेकी छन् । आफ्नो सफलताबारे उनको कथन छ– “व्यवसायमा अरूको विश्वास जित्न पहिला आफूलाई विश्वास गर्नुपर्छ अनि अरूले पनि विश्वास गर्छन् ।” यसैबाट विसुले सम्मान र पहिचान कमाएकी छन् । बेसीशहरको त्यो सानो कोठाबाट सुरु भएको काम अहिले सयौँ महिलाको आत्मनिर्भर भविष्यसँग मात्र होइन उनीहरुको आत्मसम्मान र सशक्तिकरणसँग जोडिएको छ । त्यसैले उनलाई भेट्नेहरुले भन्ने गरेका छन्–“क्या बात्, विसु !”

 

 

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  ८ : ५४ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री