सम्झना रसाइली
तनहुँ । उद्यम–व्यवसाय पुरुषले मात्रै गर्ने क्षेत्र हो भन्ने पुरानो सोच चिर्दै पछिल्लो समय तनहुँका महिलाहरू व्यवसायतर्फ आकर्षित हुन थालेका छन् । सानो लगानी, सीमित स्रोत र पारिवारिक दबाबबीच उनीहरू व्यवसायतर्फ उन्मुख हुँदै गएका छन् । महिला–पुरुष दुवैलाई चुनौती हरेक क्षेत्रमा छन् । तर आत्मविश्वासका साथ कामप्रति निरन्तर खटिँदा सफलताको बाटोमा पुगेको महिला उद्यमीहरू बताउँछन् ।
तनहुँका धनमाया राना, कल्पना गौली, सौमती चेपाङ र संगीता गुरुङ प्रतिनिधि पात्र हुन् । उनीहरूले अचार व्यवसाय, तरकारी तथा कृषि उपजमार्फत राम्रो आर्थिक प्रगति गरेका छन् ।
अचारबाट आम्दानी: धनमाया राना
तनहुँको भिमाद नगरपालिका–६ शीतलचौतारीकी धनमाया राना हरेक नेपालीको घर–घरमा बन्ने अचारलाई व्यवसायिक रूपमा उत्पादन गर्दै आएकी छन् । २०७५ सालदेखि ‘धनु अचार उद्योग’ सञ्चालन गरी अचार बेचिरहेकी उनले नामसँगै दाम पनि कमाउन थालेकी छन् ।
काठमाडौं बसाइँका क्रममा सिकेको सीपलाई आधार बनाएर रानाले १० हजार रुपैयाँ लगानी गरी भिमाद बजारमै अचार उद्योग सुरु गरेकी थिइन् ।
‘उद्योग सुरु गर्दा त्यही पैसा पनि मैले चारैतिरबाट जुटाउनु परेको थियो,’ उनले भनिन्, ‘सुरुका दिनमा घाटा बेहोर्नुप¥यो । पछि बजार बुझ्दै गएपछि सजिलो भयो ।’
गुन्द्रुक, अकबरे खुर्सानी र मुलाको अचारबाट व्यवसाय सुरु गरेकी उनले अब आँप, निउरो हुँदै मासु लगायतका परिकारका अचार उत्पादन गर्दै आएकी छन् ।
पहिलो लगानीबाट १५–२० हजार रुपैयाँ फाइदा भएपछि रानाले थप चार लाख रुपैयाँ ऋण लिँदै उद्योगमा लगानी बढाइन् । १२ जनालाई रोजगारी दिइन् । तर कोभिड–१९ को लकडाउनपछि अचार बिक्री हुन छाड्यो । अचार बिक्री नभएपछि आम्दानी पनि घट्यो र उनले एक्लैले उद्योग धान्नुपर्ने अवस्था आयो । कोभिडपछि क्रमशः अर्डर बढ्न थाल्यो । धेरै माग हुँदा पहिला काम गरेका दिदी–बहिनीलाई काममा बोलाउने गरेको उनले सुनाइन् । बुटवल, नारायणगढ, स्याङ्जा, वालिङ, पोखरा र काठमाडौंसम्म बजार विस्तार गरेकी रानाको वार्षिक आम्दानी ५–६ लाख रुपैयाँ पुग्छ ।
ड्रागन फल खेतीमा सफलता: कल्पना गौली
ड्रागन फल खेतीबाट सफल बनेकी कल्पना गौलीको पनि अनुभव त्यस्तै छ । २०७८ सालदेखि व्यावसायिक रूपमा ड्रागन फल खेती सुरु गरेकी गौली बजार व्यवस्थापनमा आफैँ खटिन्छिन् । ९ रोपनी क्षेत्रफलमा २ हजार १०० वटा बिरुवा लगाएर खेती सुरु गरेकी उनले मौसमी तरकारी खेती पनि गरेकी छन् । उनले साग, पिँडालु, घिरौंला, लौका, करेला लगायतका लहरे प्रजातिका तरकारी खेती समेत गर्छिन् ।
पहिलो वर्षमै १० लाख रुपैयाँ आम्दानी गर्न सफल भएकी उनले दोस्रो वर्ष २० लाख रुपैयाँ आम्दानी गरेको सुनाइन् । अब वार्षिक करिब २० लाख रुपैयाँ आम्दानी हुँदै आएको छ । उत्पादन तनहुँ जिल्लाभित्रै खपत हुन्छ । उनले भनिन्, ‘केही व्यवसायीहरू फार्ममै आउने र केही उत्पादित फल म आफैं भ्यानमा लिएर बेच्दै हिँड्छु ।’
फार्ममा ३ जना स्थायी कर्मचारी कार्यरत छन् । उनले आवश्यकता अनुसार २० जनासम्म खेताला बोलाउने गरेको बताइन् ।
हाटबजारले बद्लिएको जीवन: सौमती चेपाङ
यस्तै, बिहान–बेलुकाको छाक टार्न संघर्ष गरिरहेकी आँबुखैरेनी गाउँपालिका–५ रसौलीकी सौमती चेपाङ पनि आर्थिक रूपमा सबल बन्ने यात्रामा छिन् । चामलको भात खान चाडपर्व नै कुर्नुपर्ने अवस्था अन्त्य भएको उनी सुनाउँछिन् । आँबुखैरेनी गाउँपालिकाले कृषि हाटबजार सञ्चालन गरेसँगै आफ्नो जीवनस्तरमा सुधार आएको उनी बताउँछिन् ।
वनजंगलमा पाइने कन्दमूल, तरुल खाएर पेट पाल्नुपथ्र्यो । त्यही गिट्ठा, भ्याकुर, सिप्लिकान, साग–सिस्नो बिक्री गरेर पैसा पाएको उनले सुनाइन् । पहिलो पटक हाटबजारमा जंगलमा पाइने निगुरो बेचेर कमाएको पैसाले चामल, आलु, नुन–तेल, मसला किनेर घर फर्किएको क्षण उनी कहिल्यै भुल्न सक्दिनन् ।
गाउँपालिकाले कृषि हाटबजार चलाएपछि बारी तथा वनजंगलमा पाइने तरकारी, कन्दमूल बेचेर घर–खर्चका साथै केही बचत पनि हुन थालेको उनी बताउँछिन् ।
स्थानीय उपजबाट आत्मनिर्भरता: संगीता गुरुङ
त्यसरी नै आँबुखैरेनी–५ लाब्दीकी संगीता गुरुङ पनि आर्थिक रूपमा आत्मनिर्भर बन्दै गएकी छन् । उनले बारीमा उत्पादन भएको कोदो, मकै, भटमास, साग, फापर, सिस्नो तथा वनजंगलमा पाइने कन्दमूल, गिट्ठा, भ्याकुर, टिम्मुर, निगुरो, पानी अमला जस्ता जडीबुटी हाटबजारमा पु¥याउने गरेकी छन् ।
गुरुङले वर्षमा काँक्रो, गुन्द्रुक, साग, वनतरुल, निगुरो, सिस्नोलगायत बिक्री गरी करिब १ लाख रुपैयाँ आम्दानी गरेको सुनाइन् । पहिले यी उपज उपभोग गर्न नसके त्यतिकै खेर फाल्दै आएकी थिइन् । घर नजिकै हाटबजार सञ्चालन भएपछि बिक्री वितरण सहज हुन थालेको हो ।
हाटबजार सञ्चालन भएपछि अहिले धेरै महिलाहरू यसरी खेतबारीमै मेहनत गरेर राम्रो आम्दानी गरिरहेका छन् । सानो लगानी, राम्रो अवसर भएपछि महिलाले पनि परिवार धान्न, रोजगारी सिर्जना गर्न र अर्थतन्त्रमा योगदान दिन सक्छन् भन्ने बलियो उदाहरण बन्दै गएका छन् । उद्यम–व्यवसाय पुरुषको मात्रै क्षेत्र होइन भन्ने सन्देश उनीहरूले व्यवहारमै प्रमाणित पनि गरेका छन् ।






प्रतिक्रिया