देवकी बिष्ट
कुनै एक मध्यराततिर छिमेकमा कराउने र रोइरहेको आवाज सुनियो । जवान छोरी भएको घर, त्यसमाथि रातभरि यस्तो आवाज । छिमेकीहरू चिन्तित भए । केही दिनसम्म यो क्रम दोहोरिन थालेपछि अन्ततः छिमेकीहरूले अष्ट्रेलियामा रहेका उनका बुबालाई फोन गरे । “गणेश दाइ, तपाईँकी छोरी रातभरि रोइरहन्छे, कराउँछे । के भयो बुझ्नुहोस् न,” छिमेकीले भने ।
बुबा आत्तिए । छोरीलाई फोन गरे—उनको पनि फोन उठेन । त्यही रात उनले सरिताकी दिदीलाई फोन गर्दै भने, “छिटो गएर हेर त, सरितालाई के भयो ।” दिदी राति हतारिँदै घर पुगिन् । ढोका ढकढक्याइन् । तर ढोका खुलेन । अन्ततः धेरै बेरपछि ढोका खुल्यो । दिदी असिनपसिन भइसकेकी थिइन् । ढोका खुलेपछि उनी सरितासँग रिसाइन् र भनिन् “के भएको हो तिमीलाई ?”
केही बेरपछि सरिताले आफू नाटकको रिहर्सलमा रहेको बताएपछि मात्रै रुवाई कराईको भेद खुल्यो ।
त्यो दृश्य थियो ‘बोक्सीको घर’ नाटकको अभ्यासको । राति एक्लै बसेर पात्रलाई आत्मसात् गर्न सरिता गिरी रुनु, चिच्याउनु, संवाद बोल्नु, सबै अभ्यास गरिरहेकी थिइन् । तर छिमेकीलाई थाहा थिएन कि यो अभिनयको अभ्यास हो ।
अचेल समयले कोल्टे फेरिसक्यो । यस्तो दृश्य देख्दा सुन्दा घरका सदस्य र छिमेकी कोही पनि अचम्म मान्दैनन् ।
किनकि सबैलाई थाहा छ, सरिता गिरी जब अभिनयमा डुब्छिन्, उनी पात्रमै हराउँछिन् ।
नसोचेको बाटो, रंगमञ्चको जीवन
सरिता गिरीले जीवनमा कहिल्यै सोचिनन् कि एक दिन आफू थिएटर अभिनेत्री बन्नेछु । बुबा लिला गिरी र आमा तुलसी गिरीकी दोस्रो सन्तान सरिता सानैदेखि अलि फरक स्वभावकी थिइन् ।
निडर, जोशिली र केही नयाँ गर्न खोज्ने स्वभावकी । बुबाका साथी थिए रंगकर्मी बिरेन्द्र हमाल । उनी बेलाबखत गिरीको घर आइरहन्थे । उनले एक दिन मजाकमै भनेछन्, “दाइ, यो छोरीको पारा अलि बेग्लै छ । यसलाई म नाटक खेलाउँछु ।” बुबा लिलाले सहमति जनाए ।
त्यसपछि सरिताको जीवनमा पहिलो नाटक आयो, विजय मल्लको ‘पत्थरको कथा’ । संयोग के प¥यो भने त्यसमा उनले मुख्य पात्रको अभिनय गर्ने मौका पाइन् ।
र, पहिलो नाटकमै उनले ‘बेस्ट परफर्मर’ को पुरस्कार जितिन् ।
त्यसपछि रंगमञ्चसँग उनको सम्बन्ध यस्तो गाँसियो कि आज चार वटा एकल नाटक गर्ने नेपालकै पहिलो महिला रंगकर्मी मध्येमा उनी गनिन्छिन् । उनका लागि बिरेन्द्र हमाल आज पनि ‘गडफादर’ जस्तै हुन् ।
रंगमञ्चको घर: गुरुकुल
सरिताको रंगयात्रा त्यतिखेर सुरु भएको थियो, जतिखेर नेपालमा गुरुकुल थिएटर चम्किएको समय थियो । त्यतिबेला गुरुकुल रंगकर्मीहरूको साझा घरजस्तै थियो । त्यहाँ अवसर बाँडिन्थ्यो, काम बाँडिन्थ्यो, जिम्मेवारी बाँडिन्थ्यो ।
निर्वाचनका बेला सडक नाटकका टोली बनाएर कलाकारहरूलाई देशभर पठाइन्थ्यो । त्यहाँ प्रतिस्पर्धाभन्दा पनि साझा यात्राको भावना बलियो थियो । त्यहाँ कलाकार अनेक हुन्थे, तर भावना सधैं एक हुन्थ्यो ।
तर २०६८ सालमा जग्गा अभावका कारण गुरुकुल बन्द भयो । त्यो घटना सम्झँदा आज पनि सरिताका आँखा रसाउँछन् । उनले घरभन्दा बढी समय बिताएको गुरुकुल सम्झिँदा उनको आँखा जहिल्यै रसाउँछ । “त्यो हाम्रो घरजस्तै थियो,” उनी भन्छिन् ।
मण्डला थिएटर र निरन्तर यात्रा
सरिता मण्डला थिएटरसँग यतिखेर आबद्ध छिन् । कहिले अभिनेत्री, कहिले निर्देशक, कहिले सर्जक हुँदै रंगमञ्चमा उनी अनेक भूमिकामा देखिन्छिन् । हालैको नाटक ‘बहुरिया’ मा उनले ‘क्रिएटिभ डाइरेक्टर’को भूमिका निभाइन् । तराईको समाजका यथार्थ उतारिएको यो नाटकमा इच्छाविपरीत हुने विवाह, स्वतन्त्रताको अभाव र त्यसले ल्याउने मनोवैज्ञानिक चोटलाई देखाइएको थियो ।
नाटकको सेट, मञ्च सजावट र प्रतीकात्मक प्रस्तुति—सबैमा सरिताको सृजनात्मकता देखिन्थ्यो ।
सरिताको दैनिकी बिहान ६–७ बजेतिर सुरु हुन्छ । उनी ‘वर्कआउट’पछि मण्डला पुग्छिन् । तर कलाकारको दैनिकी कहिल्यै स्थिर हुँदैन । अनि सोचेजस्तो हुने कुरा पनि भएन । रङ्गमञ्चमा अनेक भावभंगीमा अभिनय गरेजस्तै गरी जीवन पनि व्यतीत हुन्छ ।
कहिले सुटिङमा दिनभरि व्यस्त, कहिले रिहर्सल, कहिले कार्यक्रम । “कहिले त खाना खान पनि समय हुँदैन,” उनी हाँस्दै भन्छिन् । “दुःखी हुन पनि समय मिल्दैन ।”
सरिता प्रकृतिप्रेमी हुन् । देखावटीभन्दा प्राकृतिक जीवनशैली मन पराउँछिन् ।
आस्तिक भए पनि मन्दिर धाउने बानी छैन । तर घरको कोठामा राखिएको ठूलो गणेशलाई भने घरबाट निस्कँदा र फर्कँदा ढोग्ने बानी छ । “मलाई त्यसो गर्दा शान्ति महसुस हुन्छ ।”
खेलाडीबाट कलाकार
धेरैलाई थाहा नहुन सक्छ, सरिता मार्सल आर्टकी राष्ट्रिय खेलाडी पनि हुन् । सानो हुँदा उनी निकै निडर थिइन् । गल्ती देखे कसैलाई छाड्दैनथिइन्, केटा होस् वा केटी । अन्याय सहने बानी उनलाई कहिल्यै परेन । जो आफूमाथि भएको अन्यायविरुद्ध बोल्नसक्दैन उसले समाजमा न्याय बहाल गराउन केही भूमिका निर्वाह गर्दैन भन्ने सोच उनमा छ । सायद त्यही साहसले उनलाई रंगमञ्चमा पनि बलियो बनायो ।
थिएटरको माया
सरिताले चलचित्रमा पनि अभिनय गरेकी छन् । तर थिएटर भने उनले कहिल्यै छोडिनन् ।
किन?
“थिएटर मेरो प्राण हो,” उनी भन्छिन् । थिएटरमा पैसा कम हुन्छ । तर इमानदार श्रमको सम्मान हुन्छ । चलचित्र उद्योगबारे भने उनको अनुभव मिश्रित छ ।
“कतिपय निर्माताले आजसम्म पनि मेरो पारिश्रमिक दिएका छैनन्,” उनी भन्छिन् । “कतिले फोन नै उठाउँदैनन् ।”
रंगमञ्चमा अभिनय सजिलो छैन । चलचित्रमा ‘री–टेक’ हुन्छ भने थिएटरमा ‘वान टेक’ । एक पटक मञ्चमा गएपछि गल्तीको ठाउँ हुँदैन । त्यसैले सधैं सचेत र सर्तक हुनुपर्छ ।
कहिलेकाहीँ अभिनय गर्दागर्दै अचानक दिमाग ‘ब्ल्याक आउट’ हुन्छ । डाइलग बिर्सिन्छन् । त्यस्तो बेला सह–कलाकारले सम्हाल्छन् ।
एक पटक बालकृष्ण समको ‘स्वास्नी मान्छे’ नाटकमा उनले झाँक्रीको भूमिका निभाएकी थिइन् । त्यो पात्रबाट बाहिर निस्कन उनलाई धेरै समय लाग्यो ।
“कहिलेकाहीँ पात्रमा यति डुबिन्छ कि सरिता बन्नै समय लाग्छ,” उनी भन्छिन् ।
विदेशको लोभ र रंगमञ्चको तान
कोभिडपछि सरिता आफ्ना भाइहरू भेट्न अष्ट्रेलिया गइन् । त्यतिबेला नाटकको समय थिएन । पछि के हुन्छ भन्ने पनि टुङ्गो थिएन । परिवारले उतै बस्न आग्रह पनि ग¥यो । तर तीन पटक अष्ट्रेलिया पुगेकी सरिता तीनै पटक नेपाल फर्किइन् ।
किन ?
किनकि जब–जब उनी विदेश बस्ने सोच बनाउँछिन्, त्यही बेला नयाँ नाटकको प्रस्ताव आउँछ । “सायद रंगमञ्चले मलाई छाड्न चाहँदैन,” उनी हाँस्दै भन्छिन् । हुन पनि न उनले रंगमञ्च छाड्न सक्छिन्, न त रंगमञ्चले उनलाई ।
२५ वर्षदेखि रंगमञ्च र चलचित्रमा सक्रिय सरिता गिरी आज नेपाली थिएटरको पहिचान बनिसकेकी छन् ।
तर उनलाई एउटा कुरा चिन्तित बनाउँछ, थिएटरमा महिलाको संख्या घट्दै जानु । धेरै महिला कलाकार विवाहपछि थिएटर छाड्छन् ।
चलचित्रमा जाने कलाकार पनि प्रायः फर्केर थिएटरमा आउँदैनन् । तर सरिता भने अझै मञ्चमै उभिइरहेकी छन् ।
उनका लागि थिएटर केवल पेशा होइन, जीवनको अर्थ हो ।
र त्यसैले उनी भन्छिन्, “नाटक जीवित कला हो । यहाँ गल्तीको ठाउँ हुँदैन ।”
सायद, यही कारणले नेपाली रंगमञ्चमा धेरैले उनलाई आज पनि प्रेमले भन्छन्, “थिएटर क्वीन, सरिता गिरी ।”






प्रतिक्रिया