कर्णालीका महिलाः नेतृत्व सम्हाल्दै, निर्णय क्षमता देखाउँदै « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

कर्णालीका महिलाः नेतृत्व सम्हाल्दै, निर्णय क्षमता देखाउँदै



चाँदनी कठायत

उनी हुन्–दीपा राना र ठाउँ हो, सुर्खेतको गुर्भाकोट नगरपालिका । यस नगरको १२, १३ र १४ नम्बर वडा केही गाउँको रौनक बेग्लै छ,अहिले । विशेषगरी ती गाउँका महिलाको जीवनस्तरमा सुधार आएको छ । विभिन्न कृषि व्यवसाय गरेर आम्दानी गरिरहेका यहाँका महिलाको दैनिकीसँगै जविनस्तर पनि बदलिएको छ । जिम्मेवार गृहणीबाट अव कृषि व्यावसायीको परिचय बनाएका यी जाँगरिला महिलाको सफलताको पछाडि एक महिलाको योगदान छ । हो,उनको नाम शुरुमै लेखियो– दीपा राना ।

जन्मिएको तीन महिनामै आगलागीमा परेर दुवै खुट्टा गुमाएकी दीपाले जीवनको सुरुवातै असहज परिस्थितिबाट गरिन् । विद्यालय जान हात टेकेर हिँड्नुपथ्र्यो, बाहिर निस्कन पनि साहस चाहिन्थ्यो । तर, शारीरिक सीमितताले उनको सोच सीमित बनाएन । आफू मात्र होइन, गाउँका महिला पनि अरूको भरमा बाँच्नुपर्छ भन्ने अवस्था बदल्ने सपना उनले त्यही बेलादेखि देखिन् । परिवारको साथ र सहयोगले उनले आँट बटुलिन् र अघि बढिन् ।

त्यो ०६५ को कुरा हो जुनबेला उनले गाउँमा प्रौढ कक्षा सुरु गरिन् । पढ्न–लेख्न सिकाउन थालेपछि उनले महिलाको टोलीलाई हरेकले २०÷२० रुपैयाँ बचत गर्न प्रस्ताव राखिन् । त्यति नै बेला महिलाले पनि आय आर्जन गर्नुपर्छ भन्ने सोच बनाएर उनले अम्रिसो खेती र अन्य सामूहिक तरकारी खेती पनि गर्न प्रस्ताव गरिन् । त्यसबाट भएको आम्दानीको केही भाग कोषमा जम्मा गर्न थालियो ।

०६७ सम्म पुग्दा महिलाको यो पौरखी समूहले एक लाख रुपियाँ बचत गरे । त्यति नै बेला छलफल चल्यो सहकारी खोल्ने । सुरुवात सजिलो थिएन । समूहमा आबद्धताका लागि आव्हान गर्दै घरदैलोमा जाँदा लखेट्ने, ढुङ्गा हान्ने घटनासमेत भए । तर, दीपाले हार मानिनन् । अनेक संघर्षका बाबजुद अन्ततः ०६७ मा सहकारी दर्ता भयो । न्वारन भयो–महिला परिवर्तन साना किसान कृषि सहकारी संस्था लिमिटेड ।

सुरुको दुई वर्ष सहजकर्ताका रूपमा सुरु गरेको यात्रालाई उनले अहिले पनि प्रबन्धकका रूपमा निरन्तरता दिइरहेकी छन् । आज सहकारीमा गुर्भाकोटका तीन वडाका एक हजार ७ सय ४० महिला सदस्य छन् । सहकारीको पुँजी २९ करोडभन्दा बढी र सेयर पुँजी दुई करोड ९७ लाखभन्दा माथि पुगेको सुनाउँदा दीपा दङ्ग छिन् ।

सहकारी बचत र ऋणमै मात्र सीमित छैन । आफ्नै बिउ ग्रेडिङ उद्योग सञ्चालन, बिउ पैँचो दिएर उत्पादन गराउने र सहकारीले नै खरिद–बिक्री गर्ने व्यवस्था गरिएको छ । “हामीले एक केजी बिउ पैँचो दिन्छौँ,” उनी प्रक्रियाको कुरा गर्दैछिन्,“पछि उत्पादन भएपछि त्यो बिउ फिर्ता लिने र अरू खरिद गरेर हामीले नै विक्री गरिदिन्छौँ, धान, गहुँ, मकै, कोदो, अन्य तरकारी पनि लगाउन भन्छौँ ।”

पशु तथा कृषि प्राविधिक सेवा पनि सहकारीले नै दिने गरेको रहेछ । महिलाको निर्णय क्षमतामा आएको परिवर्तनलाई उनी सबैभन्दा ठूलो उपलब्धि मान्छिन् ।

दीपाको नेतृत्वले सहकारी पनि योजनाबद्ध ढंगले सञ्चालन गरेको छ ।

२०६७–०७० सम्म सहकारीको प्रवद्र्धनमा ध्यान दिइएको रहेछ । २०७०–०७३ सम्म पुँजी विस्तार, २०७४–०७८ सम्म नीति र प्रणाली निर्माण, ०७९–०८३ सम्म सुदृढीकरणका लागि विभिन्न व्यवसाय सुरु गर्ने र ०८४ देखि ०८९ सम्म व्यवसाय छनोट गरेर दीर्घकालीन मोडेलमा लैजाने र ०८९ पछि भने सहकारी स्वचालित रूपमा सञ्चालन गर्ने लक्ष्य रहेको उनको भनाइ छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान पाए पनि उनी आफ्नो उपलब्धि व्यक्तिगत नभएको सुनाउँछिन् । “महिलाले अवसर पाए भने परिवार मात्रै होइन, सिंगो समुदाय बदलिन्छ,” दीपाको आत्मविश्वास बोल्यो ।

करिब १३ वर्षअगाडि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ की भुमिसरा श्रेष्ठ सामाजिक परिचालकको रूपमा काम गरेर आफ्नै वडामा गठन भएको महिला समूहहरू सञ्चालन गर्थिन् । एउटा वडाका १५ देखि २० जना महिलाको समूह चलाउनभन्दा सहकारी नै सञ्चालन गरेर धेरै महिलालाई उद्यमी बनाउने सपना उनले बुनिरहिन् ।

सहकारी खोल्नका लागि उनी एक्लैको आँटले मात्रै पुग्दैनथ्यो । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हेफर इन्टरनेशनल नेपालले वीरेन्द्रनगरका १ देखि १२ नम्बर वडासम्म गठन गरेका महिला समूहमा उनले सहकारीको योजना सुनाइन् । “हेफरको परियोजना सकिएपछि एउटा समूहमा करिब एक– दुई लाख रुपैयाँ बचेको थियो,” उनको स्मृति ताजा भयो, “यो पैसा बाँडेर अर्थ हुँदैन, दिगो बनाउनका लागि मैले सबै महिला दिदीबहिनीसँग सहकारी खोल्ने कुरा गरे अनि उहाँहरूले पनि सहमति जनाउनुभयो ।” अन्ततः समूहमा आबद्ध महिलाको आँट र साहसले सहकारी खोल्ने निधो ग¥यो ।

९२ जना महिलाको समूहले श्री सम्झौता सामाजिक उद्यमी महिला सहकारी संस्था, वीरेन्द्रनगर–१ भनी नामकरण पनि गरियो र इन्द्रा चालिसेको संयोजकत्वमा तदर्थ समिति गठन गरी ०६९ मा सहकारी दर्ता गरियो । सहकारी के–कसरी सञ्चालन गर्ने भन्ने कुरा थाहा नभएरै पनि त्यतिबेला आँट गरेको उनी सुनाउँछिन् । सोही समयदेखि भुमिसरा सहकारीको व्यवस्थापक भएर काम गरिरहेकी छिन् ।

वीरेन्द्रनगरमा ठूला–ठूला नाम चलेका सहकारीका अगाडी महिलाले नेतृत्व गरेर सहकारी खोल्नु कम चुनौतीपूर्ण थिएन । “तर पनि आँट गरियो र सफल पनि भएर देखाइयो,” भुमिसराले सफलताको कथा सुनाइन । ९२ जना सदस्यबाट प्रतिव्यक्ति एक हजार रुपैयाँ उठाएर ९२ हजार रुपैयाँ सेयर पुँजीबाट सुरु भएको उक्त सहकारीको अहिले २२ लाख सेयर पुँजी छ । अहिले नगरपालिकाको १ देखि ४ नम्बर वडाका ६ सय ५८ जना महिला सहकारीमा आबद्ध छन् ।

अहिले सहकारीबाट ऋण लिएर महिलाले डेरी, अग्र्यानिक खाद्यवस्तु सङ्कलन केन्द्र, सिलाइबुनाइ र विभिन्न कृषि व्यवसाय सञ्चालन गरिरहेका छन् । सहकारीका महिलाले कर्णालीमा हुने उत्पादनलाई नेपालका विभिन्न जिल्लामा पु¥याइरहेका छन् । करिब २० लाख रुपैयाँ लगानी गरेर महिला समूहले कर्णालीमा विभिन्न अग्र्यानिक खाद्य उत्पादन, सङ्कलन तथा विक्री गरिरहेको सुनाउँदा व्यवस्थापक भुमिसरा दङ्ग देखिन्छिन् ।

कर्णालीमा हाल ३११ दर्ता भएका सहकारीको कुल पुँजी करिब १५ अर्ब रुपैयाँ छ र यसले पन्ध्र सय भन्दा बढी व्यक्तिलाई रोजगार दिएको छ ।

राष्ट्रिय रूपमा महिलाहरूले सहकारी सदस्यताको ५ सय ६५ हिस्सा ओगटेको सहकारी रजिष्ट्रारको कार्यालय कर्णाली प्रदेशको तथ्याङ्क छ । कार्यालयका अनुसार सहकारीको बोर्डमा ४०५ महिला छन् ।

कर्णालीमा भुमिसरा मात्र होइन दैलेखकी दुर्गा थापाले चार वर्षदेखि सहकारीको नेतृत्व सम्हालिरहेकी छन् । सुरुमा सामान्य बचत र ऋण लगानी गर्नका लागि गठन भएको नमुना महिला समूहबाट उनको नेतृत्वमा भगवतीमाई महिला कृषि सहकारी संस्था स्थापना भयो । सहकारीले छोटो समयमा नै सफलता हाँसिल ग¥यो ।

मासिक बचत सय रुपैयाँ मात्रै उठाउने र सेयर रकम आफ्नो इच्छाबमोजिम हाल्ने भनी सुरु गरिएको सहकारीमा बचत छाडेर ८४ हजार सेयर पुँजी थियो । जुन अहिले करिब १९ लाख ९४ हजार रुपैयाँ पुगेको छ । अध्यक्ष थापाका अनुसार सहकारीले मुख्यमन्त्री कार्यालयको बिउ पुँजी अनुदानमार्फत १५ लाख रुपैयाँको कार्यक्रम पाएको थियो । जसमाबाट १२ रुपैयाँ ऋण लगानी गरेर पुँजी बढाइएको उनको भनाइ छ ।

सहकारीबाट ऋण लिएर महिलाले तरकारी खेती, बाख्रा पालन, भैँसी पालन, दालमोठ उद्योग सञ्चालन गरिरहेका छन् । सहकारीले कार्यक्रम विस्तार गरी अन्य उद्यम थप गर्ने योजना बनाइरहेको छ । अध्यक्ष थापाले दुना टपरी उद्योग प्रभावकारी हुने देखिएको भन्दै केही समयभित्र उक्त उद्योग खोलिने बताइन् । “महिला सहकारी भएकै कारण विश्वास गरिँदैन,” उनले गुनासो गरिन््, “स्थानीय र प्रदेश सरकारले हामीलाई बेवास्ता गरेको जस्तो लाग्छ, महिलालाई सशक्त बनाउने खालका कार्यक्रमहरू भएको भए सहज हुन्थ्यो ।” महिलालाई सीपमूलक तालिमको आवश्यकता रहेको उनको ठम्याइ छ ।

सहकारीले कर्णालीका महिलालाई वित्तीय पहुँच मात्र नभई नेतृत्व, समूह व्यवस्थापन र निर्णय क्षमतामा पनि शसक्त बनाएको जिल्ला सहकारी संघका प्रबन्धक ढाकाराम न्यौपाने बताउँछन् । महिलाहरूले सहकारी मार्फत स–साना ऋण लिएर विभिन्न व्यवसाय गरी आर्थिक रूपले सबल बनेको उनको भनाइ छ । संघले महिलाद्वारा सञ्चालित सहकारीलाई विशेष अनुदानको व्यवस्था गर्न स्थानीय तथा प्रदेश सरकारसँग समन्वय गरिरहेको उनको दावी छ ।

तिला गाउँपालिका जुम्लाकी पूर्वउपाध्यक्ष विष्णुमाया बुढा हाल चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडकी अध्यक्ष हुन् । उनी गत भदौमा मात्रै उक्त सहकारीको अध्यक्ष भएकी हुन् । यसअघि तीन वर्षसम्म कोषाध्यक्षका रूपमा काम गरिन् । सहकारीको स्थापना ०३१ मा भएको भनिए पनि पुनः सञ्चालन ०६८ देखि भएको हो ।

। हाल कर्णाली प्रदेशभर सहकारीका शाखा छन् र २५ हजारभन्दा बढी महिला सदस्य छन् । प्रदेशभर सहकारीले २१ वटा सेवा केन्द्र खोलेको अध्यक्ष बुढाले जानकारी दिइन् । जुम्लामा हुने उत्पादनको खरिद विक्री गर्ने काममा पनि महिलाहरू सक्रिय भएर लागेका छन् । उक्त उत्पादन खरिद तथा विक्रीका लागि जुम्लामा पसल राखिएको छ जसको शाखा सुर्खेत र काठमाडौंमा पनि छ ।

सहकारीको उद्देश्य ऋण लिने र दिने मात्र नभई महिलाहरूलाई शसक्त र आर्थिक रूपले आत्मनिर्भर बनाउने रहेको उनको भनाइ छ । “सहकारीमा बचत गर्ने, ऋण लिने र आफूले उत्पादन गरेका वस्तु फेरि सहकारीमा नै दिने हाम्रो नीति छ,” उनले भनिन्, “ऋणको किस्ता तिर्ने पैसा छैन भने आफूले उत्पादन गरेको वस्तु दिएर किस्ता कटौती गर्न सक्ने व्यवस्था गरिएको छ ।” किसानलाई बजार नपाएर आफ्ना उत्पादनहरू खेर फाल्न नदिने गरी सहकारीले काम गरेको अध्यक्ष बुढाले बताइन् ।

सहकारीमा आबद्ध सदस्यहरूले सेयर सदस्य बनेको तीन महिना पुगेपछि तीन लाखदेखि एक करोड रुपैयाँसम्म ऋण लिन पाउँछन् । आठ लाखसम्म ऋण लिँदा धितो पनि राख्नु पर्दैन ।

यस्तो काम गर्दागर्दै पनि महिलाले नेतृत्व गरेका सहकारीमा विश्वास नगरिने सम्झौता सामाजिक उद्यमी महिला सहकारी संस्थाकी व्यवस्थापक भुमीसरा श्रेष्ठको अनुभव छ । “यही अवधिमा पुरुषले सञ्चालन गरेको सहकारी भएको भए धेरै प्रगति भइसकेको हुने थियो,” उनले पुरुष–महिलाबीचको विभेद खोलिन्, “तर हाम्रा कुराको सुनुवाइ राम्रोसँग हुँदैन, स्थानीय सरकारले पनि हाम्रा दिदीबहिनीका लागि विशेष अनुदानको व्यवस्था गर्नुपर्ने हो ।”

सहकारी रजिष्ट्रारको कार्यालयका प्रमुख खिमानन्द अर्यालले कर्णालीमा महिलाले सञ्चालन गरेका सहकारीका प्रमुख तथा सदस्यहरूलाई तालिम दिनबाहेक अन्य काम खासै नगरेको स्वीकारे । प्रदेशभर करिब ६० वटा महिला सहकारी रहेको कार्यालयका सूचना अधिकारी भीम कार्कीले जानकारी दिए । उनका अनुसार यो अनुमानित तथ्याङ्क हो । “यीमध्ये पनि कति सक्रिय छन्, कति निष्क्रिय छन्,” उनी भन्दै थिए, “महिलाले सञ्चालन गरेको तथ्याङ्क हामीसँग अनुमानित छ तर महिलाको नेतृत्व त अन्य सहकारीमा पनि छन् ठ्याक्कै कति महिला सहकारीको नेतृत्वमा छन् भन्ने तथ्याङ्क छैन ।”

कर्णालीका महिलाका लागि सहकारी बचत र ऋणका लागि मात्र नभएर आर्थिक रूपले अब्बल बन्ने माध्यम बनेको छ । दीपा राना, भुमिसरा श्रेष्ठ, दुर्गा थापा र विष्णुमाया बुढाजस्ता महिलाको नेतृत्वले देखाएको परिवर्तनले ग्रामीण अर्थतन्त्रमा महिलाको भूमिका कति महत्त्वपूर्ण छ भन्ने पुष्टि गरेको छ । तर बजार, पुँजी र नीतिगत प्राथमिकताको अभावले यो अभियानलाई अझै सहज बनाएको छैन ।

महिलाले नेतृत्व गरेका सहकारीलाई सशक्तीकरणको कार्यक्रम मात्र होइन आर्थिक विकासको नीतिमा जोड्नुपर्ने अधिवक्ता गीता कोइरालाको माग छ । “महिलाले नेतृत्व गरेका सहकारीलाई राज्यले विकासको साझेदारका रूपमा हेर्नुपर्छ,” किन ? उनले सारमा सुनाइन्,“नत्र उनीहरूको क्षमता सीमित दायरामै रोकिन्छ ।”

अधिवक्ता गीताले भनेजस्तै राज्यले महिलालाई साझेदार स्विकार्ने हो भने दीपा, भुमिसरा,दुर्गा र विष्णुमायाहरुको क्षमताको दायरा अझै फराकिलो बन्ने निश्चित छ ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  ८ : ५८ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री