ती पाँच महिला उद्यमी, जो बने सामाजिक रूपान्तरणका उदाहरण « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

चुनौती पनि यसरी बन्न सक्छ, अवसर

ती पाँच महिला उद्यमी, जो बने सामाजिक रूपान्तरणका उदाहरण



बालकुमारी पौडेल

पोखरा । घरबाहिर निस्केर आर्थिक गतिविधिमा संलग्न हुनु महिलाका लागि चुनौतीपूर्ण मानिन्छ । तर, यी चुनौतीलाई अवसरमा बदलेका छन्, पोखरा महानगरपालिका–७ मा बसोबास गर्ने महिलाले । फालिएका प्लास्टिकका बोतल सङ्कलन गर्ने र बिक्री गर्ने काम हेर्दा सामान्य देखिए पनि महिलाका लागि रोजगारीको आधार बनेको छ ।

यो उद्यम फोहोर व्यवस्थापन मात्र होइन, महिलाको आर्थिक सशक्तीकरण, आत्मसम्मान र सामाजिक रूपान्तरणको उदाहरण समेत हो । यसबाट अन्य महिलालाई आत्मनिर्भर बन्न प्रेरणा मिलेको छ । संगीता शर्माको नेतृत्वमा पोखरा–७ मा सञ्चालित उद्यमले ‘फोहोरलाई मोहरमा बदलौँ’ भन्ने सन्देशलाई सार्थकता दिइरहेको छ ।

समाजसेवाबाट उद्यमसम्मको यात्रा

यस यात्रामा सहयात्री बनेर लागेका महिलाहरू हुन्–समूहकी संयोजक संगीता शर्मा, बुद्धिमाया गुरुङ, विमला श्रेष्ठ, शोभा थापा र लालकुमारी गुरुङ हुन् । सुरुमा वातावरणीय सरसफाइलाई महत्त्व दिएका उनीहरूले गत असोजमा ‘बोतल बैंक सञ्चालन समूह’ नामक संस्था दर्ता गरेर काम सुरु गरेका थिए ।

सुरुवातमा २०७४ सालदेखि माछापुच्छ्रे महिला क्लबले पोखरा–७ मा फोहोर व्यवस्थापनमा सक्रिय भूमिका निभाउँदै आएको थियो । प्रारम्भिक दिनमा उनीहरूले पोखरा बृहत् सरसफाइ अभियानमार्फत जनचेतना फैलाउने काम गरे । साथै, उनीहरूले कुहिने फोहोरबाट मल बनाउने र नकुहिने फोहोर बिक्री गर्न थाले ।

यसरी बिक्री गरी सङ्कलन गरिएको करिब ४० हजार रुपैयाँ संस्थाको खातामा जम्मा भएपछि संस्था चलाउने र काम अघि बढाउन सक्ने आत्मविश्वास बढेको बताउँछिन्, संयोजक शर्मा । कोभिड–१९ को महामारी हुँदा संक्रमणको डर र फोहोर जम्मा हुँदा आउने जोखिमका कारण केही समय काम रोकिएको थियो । तर, उनीहरूले त्यसपछि आफ्नो कामलाई निरन्तर दिए । सुरुमा यो काम व्यावसायिकभन्दा पनि सरसफाइमा केन्द्रित थियो ।

आपसमा मिलेर त्यसरी काम गरिरहँदा गत वर्ष संयोजक शर्मा पोखरा महानगरपालिका र विभिन्न साझेदारी संस्थासँगको सहकार्यमा फोहोरको पुर्न प्रयोग र त्यससम्बन्धी तालिममा सहभागी भइन् । त्यति मात्र होइन दोस्रो चरणको तालिममा फोहोरबाट व्यवसाय गर्ने सीप सिक्ने मौका संयोजक शर्मा र बुद्धिमाया गुरुङले पाएका थिए । त्यसपछि उनीहरूले ‘वातावरण सफा राखौँ, जनचेतना फैलाऔँ’ भन्ने उद्देश्यसहित स्थापना गरेको बोतल बैंक सञ्चालन समूहमा थप तीन जना महिला जोडिए ।

शर्माका अनुसार यस उद्यमका लागि फोहोर व्यवस्थापनसम्बन्धी परियोजना (जिसिआरयु) बाट झन्डै ६ लाख ५० हजार रुपैयाँ सहयोग प्राप्त भयो । त्यसपछि उनीहरूले भदौदेखि सात वर्षका लागि मासिक चार हजार रुपैयाँ रकम तिर्ने गरी जग्गा भाडामा लिएर काम अघि बढाए । ट्रस निर्माणमा उनीहरूले चार लाख रुपैयाँ सामूहिक लगानी समेत गरे ।

यस्तो छ, बोतल सङ्कलन र बिक्री प्रक्रिया

बोतल बैंकमा महिलाहरू प्लास्टिकका बोतल मात्र हैन, पेय पदार्थका बोतल र प्लास्टिक पनि सङ्कलन गर्छन् । पहिला पानीका बोतलमात्र सङ्कलन गर्ने गरिए पनि स्थानीयवासीको आग्रह अनुसार उनीहरूले नकुहिने अन्य वस्तु समेत सङ्कलन गरिरहेका छन् । शर्माका अनुसार सङ्कलित झन्डै १० हजार किलोग्राम बोतल निजी उद्योगमा बिक्री गरिएको छ । त्यसबाहेक प्लास्टिक, बियरको बोतल, क्यान गरी नौ सय किलोग्राम भन्दा बढी बिक्री भएको छ । सामानको प्रकारअनुसार प्रति केजी फरक–फरक मूल्यमा बिक्री गरिएको शर्माले सुनाइन् ।

उनीहरू पार्टी प्यालेस, होटल, सडकछेउ र स्थानीय क्षेत्रबाट बोतल सङ्कलन गर्छन् । फालिएका सामान सङ्कलन र बिक्री गर्ने मात्र नभई सामानको प्रकृति र परिमाण हेरेर निश्चित मूल्यमा खरिद पनि गर्छन् । कहिले स्थानीयवासीले बोतल बैंकसम्म नै सामानहरू ल्याइदिन्छन् ।

हाल महिलाले औसतमा मासिक ५–६ हजार रुपैयाँ कमाइरहेका छन् । गर्मी मौसममा यो आम्दानी १० हजार रुपैयाँसम्म पुग्ने अनुमान छ । भविष्यमा प्रत्येक सदस्यले मासिक १० हजार रुपैयाँ कमाउने उनीहरूको लक्ष्य छ ।

व्यवसायका अलावा यस समूहले टोलका १ सय ५ घरधुरीमा कुहिने र नकुहिने फोहोर छुट्याएर राख्ने कम्पोस्ट विन वितरण गरेको छ । सबै सामग्री निःशुल्क उपलब्ध गराइएको हो । यस अभियानबाट वडा नम्बर ७ का धेरै घरमा कौशी–खेती समेत सुरु भएको छ ।

आत्मसम्मान
‘फोहोर उठाउँदा आत्मसम्मान घट्दैन । बरु आत्मनिर्भर भएको महसुस हुन्छ ।’ कर्मठ महिलाहरूको एकै स्वर छ, ‘फोहोरमा मोहोर छ भनेर गर्वका साथ भन्न सक्ने भएका छौँ ।’

सामूहिक काम, परिवारको साथ

फोहोर व्यवस्थापनलाई आम्दानी र आत्मनिर्भरतासँग जोड्दै उदाहरणीय काम गरिरहेका महिलाले यस उद्यममा आ–आफ्नो परिवारको पूर्ण साथ र सहयोग पाएका छन् । पारिवारिक सहयोग, सामूहिक प्रयास र निरन्तर मिहिनेतका कारण समाजका लागि उनीहरू प्रेरणाको स्रोत बनेका छन् ।

फरेष्टर श्रीमानको साथ र सहयोगबाट उद्यममा लागेकी समूहकी संयोजक शर्मा आफूहरू यो व्यवसायको लागि छनोट हुँदाको खुसीको क्षण स्मरण गर्छिन् । “मलाई चार जना साथीले दिएको साथ अमूल्य छ,” शर्माले सम्झिइन्, “घरको सबै काम सकेर बाँकी समयको सदुपयोग गरेर व्यवसाय गरेका छौँ ।”

घरबाहिरको कामले पारिवारिक जिम्मेवारीमा असर नपारेको र आर्थिक उपार्जनका लागि योगदान भएको चर्चा गर्दै शर्माले सुनाइन्, “पहिला हामी सामाजिक सेवाको रूपमा काम गथ्र्यौं । अहिले फोहोरमा मोहोर (आम्दानी) देखेर काम थालेका छौँ ।”

समूहकी अर्की सदस्य बुद्धिमाया गुरुङ फोहोरमा पनि सम्भावना देखेको बताउँछिन् । “हामीलाई कतिपयले कवाडीको रूपमा हेर्छन्, तर हामी वातावरण जोगाउँदै उद्यमी बन्न चाहन्छौँ,” गुरुङले अनुभव साझा गरिन्, “एक्लैले गर्न सकिँदैन, सामूहिक रूपमा लाग्नुपर्छ ।”

फोहोर व्यवस्थापनबाट आम्दानीसँगै वातावरण पनि सफा भएको लालकुमारी गुरुङको बुझाइ छ । “घरको काम सकेर समय निकाल्छु । परिवारको पूर्ण साथ छ,” भन्छिन्, “वैदेशिक रोजगारबाट फर्केका श्रीमानको सहयोग समेत पाएकी छ,अब यही उद्यमलाई निरन्तरता दिने सोच छ ।”

समूहकी अर्की सदस्य शोभा थापालाई वडा सदस्य श्रीमानको साथ छ । उनी यस उद्यममा दृढ भएर लागिरहेकी छन् । “नगरपालिकाको गाडीमा पैसा तिरेर फोहोर फाल्नुपर्छ,” थापाले सारमा सुनाइन्, “तर वर्गीकरण गरेर व्यवस्थापन गर्न सके मल बन्छ अनि आम्दानी पनि हुन्छ ।”

श्रीमान् जागिरे भए पनि पूर्ण साथ रहेको भन्दै अर्की सदस्य विमला श्रेष्ठ कुनै पनि काम सानो–ठूलो हुँदैन भन्ने विश्वास गर्छिन् । लगानी गरेपछि जिम्मेवारी पनि बढेको बताउँदै उनले स्थानीयवासीलाई फोहोर सङ्कलनमा सहयोग गर्न आग्रह समेत गरेकी छन् ।

अवसरसँगै चुनौती पनि उस्तै

सामूहिक उद्यममा लागेका उनीहरू ७ नम्बर वडा र पोखरा महानगरमै नमुना बन्ने लक्ष्यसहित अघि बढिरहेका छन् । तर, चुनौती पनि उत्तिकै छ । उद्यम सञ्चालन गर्न फोहोर सङ्कलन गर्ने ठाउँका लागि जग्गा पाउन निकै गाह्रो भयो । फोहोर थुपार्ने हुनाले घर वरिपरि दुर्गन्धित हुन्छ भन्ने जस्ता गलत बुझाइले जग्गा भाडामा लिन उनीहरूलाई समस्या भएको छ । त्यसबाहेक उनीहरूले सामाजिक सोचका कारणसमेत चुनौती भोग्दै आएका छन् ।

अन्य पेसा व्यवसाय गर्न छोडेर फोहोर बटुलेर उद्यमी बन्न लागेको भन्दै अरूले गर्ने नकारात्मक टिप्पणीलाई बेवास्ता गर्दै उनीहरूले कामलाई निरन्तरता दिएका छन् । उनीहरूको अनुभवमा फोहोर वर्गीकरण गर्न स्थानीयवासीले अल्छी गर्नु, संस्था दर्ता प्रक्रिया झन्झटिलो हुनु तथा फोहोर वस्तुको मूल्य निर्धारणमा एकरूपता नहुनु जस्ता समस्या हट्न सकेको छैन । परियोजना सकिएपछि पनि टिकाइराख्न स्थानीय सरकारको दीर्घकालीन सहयोग, उचित मूल्य निर्धारण, पूर्वाधार र नीति आवश्यक रहेको उद्यमी महिलाको भनाइ छ ।

सोचमा परिवर्तन
समाजमा पैसा कमाउन सजिलो भए पनि सम्मान पाउन गाह्रो हुने उनीहरूको अनुभव छ । तर कामको निरन्तरताले सोच परिवर्तन हुँदै गएको छ ।

यस्ता छन्, उद्यमी महिलाका भावी योजना

बोतल बैंक सञ्चालन समूहका महिलाहरूले अरूबाट पाएको आर्थिक सहयोगको सही सदुपयोग गर्दै यस व्यवसायबाट नै सफल उद्यमी बनेर स्थापित हुने सोच राखेका छन् । यिनै कच्चा पदार्थबाट नयाँ प्रविधि प्रयोग गरी नयाँ वस्तुको उत्पादन र बिक्री गर्ने दीर्घकालीन लक्ष्य उनीहरूको छ । उनीहरूले बिमा र आकस्मिक कोष सञ्चालन, महिला उद्यमीका लागि कर छुट र सहज दर्ताको लागि पहल गर्ने जस्ता योजनाहरू बनाएका छन् ।

निकट भविष्यमै वडा नम्बर ७ भित्रका प्रत्येक सरकारी कार्यालयमा एक÷एक वटा केज राख्ने योजना छ । तत्कालका लागि १५ वटा कार्यालयमा बोतल सङ्कलनका लागि केज राख्ने पहल भइरहेको छ ।फोहोर व्यवस्थापनका लागि सार्वजनिक स्थल र पार्कमा जनचेतना अभियान चलाइएको छ । विद्यालयमा जनचेतना कार्यक्रम गर्ने पनि उनीहरूको योजना छ ।

यसरी महिलाको अग्रसरतामा थोरै लगानी, निरन्तर मिहिनेत र संस्थागत सहयोगबाट उनीहरूलाई आत्मनिर्भरतर्फ अघि बढाउन सकिन्छ भन्ने उदाहरण बोतल बैंक सञ्चालन समूहका महिलाहरूले प्रस्तुत गरेका छन् । सामाजिक लाभमा केन्द्रित यस किसिमको उद्यममा समर्पित महिलाहरूले पैसा त कमाउने नै छन्, समाजबाट सम्मान पाउने दिन पनि धेरै टाढा छैन । किनकि, कामको निरन्तरताले सोच पनि परिवर्तन हुने नै छ ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  ८ : ४९ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री