मध्यमवर्गीय महिलाहरू डिजिटल प्लेटफर्ममार्फत आत्मनिर्भर बन्दै « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

मध्यमवर्गीय महिलाहरू डिजिटल प्लेटफर्ममार्फत आत्मनिर्भर बन्दै



शान्ता कमली
घरायसी काम सकेपछि मोबाइल फोनबाट सामाजिक सञ्जाल प्रयोग गरी व्यवसाय गर्ने महिलाको संख्या निकै बढेको छ । पारिवारिक कामको सीमित घेराभित्र बाँधिएको महसुस गर्ने धेरै मध्यमवर्गीय महिला डिजिटल माध्यमबाट व्यापार–व्यवसाय गरी आर्थिक रूपमा आत्मनिर्भर बन्न थालेका छन् ।

कोठाबाटै विश्व बजारसम्म
भक्तपुरकी अनिता श्रेष्ठले हस्तनिर्मित गहना र गिफ्ट आइटम फेसबुक र इन्स्टाग्राममार्फत बिक्री गर्न थालेको तीन वर्ष भयो । सानो लगानीबाट सुरु भएको उनको व्यवसाय अहिले परिवारको मुख्य आम्दानी स्रोत बनेको छ । “पहिले आफ्नै कमाइ हुँदैनथ्यो,” उनी भन्छिन्, “अहिले घर खर्च, छोराछोरीको पढाइमा खर्च गरी बचत समेत गरिरहेको छु ।”

यस्तै, चन्द्रगिरी नगरपालिका–१२, बलम्बु गुर्जुधाराकी प्रमिला भण्डारी केसीले १५ वर्षदेखि सञ्चालन गर्दै आएको फेन्सी पसललाई तीन वर्षअघि अनलाइनमा विस्तार गरिन् । सुरुमा डिजिटल कारोबारबारे अनुभव नभए पनि ग्राहकको मागअनुसार सेवा सुधार्दै जाँदा अहिले मासिक तीन–चार लाख रुपैयाँसम्म कारोबार हुने गरेको बताउँछिन् । उनका अनुसार अनलाइन अर्डरमा ‘फ्री डेलिभरी’, होलसेल सेवा र सामाजिक सञ्जालमार्फत प्रत्यक्ष ग्राहकसँग संवाद गर्न पाउनु सफलताको मुख्य कारण बनेको छ । “डिजिटल बजारले समयको लचकता दिएको छ । घर र व्यवसाय दुवै सम्हाल्न सजिलो भएको छ,” उनी भन्छिन् ।

काठमाडौं महानगरका विभिन्न वडामा बसोबास गर्ने महिला अनलाइनबाट कपडा व्यापार, मेकअप सेवा, डिजिटल मार्केटिङ र कन्टेन्ट लेखनमा सक्रिय देखिन्छन् । इन्टरनेट पहुँच र स्मार्टफोनको प्रयोग बढेसँगै महिला डिजिटल अर्थतन्त्रतर्फ आकर्षित भएका हुन् । घर–परिवार र कामबीच सन्तुलन मिलाउन सकिने भएकाले यो विकल्प व्यवहारिक भएको उनीहरूको भनाइ छ ।

पाटनकी जरिना श्रेष्ठ विवाह पहिले थान्कासम्बन्धी काम गर्थिन् । बिहेपछि उनी सुन–चाँदी व्यवसायमा लागिन् । जरिनाको अहिले आफ्नो छुट्टै कम्पनी छ । परिवारको सहयोग नभए पनि व्यवसाय सुरु गरेका र सञ्चालन गरिरहेका महिला समाजमा धेरै छन् । पारिवारिक सहयोगमा व्यवसाय गर्दा अझै सहज हुने अनुभव श्रेष्ठको छ । उनी भन्छिन्– “व्यवसाय सुरु गरेपछि आम्दानी गर्न सकिन्छ, तर महिलालाई सुरुमा पुँजी जुटाउनै गाह्रो पर्छ ।”
महिला उद्यमीलाई राज्यले प्राथमिकता दिँदा महिला उद्यमीको संख्या बर्सेनि बढिरहेको छ । बाबु वा श्रीमान्को नाममा सम्पत्ति हुँदा महिलाले ऋण लिएर व्यवसाय सुरु गर्नसक्ने अवस्था छैन, आफ्नो नाममा सम्पति छैन । जरिना भन्छिन्– “धेरै महिला जोखिम लिन डराएका छन्, उनीहरुमा आत्मविश्वास बढाउनुपर्ने खाँचो छ ।”

आर्थिक स्वतन्त्रतासँगै सामाजिक सशक्तीकरण
डिजिटल उद्यमशीलताले महिलालाई केवल आम्दानीको स्रोत दिएको मात्र छैन, परिवारभित्रको निर्णय प्रक्रियामा पनि भूमिका बढाएको छ । आफ्नै कमाइ भएपछि महिलाहरूले छोराछोरीको शिक्षा, स्वास्थ्य र भविष्यका योजनामा सक्रिय सहभागिता जनाउन थालेका छन् ।

काठमाडौं महानगरपालिकाका विभिन्न वडामा बसोबास गर्ने महिला अहिले अनलाइन कपडा व्यापार, मेकअप सेवा, डिजिटल मार्केटिङ, कन्टेन्ट लेखन, ग्राफिक डिजाइन र युट्युबमार्फत आय–आर्जन गरिरहेका छन् । कतिपयले अनलाइन र फिजिकल व्यापार दुवै सञ्चालन गरी महिनामा चार–पाँच लाख रुपैयाँसम्म कमाइ गर्ने गरेका छन् ।
कतिपय महिलाले खाना बनाउने रेसिपी र तरिकासमेत युट्यूवमार्फत शेयर गरेर आम्दानी गरिरहेका छन् । यसले महिलाको सीपलाई बजारसँग जोड्दै आत्मनिर्भरता र पहिचान दुवै दिएको छ ।
तथ्यांकले देखाएको अवस्था
राष्ट्रिय तथ्यांक कार्यालयको श्रम सर्वेक्षणअनुसार सूचना तथा सञ्चार उद्योगमा महिलाको उपस्थिति अझै न्यून छ । राष्ट्रिय जनगणना २०७८ अनुसार उच्च तहमा कम्प्युटर तथा सूचना प्रविधि अध्ययन गर्ने महिलाको संख्या सीमित रहेको तथ्यले देखाउँछ कि डिजिटल प्लेटफर्ममा अनौपचारिक सहभागिता बढेपनि औपचारिक आईटी क्षेत्रमा समानता अझै चुनौतीपूर्ण छ । डिजिटल प्लेटफर्ममार्फत आत्मनिर्भर बन्दै गएका महिलाहरूले आर्थिक गतिशीलतामा ऊर्जा थपिरहेका छन् ।

तर राष्ट्रिय तथ्यांकले देखाएको स्थिति फरक छ । महिलाले गरेका यस्ता डिजिटल व्यापार वा व्यवसाय कतैपनि दर्ता गरिएको छैन, त्यसैले राज्य र अन्य निकायले गर्ने सर्वेहरूमा उनीहरूको तथ्याङ्क अभिलेख भएको छैन ।
राष्ट्रिय तथ्यांक कार्यालयको श्रम सर्वेक्षण (२०१७÷१८) अनुसार, नेपाली सूचना तथा सञ्चार उद्योगमा महिलाको उपस्थिति ०.५ प्रतिशत मात्र छ । नेतृत्व तहमा यो संख्या ७.८८ प्रतिशत मात्र छ । डब्लूआईआईटीको सन् २०२५ को प्रतिवेदन ‘ब्यारियर्स टु ब्रेकथ्रुज् वुमन इन नेपाल्स इन्फर्मेसन एन्ड कम्युनिकेसन टेक्नोलोजी ल्यान्डस्केप’ ले आईटी कम्पनीमा स्पष्ट लैङ्गिक मैत्री नीति र अवसरको अभावका कारण महिलाको उपस्थिति न्यून रहेको देखाएको छ ।

“कलेज तहमा नै आईटी इन्जिनियरिङ पढ्ने छात्राहरूको संख्या कम हुने छात्रा अमृता शर्मा बताउँछिन् । उनले भनिन्– “विवाह, सन्तान र परिवार सम्हाल्नुपर्ने जिम्मेवारीका कारण पेशाबाट पलायन हुनुपर्ने समस्या पनि छ ।”
राष्ट्रिय जनगणना, २०७८ अनुसार, कक्षा ११ देखि माथिल्लो तहमा कम्प्युटर तथा सूचना प्रविधि पढेका महिलाको संख्या २४.१४ प्रतिशत मात्रै छ । डब्लूआईआईटीको दुई वर्षअघिको सर्वेक्षणमा सहभागी ७७.४ प्रतिशत आईटी कम्पनीसँग महिला कर्मचारी भर्ना गर्न कुनै विशेष प्रावधान नभएको देखिएको थियो । यी तथ्यांकले देखाउँछन् कि डिजिटल प्लेटफर्मले महिलालाई आर्थिक अवसर प्रदान गर्दै आएपनि आईटी क्षेत्रमा उनीहरुको सहभागिता अझै चुनौतीपूर्ण छ ।

चुनौती र सम्भावना
डिजिटल सीपको अभाव, अनलाइन ठगी, भुक्तानी प्रणालीको जटिलता, डेलिभरी व्यवस्थापन र प्रतिस्पर्धा जस्ता समस्या छन् । तर स्थानीय तहले दिने सीपमूलक तालिम, सहुलियत ऋण र महिला–मैत्री नीतिले यो यात्रा सहज बनाउन सक्छ । राज्य, निजी क्षेत्र र समुदायबीच सहकार्य सुदृढ भयो भने डिजिटल बजार हजारौं महिलाका लागि दिगो रोजगारी र आत्मसम्मानको आधार बन्न सक्छ ।

 

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  ८ : २७ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री