सरिता दाहाल
हजुरआमाले आजन्म घरको चाबी बोक्नुभयो
भान्साको वासना र स्वाद बाँड्नुभयो
करेसाबारीको हरियाली सारसज्जा
घर, आँगन, बैठक र शयन कक्षको सफाचट
पाहुनाको आदर
परिवारको भोक-प्यास
सबै सबैको स्पष्ट हिसाब थियो हजुरआमासँग
तर,
हजुरआमाले कहिल्यै त्यो हिसाबको ‘हिसाब’ पाउनु भएन
त्यो पसिनाको मूल्य
त्यो त्यागको फल
कहिल्यै जोडिएन उहाँको हिसाबमा
बस् डेबिट क्रेडिटको सन्तुलित खाता बन्यो
महिला इज कल टु घर भान्सा । (महिला . घर भान्सा)
घरायसी बन्धनको हिसाब आमालाई थाहा छ-
सामाजिक संस्कार,
सम्बन्धहरूको गहिराइ,
समझदारी, सहानुभूति, भरोसा, सम्मान,
सबैको जोड, घटाउ, गुणा, भाग थाहा छ आमालाई,
उहाँलाई उत्साह, उमङ्ग, हाँस्यको आयव्यय पनि थाहा छ
आमालाई थाहा छ –
घर खर्च कसरी चलाउने रु
आयको स्रोत के हो रु
व्ययको बाटो के हो रु
आम्दानी कसरी जुटाउने, बचत कसरी गर्ने रु
गर्जो कसरी टार्ने सबै सबै ।
चुल्होमा आगो दन्काउने कसरी रु
अन्नपात थन्काउने कसरी रु
आफ्नाहरूबीचको सम्बन्ध चम्काउने कसरी रु
उहाँको दिलमै हुन्छ खर्चको बिल
मानसपटलमै हुन्छ ऋणको जरीवाना
सबै हिसाबको हेक्का छ आमालाई ।
तर
उहाँको हिसाबको हिसाब रु
अहँ कतै छैन
साँचो अर्थमा आमासँग सबै छ( तर, आमा शून्यतामा ।
आमाभित्रको सहनशीलता नामको पानीले निभाइरह्यो
हर हिसाबको निसाफ
उहाँ भित्रको चेतनाको आगो
छोपिरह्यो जिम्मेवारी नामको खरानीले
आफूभित्रको खुसी उत्साहहरूलाई माइनस गर्दै
बस्नुहुन्छ आमा भान्सा र भण्डारसँगै
आफ्नै मुखमा ताला लगाएर
अनि जतन गरेर राख्नुहुन्छ समाजको सहानुभूतिको गहना ।
म त्यै सहानुभूति तोडेर
घरधन्दासँगै आफूलाई समाजसँग जोडेर
व्यापार, राजनीति, प्राध्यापन, पत्रकारिता, वकालत सर्वत्र जोडिन्छु
मसँग छ न्याय र निर्णय लेख्ने कलम
मसँग छ विधि र विधान लेख्ने कौशलता
म राख्न सक्छु हिसाब न्याय र निसाफको
म राख्न सक्छु हिसाब
घरधन्दा, समाज र राष्ट्र निर्माणको
परराष्ट्र र भूराजनीतिको
लिङ्ग र लैङ्गिकताको
समता र समानताको
मिलाउन सक्छु हिसाब डेबिट र क्रेडिट
मिलाउँछु सक्छु व्यक्ति, घर, समाज, राष्ट्रको
हिसाबहरू भित्रको ‘हिसाब’ डेबिट क्रेडिट र बहिखाता
देख्न सक्छु संस्कारजन्य भेद
देख्न सक्छु मान्छे(मान्छेबीचको विभेद
बुझ्न सक्छु भूगोल र रङ्गको विभाजनयुक्त हिसाब
ओकल्न सक्छु झोस्न सक्छु
हजुरआमा र आमाहरूले छोपेर राख्नुभएको आगोको झिल्को
बोल्न सक्छु उहाँहरूले थामेर राख्नुभएको सर्वोपरि न्यायको आवाज
खोज्न सक्छु ती हिसाबहरूको ‘हिसाब’
राख्न सक्छु ती हिसाबहरूको ‘हिसाब’
हो घरधन्दा मात्रै हैन अब हिसाब किताब पनि मेरो ।






प्रतिक्रिया