प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिमा सांसदहरूले धारणा राख्दा मर्यादित भाषा बोल्नुपर्ने भएको छ ।
समितिकी सभापति समीक्षा बास्कोटाले समिति बैठकमा बोल्दा मर्यादित भाषा र उचित व्यवहार प्रयोग गर्न समितिको शुक्रबार सिंहदरबारमा जारी बैठकमा रुलिङ गरेकी हुन्।
समितिको पछिल्लो बैठकमा सांसदहरूले आमन्त्रित व्यक्तिहरूमाथि तिखो टिप्पणी गर्ने र विषयान्तर हुने क्रम बढेपछि सभापति बास्कोटाले भाषा र शैलीमा संवेदनशीलता अपनाउन रुलिङ गरेकी हुन् ।
‘समितिमा हामीले आमन्त्रित गर्ने व्यक्तिहरू कुनै न कुनै संगठन वा निकायका प्रमुख रहेर काम गरिरहनुभएको हुन्छ। यहाँ हामीले प्रयोग गर्ने भाषा, शब्द र व्यवहारलाई आम नागरिकले पनि हेरिरहेका हुन्छन्,’ सभापति बास्कोटाले भनिन्, ‘त्यसैले विषयान्तर नभई मर्यादित र संवेदनशील भएर विषय उठान गर्न माननीय सदस्यहरू र आमन्त्रित व्यक्तित्वहरूमा हार्दिक अनुरोध गर्दछु।’
पछिल्लो समय संसदीय समितिहरूमा उग्र र अमर्यादित बहस हुने गरेको भन्दै आलोचना भइरहेका बेला कानुन समिति सभापति बास्कोटाले समितिका सदस्यहरूलाई मर्यादित भाषा प्रयोग गर्न सचेत बनाएकी हुन् ।
समितिको शुक्रबारको बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन–२०८३ उपर छलफल र सुझाव सङ्कलन भइरहेको छ । बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिबाट पेस भएको प्रतिवेदन–२०८३ लाई पारित गर्ने कार्यसूची बैठकको छ ।




प्रतिक्रिया