काठमाडौं । भोटेकोशीमा आएको बाढीको एक महिना पूरा भएको सन्दर्भमा जलवायुजन्य विपद्बाट प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता प्रकट गर्न काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा सामूहिक दीप प्रज्वलन कार्यक्रम आयोजना गरिने भएको छ।
जलवायु परिवर्तनबाट प्रभावित श्रमिक, महिला, सीमान्तकृत तथा हिमाली क्षेत्रका समुदायको अधिकार र जलवायु न्यायका पक्षमा आवाज उठाउँदै आएका विभिन्न संघसंस्थाको संयुक्त पहलमा कार्यक्रम आयोजना गर्न लागिएको हो।
बुधबार काठमाडाैमा पत्रकार सम्मेलन गर्दै दीप प्रज्वलनबारे जानकारी दिइएकाे हाे । एक्शनएड नेपाल, महिला एकता समाज, मकवानपुर महिला उत्थान समाज, चितवन सक्रिय महिला प्रतिष्ठान र युथ एड्भोकेसी नेपाललगायत संस्थाको संयुक्त आयोजनामा ‘जलवायु न्याय अभियानका लागि ऐक्यबद्धता तथा सामूहिक दीप प्रज्वलन’ गर्न लागिएकाे हाे । कार्यक्रम १६ असोज २०८३ (२ अक्टोबर २०२६) शुक्रबार दिउँसो ३ बजेदेखि वसन्तपुर दरबार क्षेत्रमा हुनेछ।
जलवायुजन्य विपद्बाट प्रभावित परिवार तथा समुदायको पीडा र संघर्षलाई स्मरण गर्दै उनीहरूप्रति ऐक्यबद्धता जनाउनु, प्रभावित समुदायको अधिकार र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न आवाज उठाउनु तथा जलवायु न्यायको मागलाई सामूहिक रूपमा सशक्त बनाउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ।
श्रमिक महिलाको दैनिकीमा जलवायु परिवर्तनको असर
सञ्चारिका समूह नेपालकी अध्यक्ष कमला पन्थीले जलवायु परिवर्तनका कारण श्रमिक महिलाको दैनिक जीवन र जीविकोपार्जनमा प्रत्यक्ष असर परिरहेको बताइन्। समयमा वर्षा नहुने, बाढी आउने तथा अन्य प्राकृतिक विपद्का कारण महिलाको दैनिकी थप कठिन बन्दै गएको उनको भनाइ थियो।

भोटेकोशीमा आएको बाढीले ठूलो क्षति पुर्याएको उल्लेख गर्दै उनले जलवायुजन्य विपद्बाट प्रभावित समुदायले न्याय पाउनुपर्नेमा जोड दिइन्। जलवायु न्यायका सम्बन्धमा नेपालले अन्तर्राष्ट्रिय तहमा उठाउँदै आएको आवाजले प्रभावित समुदायका मुद्दालाई थप बल पुग्ने उनको भनाइ थियो।
युथ एड्भोकेसी नेपालका अध्यक्ष गणेश धामीले जलवायु परिवर्तनको विषय भू–राजनीतिसँग पनि जोडिएको बताए। विकासका नाममा हुने विनाशका कारण सीमान्तकृत समुदाय थप पछाडि पर्दै गएको उल्लेख गर्दै उनले विकास तथा आर्थिक मोडेललाई वातावरण र सामाजिक न्यायमैत्री बनाउनुपर्नेमा जोड दिए।

उनका अनुसार हिमाली क्षेत्रमा बसोबास गर्ने समुदाय जलवायु परिवर्तनको प्रभावबाट बढी प्रभावित भइरहेका छन्। जलवायु परिवर्तनले गरिबीलाई थप गहिरो बनाइरहेको भन्दै उनले प्रभावित समुदायको आर्थिक तथा सामाजिक अधिकार सुनिश्चित गर्नुपर्ने बताए।
एक्शनएड नेपालका राहुल देवानले सीमान्तकृत तथा अल्पसंख्यक समुदाय जलवायु परिवर्तनका प्रभावबाट तुलनात्मक रूपमा बढी प्रभावित भइरहेको बताए। प्रभावित समुदायलाई न्याय दिलाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा उनीहरूको आवाज प्रभावकारी ढंगले उठाउन आवश्यक रहेको उनको भनाइ थियो।

प्रदूषकलाई जवाफदेही बनाउनुपर्ने माग
कार्यक्रममा बाढी तथा अन्य जलवायुजन्य विपद्बाट भएको क्षतिको प्रभावकारी सम्बोधन, प्रभावित परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने र प्रदूषकलाई जवाफदेही बनाउने विषयलाई प्राथमिकताका साथ उठाइएको थियो।
जलवायु परिवर्तनमा बढी योगदान गर्ने पक्षले त्यसबाट प्रभावित समुदायप्रति आफ्नो जिम्मेवारी लिनुपर्ने सहभागीहरूको भनाइ थियो। नेपालले विश्वव्यापी जलवायु परिवर्तनमा तुलनात्मक रूपमा न्यून योगदान गरे पनि जलवायुजन्य विपद्को असमान भार नेपाली समुदायले वहन गरिरहेको आयोजक संस्थाहरूले बताएका छन्।
नेपाल महिला एकता समाजकी मनिका श्रेष्ठले वातावरणमैत्री कृषि, रैथाने उत्पादन तथा साझा स्रोत संरक्षणको अभियानलाई समुदायस्तरमै विस्तार गर्नुपर्ने बताइन्। स्थानीय तह र समुदायसँगको समन्वयमा जलवायु न्यायको अभियानलाई प्रभावकारी बनाउँदै आएको उनले जानकारी दिइन्।

तीन प्रमुख माग अघि सारिने
वसन्तपुरमा आयोजना हुने दीप प्रज्वलन कार्यक्रममार्फत प्रभावित समुदायको अधिकार, मर्यादा, सुरक्षा तथा जीविकोपार्जन सुनिश्चित गर्नुपर्ने माग अघि सारिनेछ।
त्यसैगरी पुनर्स्थापना, अनुकूलन तथा जलवायुजन्य हानि–नोक्सानीको सम्बोधनका लागि पर्याप्त, सहज र अनुदानमा आधारित जलवायु वित्त उपलब्ध गराउनुपर्ने माग पनि उठाइनेछ। प्रमुख उत्सर्जकहरूले उत्सर्जन घटाउँदै जलवायु संकटबाट सिर्जित क्षतिको उचित जिम्मेवारी लिनुपर्ने मागसमेत अघि सारिने आयोजकले जनाएको छ।

जलवायु न्यायका विषयमा समुदायस्तरमा सचेतना अभिवृद्धि गर्ने, युवाहरूलाई अभिमुखीकरण गर्ने, प्रभावित समुदायमा जलवायु परिवर्तनले पारेको प्रभावबारे छलफल गर्ने तथा उनीहरूको आवाज राष्ट्रिय र अन्तर्राष्ट्रिय तहसम्म पुर्याउने उद्देश्यले एक सातादेखि विभिन्न गतिविधि सञ्चालन गरिएको आयोजकले जनाएको छ।







प्रतिक्रिया