कप्तान सोनी पाख्रिनको उत्कृष्ट अल राउन्ड प्रदर्शनमा नेपालले आज हङकङलाई १ सय ८१ रनको फराकिलो अन्तरले हराएको छ ।
लगातार तेस्रो जितसँगै समूह ुडीु विजेताका रुपमा नेपाल मलेसियामा जारी एसिसी महिला यु १९ प्रिमियर कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
जितको लागि २ सय १२ रनको विशाल लक्ष्य पछाएको हङकङ २० ओभरमा ९ विकेट गुमाउँदै मात्र ३९ रनमा समेटियो। वोङ विङले १३ रन जोडिन्। यसबाहेक अन्यले दोहोरो अंकमा रन छुन सकेनन्।
बलिङमा सोनीले ४ ओभरमा ४ रन मात्र दिएर ४ विकेट लिइन्। मनिषा उपाध्यायले २, कृष्मा गुरुङ र स्नेहा महराले समान विकेट आफ्नो नाममा लेखाए।
त्यसअघि हङकङले टस जितेर फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको नेपालले सोनी र सावित्री धामीको उत्कृष्ट ब्याटिङमा २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ११ रन बनायो।
ओपनर साना प्रवीण ४ रनमा आउट हुँदा नेपालले ६ रन मात्र बनाएको थियो। तर यसपछि दोस्रो विकेटका लागि सावित्री धामी र सोनीले १ सय ३६ रनको सानदार साझेदारी गर्दै नेपालको इनिङसलाई ठुलो योगफलतर्फ डोर्याए।
सावित्रीले ३६ बलमा ६ चौकासहित ५२ रन जोडिन्। उनको यो लगातार तेस्रो अर्धशतक हो। यसअघि कतार र सिंगापुरविरूद्ध पनि उनले अर्धशतक बनाएकी थिइन्।
क्रिजमा टिकेकी सोनीले ९० रनको प्रभावशाली प्रदर्शन गरिन्। उनले ६० बल खेल्दै १३ चौका र १ छक्का प्रहार गरिन्। उनले चौका र छक्काबाट मात्र ५८ रन जोडिन्। शतक नजिक पुगेकी सोनी आर्जु फतिमाको बलमा आउट भइन्।
अलिसा कुमारी यादव अविजित २३ रनमा रहिन्। उनले १२ बल खेल्दै ३ चौका प्रहार गरिन्।बलिङमा निम्ब्रा अरबले २, आर्जु फतिमा र वोङ विङले १र१ विकेट लिए।
नेपाल यसअघि पहिलो खेलमा कतारलाई १ सय ५ र दोस्रो खेलमा सिंगापुरलाई १ सय ५१ रनले हराएको थियो।-Hamrokhelkud






प्रतिक्रिया