काठमाडौँ । अब सुरक्षण मुद्रण केन्द्रले सवारी चालक अनुमति पत्र छाप्ने भएको छ । बुधबार यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेल र केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाबिच बुधबार समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
विभागका निर्देशक नरहरि तिवारीका अनुसार केन्द्रले तत्कालका लागि लाइसेन्स स्मार्ट कार्ड छाप्ने गरी मोटामोटी समझदारी बनेको हो । तिवारीले केन्द्रले पुरानो २५ लाख लाइसेन्समध्ये १२ लाख लाइसेन्स सुरक्षण मुद्रण केन्द्रले छाप्ने सम्झौता भएको बताए । उनका अनुसार ३ देखि ६ महिनामा १२ लाख लाइसेन्स छापेर वितरण गरिनेछ ।
‘केन्द्रसँग लाइसेन्स छाप्नेबारे सम्झौता भएको छ,’ निर्देशक तिवारीले भने, ‘अहिलेलाई १२ लाख कार्ड छाप्ने गरी समझदारी भएको छ, यद्यपि केही प्राविधिक कुराहरू मिलाउन बाँकी छ । छपाइको काम छिट्टै, सम्भवतः एक हप्ताभित्रै सुरु हुन्छ ।’
लामो समयदेखि लाइसेन्स नपाएर सास्ती भोगिरहेका सेवाग्राहीलाई राहत दिने उद्देश्यले यो सम्झौता गरिएको हो । तिवारीका अनुसार तत्काल आवश्यक परेका र लामो समयदेखि प्रतीक्षा सूचीमा रहेका दुवैलाई प्राथमिकतामा राखेर लाइसेन्स वितरण गरिनेछ – Ratopati






प्रतिक्रिया