-उषा किरण पन्थ
एक्ली को?
समाजले सधैं मलाई एक्ली देख्यो।
तर म आफूभित्रै सिङ्गो संसार बोकेर बाँचिरहेकी थिएँ।
चुपचाप, निर्धक्क र निर्विकार।
म अविवाहित थिएँ। छु पनि। र शायद भै रहनेछु।
तर त्यो “अविवाहित” भन्ने शब्द मेरा लागि कहिल्यै अपूर्णताको सूचक बनेन।
म त त्यस्ती अविवाहित थिएँ जसले विवाहको सपना देख्नै सकेन।
न दिवा, न रात्रिकालीन।
विवाह मेरा आँखाको सपना कहिल्यै बन्न सकेन।
आजभोलि मेरा स्कूले दिनहरू धेरै झल्किन थालेका छन्।
कति साथीहरू। जो पन्ध्र–सोह्र वर्षमै विवाहको रङ्गीन संसारमा प्रवेश गरेका थिए।
कोही बाबुआमाको इशारामा,
कोही आफ्नै बाल मनको सपनामा।
त्यो बेला, म उनीहरूलाई बाल्यकालमै वयस्क बन्ने प्रयासमा देख्थेँ।
तर समाजले त तिनलाई “सम्झदारी देखाउने” भनेर पुरस्कृत गरिरहेको थियो।
कसैले “समयमै” विवाह गरेको गर्व पाएको थियो,
कसैले प्रेम विवाह गरेर आधुनिकताको टिकट काटेको थियो।
तर तीन, चार वर्ष नबित्दै
उनीहरूकै आँखामा रित्तिएको सपना देख्न थालेँ।
मौन नजर, अधुरो मुस्कान, निन्द्राविहीन रातहरू,
र छातीभित्र थुनिएको भारी।
जुन उनीहरूले कहिल्यै खुलेर भन्न सकेनन्।
कतिले साहस गरेर भने।
“हामीले बुझेनौं, बाल्यावस्थामै ठुलो निर्णय गरियो।”
कतिले लाजै मान्न छोडे।
किनभने उनीहरूको दुःख अब निजी थिएन, सार्वजनिक भइसकेको थियो।
म तिनलाई हेर्दै हुर्किएँ।
र उनीहरूको अनुभव, उनीहरूको मौनता, उनीहरूको अधुरो यात्रा
मेरो मानसपटलमा दागझैं बस्दै गयो।
र त्यो दागबाट टाँसिएर उमारियो।
एक गहिरो निष्कर्ष।
विवाह सुखको गन्तव्य होइन।
यो त समाजले बनाएको एउटा संहितामात्र हो।
जहाँ नारीको जीवन अरूका अपेक्षाले लेखिन्छ।
त्यसैले ममा विवाहप्रतिको मोह नै पलाएन।
न विवाहप्रतिको आकांक्षा,
न त्यसमा आशा अपेक्षा।
म हुर्किँदै गर्दा,
मेरो समाजमा विविध स्वरहरू गुञ्जन्थे
“फलानाको छोरीको विवाह भयो रे। कति सुन्दर जोडी!”
“फलानाको छोराको विवाह भयो रे। भाग्यमानी बाबुआमा!”
अचेल उही स्वरहरू फिर्ता आइरहेका छन्।
तर अर्थ उल्टिएको छ।
कसैले भन्न थालेका छन्।
“मेरो छोरीको विवाह त भयो, तर टुट्यो।”
“विवाह त भयो, तर सम्बन्ध छैन,
घर एउटै छ, मन टाढा छ।
सँगै छन्, तर सँगै हुनुको अर्थ छैन।”
यी वाक्यहरू जब म सुनिरहन्छु,
तब म आफूभित्र फर्फराउने स्वरसँग गफिन्छु।
साँचो सफलता सम्बन्ध गाँस्नमा होइन,
आफूभित्र हराउन नदिनेमा हो।
म आज पनि एक्ली छु।
तर त्यो एक्लोपन,
मेरा लागि पश्चाताप होइन।
बरु शान्त आत्मस्वीकृति हो।
म सम्बन्धहीन छु।
तर प्रश्नविहीन।
किनभने मैले विवाहको सट्टा
स्वतन्त्रता रोजेँ।
मैले सँगै हिँड्ने कोही नचाहेर होइन,
आफ्नै बाटो बनाउने साहस लिएर
अनुशासित, निर्णायक जीवन रोजेँ।
म अहिले पनि चिया पकाउँछु। एक्लै।
तर त्यो चिया चिसो हुँदैन।
किनभने त्यो कपमा मेरो आत्माको ताप हुन्छ।
म आफैँसँग कुरा गर्छु,
मनभित्र हाँस्छु,
आँसु पनि बगाउँछु।
तर त्यो आँसु पछुतोको हुँदैन,
गर्वको हुन्छ।
गर्व छ मलाई।
कि म विवाहको नाममा आफूलाई हराउन पुगेनँ।
गर्व छ।
कि मैले आफैँसँगको सम्बन्ध कहिल्यै तोडिनँ।
आज भेट हुँदा,
मेरा पुराना साथीहरू
जो मलाई कहिल्यै बुझ्न सकेनन्,
आज उनीहरू आफैं आफ्ना निर्णयहरूको पछुतोमा डुबेका छन्।
कोही सम्बन्धविहीन भएर पनि सामाजिक दबाबले थिचिएका छन्,
कोही सम्बन्धमा बाँधिएर आत्मा गुमाएका छन्।
उनीहरू विवाहित छन्,
तर भित्रभित्रै कति एक्ला छन्।
शब्दविहीन, स्वरहीन, सहाराहीन।
र म?
म अविवाहित छु।
तर एक्ली होइन।
समाजले मलाई अझै पनि “एक्ली” भन्छ।
किनभने उसले मेरो भित्र देख्दैन।
मभित्र उम्लिएको त्यो स्वाभिमान,
आफ्नै निर्णयमा चढिएको यात्रा,
र आत्मामा पलाएका सिङ्गो संसार।
उनीहरू विवाहित छन्।
तर आत्महीन।
म एक्ली छु।
तर आत्माभरिपूर्ण।
र आज म ढुक्क भएर सोध्न सक्छु।
“एक्ली को?”
यो लेखी रहँदा विवाहको विरोध गरेको होइन। विवाह गर्ने हरूलाई उज्ज्वल भविष्यको कामना। कोही एक्ली अनुभूति गर्नु नपरोस्। कसैमा एक्लोपन नआवस्। तर विवाह नगर्नेलाई एकलकाँटे भनेर उपमा दिँदै गर्दा यो भन्न अति आवश्यक छ। आजको २१औं शताब्दीमा आइपुग्दा विवाह नगरेका एक्ला होइनन्। विवाह गरेका एक्लोपनमा डुबेका छन्। दिनप्रतिदिन सम्बन्धकै कारण डिप्रेसनमा जाँदै छन्। कतिले आफूलाई दरिलो पार्दै पारपाचुके गरेका छन्, कति छोराछोरीको भविष्यका लागि आफू एक्लिएर पनि सँगै छन्। कतिले समाज र मानप्रतिष्ठामा आँच आउने भन्दै मन नमिले पनि तन मिलाउन बाध्य छन्। यसरी बाहिर निकै आदर्श देखिएका व्यक्तिका सम्बन्ध वास्तवमा एकल छन्। त्यसैले यो एक्ली को हो भन्ने सवालको जवाफ मात्र हो।
अर्कातिर मलाई बुढेसकालको डर देखाउने धेरै नभएका पनि होइनन्! बुढेसकालको सहारा के गर्छेस्? यो भन्नेलाई मैले सहज जवाफ दिने गरेको छु– १२ छोरा १३ नाति बुढेसकालमा हालत आफैंमाथि। आज एकलदेखि सिङ्गो सन्तान जन्माएर तिनै सन्तानका लागि संसार देखेका सम्पत्तिको थुप्रो लगाइदिएका बाबुआमा आज एक्लै बिस्तारामा छट्पटाइरहेको तीतो यथार्थ हाम्रै समाजमा जीवन्त छ।
अन्तत:
ऊ?
जो सँगै छ भनिए पनि सँगै छैन?
ऊ?
जो सम्बन्धभित्र छ भनिए पनि, आफैँसँग छैन?
कि म?
जो एक्लै हिँडिरहेकी छु,
तर आफ्नै निर्णयमा उभिएको छु?
एक्लोपन दृश्य होइन,
अदृश्य अनुभूति हो।
साँचो एक्लोपन त्यो हो
जहाँ तपाईं आफैँलाई हराउनुहुन्छ।
र साँचो साथ त्यो हो।
जहाँ तपाईं आफैँलाई भेटिरहनुहुन्छ।
र म आज हर्षका साथ भन्न सक्छु।
म आफैँलाई भेटेकी छु।
र त्योभन्दा ठूलो साथ,
संसारमा अरू केही हुँदैन।






प्रतिक्रिया