विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्र्कीले कोशी प्रदेश सरकार पत्रकार महिलाहरूको क्षमता अभिवृद्धि गर्न र पत्रकारितामा महिलाहरूलाई अगाडि बढाउन प्रतिबद्ध रहेको बताएका छन् ।
सञ्चारिका समूहका केन्द्रीय तथा प्रदेशका पदाधिकारीहरूले बुझाएको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कार्र्कीले प्रदेश सरकारले आफ्नो स्रोत साधनले भ्याएसम्म पत्रकार महिलाहरूको हितमा काम गर्ने बताए ।
प्रदेश सरकारले कानुनमार्फत बनाउन लागेको पत्रकारिता प्रतिष्ठान मार्फत पनि पत्रकारको हितमा काम गर्ने तयारी गरिएको बताए । उनले भने, ‘लैङ्गिक मैत्री कानुन बनाउन र महिलाहरूलाई सञ्चार क्षेत्रमा सुरक्षित वातावरण र आर्थिक विषयमा सबल बनाउनका निमित्त हाम्रो तर्फबाट पहल हुनेछ । हामी सिंगो पत्रकारिता क्षेत्र सँगै अझै त्यसमा पनि महिलाहरुलाई बिशेष प्राथमिकता दिएर काम गर्न आफ्नो तर्फबाट सक्दो पहल र प्रयत्न गर्न तयार छौं । प्रदेश सरकार सञ्चारिका समूहलाई सहयोग गर्न तयार छ ।’
कार्यक्रममा सञ्चारिका समूहकी महासचिव राधा खनालले पत्रकार महिलाहरूका विविध विषयलाई समेटेर ज्ञापनपत्र बुझाएकी थिइन् । समावेशी समाज निर्माण गर्नमा सरोकारवालाहरुसँग लैङ्गिकमैत्री कानुनका लागि पैरवी गर्दै आएको उल्लेख गर्दै स्थापनाकालदेखिनै सञ्चारिकाले सञ्चारमाध्यममा महिलाका मुद्दा प्रवाहिकरण गर्न निरन्तर पहल गर्दै आइरहेको उनले बताइन् । उनले भनिन्, ‘पछिल्लो समय सञ्चारिका समुहले पत्रकार महिलालाई निर्णयक तहमा पु¥याउनका लागि पूर्वाधार निर्माणसँगै पत्रकार महिलाको क्षमता र दक्षताका पक्षमा वकालत गर्ने काम गरिरहेको छ । प्रदेश सरकारले आगामी दिनहरुमा सञ्चारिका समूह नेपाललाई आवश्यक सहयोग गर्नुहुन्छ भन्नेमा हामी विश्वस्त छौँ ।’ ज्ञापनपत्र बुझाउने कार्यक्रममा संचारिका समूहकी कोषाध्यक्ष साजना तामाङ, कोशी प्रदेश अध्यक्ष तारा आचार्य, मोरङ जिल्ला अध्यक्ष बिनु तिमिल्सिना लगायतका पदाधिकारीहरू सहभागी थिए ।






प्रतिक्रिया