काठमाडौं । महिला पुनःस्थापना केन्द्र (ओरेक)ले वैदेशिक रोजगारीमा गएका नेपाली महिला घरेलु श्रमिकको मृत्यु र त्यसले उनीहरूको परिवारमा पारेको सामाजिक, आर्थिक र भावनात्मक असरबारे विस्तृत अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।
१७ वटा घटनामा आधारित रहेर ‘अदृश्य जीवन र मृत्युः नेपाली महिला आप्रवासी घरेलु श्रमिकहरूको मृत्यु र उनीहरूको परिवारको सन्दर्भ’ शीर्षकको प्रतिवेदन सार्वजनिक भएको हो । प्रतिवेदनमा विदेशमा श्रमिक महिलाको मृत्यु पछाडिको कारण अस्पष्ट र अपारदर्शी हुने, परिवारले न्याय र क्षतिपूर्ति पाउन गाह्रो हुने, र सम्बन्धित राज्य संयन्त्रको भूमिका कमजोर रहेको उल्लेख छ ।
अध्ययनमा संलग्न अनुसन्धान टोलीले महिला श्रमिकको श्रम, जीवन र मृत्युलाई गम्भीरतापूर्वक नियाल्दै नीतिगत सुधारको आवश्यकता औंल्याएको छ । ओरेकका अनुसार धेरैजसो घटनामा श्रमिकको मृत्यु पश्चात परिवारलाई सूचना ढिलो प्राप्त हुने, अपूरो विवरण आउने र कानुनी सहायता अभावमा न्यायमा पहुँच नपाउने समस्या देखिएको छ । साथै, दूतावास र सम्बन्धित निकायहरूबीच समन्वयको अभाव, प्रक्रियागत जटिलता र पारदर्शी प्रणालीको कमीले पीडित परिवार झन् मारमा पर्ने गरेको प्रतिवेदनले देखाएको छ ।
ओरेकले महिला श्रमिकको सुरक्षा, सम्मान र अधिकार सुनिश्चित गर्न श्रम आप्रवासन नीति सुधार गर्न, पीडित परिवारलाई सहज र पारदर्शी क्षतिपूर्ति प्रदान गर्न तथा मृत्युपछि प्रभावकारी अनुसन्धान प्रक्रिया सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।







प्रतिक्रिया