बुटवल, पत्रकार महिलाहरुको साझा संस्था संचारिका समूह नेपालले सबै संचार गृहहरुमा लैंगिक नीति बनाउन माग गरेको छ । संचार गृहमा लैंगिक समानता तथा सामाजिक समावेशीकरणमैत्री वातावरण निर्माण गर्न लैंगिक नीति आवश्यक रहेको संचारिका समूहले जनाएको छ । संविधानको मर्मलाई आत्मसाथ गर्दै संचार माध्ययमप्रति सबै लिंग, जाति र समुदायले अपनत्व महसुस गराउन संचारगृहमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण कायम गर्नुपर्नेमा संचारिकाले जोड़ दिएको छ।संचारिका समूहले बुधबार बुटवलमा लुम्बिनी प्रदेशका संचार गृह, संचार सम्बन्ध संघसस्था, पत्रकार महासंघ र पत्रकार महिलाबीच अन्तर संवाद कार्यक्रम आयोजना गरेको थियो । अन्तरसंवादमा संचारिका समूहका केन्द्रीय अध्यक्ष कमला पन्थीले सबै सञ्चार गृहमा लैंगिककमैत्रीको वातावरण बनाउन लैंगिक नीति बनाउन आवस्यक रहेको बताउनु भयो । अध्यक्ष पन्थीले संचारगृहमा लैंगिक नीति बनाउनु महिलाकालागि मात्र नभएर पुरुष र अन्य लिंगी एवं सामाजिक विविधतालाई सम्बोधन गर्नुपर्ने बताउनुभयो ।
अन्तरसंवाद कार्यक्रममा बोल्दै लुम्बिनी संचार समन्वय परिषदका अध्यक्ष मीलन गाहले संविधानले नै सबै क्षेत्रमा लैंगिक समानता र सामाजिक समावेशीकरण कायम गर्न माग गरेका बेला संचार गृहहरुले त्यसको पालना गर्नुपर्ने बताउनुभयो । संचार माध्यम समाजको ऐना भएको बताउदै उहाँले संचार माध्यममा सबैको पहुँच र अपनत्व महसुस गराउन पनि लैंगिक नीति कार्यान्वयनमा आफूले सघाउने बताउनुभयो ।
लुम्बिनी प्रकाशन तथा प्रशारण समाज लुम्बिनीका अध्यक्ष नवराज कुँवरले संचारगृहलाई लैंगिकमैत्री बनाउन समाज प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले आफू सम्मिलित बुटवल टुडेमा लिखित कागजात नभएपनि संचारमाध्ययलाई महिला, अपांगता, सिमान्तकृतमैत्री बनाउन कुनै कसर नछोडेको बताउनुभयो ।
राष्ट्रिय टेलिभिजन एशोशीएसनका केन्द्रीय उपाध्यक्ष विष्णु भुसाल र लुम्बिनीका अध्यक्ष गोपाल ज्ञवालीले संचार गृह धराशायी भएका बेला संचार गृह टिकाउने र बिकाउने गराउन सबैले पहल गर्नुपर्ने बताउनुभयो ।
पत्रकार महासंघ लुम्बिनीका उपाध्यक्ष रामप्रसाद आचार्य र पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वाश ढकालले लैंगिक र सामाजिक समावेशीकरणमैत्री संचार गृह अहिलेको आवश्यकता रहेको बताउदै संचारिका समूहको अभियानलाई साथ दिने बताउनुभयो ।
बिटिभीका नवराज भुसाल, जागरण मिडिया सेन्टरका विनोद परियार, बुटवल टुडेका माया केसी, रुपन्देही अनलाइनका उर्मिला यादव, डोल्मा चौधरी, निरा गौतम लगायतले मिडियामा लैंगिकता र सामाजिक समावेशीकरण एवं त्यसमा आफ्नो कार्यअनुभव राख्नुभएको थियो ।इंटरनेशनल अलर्टकी प्रतिष्ठा थापाले संचार गृहमा भौतिक उपस्थिति, मिडिया सामाग्री र वातावरण तीनवटै विषय लैंगिक र सामाजिक समावेशीकरणमैत्री भए त्यसको प्रतिफल संचारगृहले नै पाउने बताउनुभयो ।
संचारिका समूह नेपालका केन्द्रीय सदस्य कल्पना शर्मा र संचारिका समूह लुम्बिनी प्रदेशकी अध्यक्ष अमृता अनमोलले संचार गृहमा लैंगिक वातावरण हुँदाका सहजता र नहुदाका असहजताबारे बताउनुभयो ।
संचारिका समूहले पछिल्लो समयमा संचार गृहमा लैंगिक नीति बनाउन, समान कामको समान ज्याला निर्धारण गर्न, पत्रकार महिलाको क्षमता अभिवृद्धिका लागि आवश्यक तालिमको व्यवस्था गर्न ,पत्रकार महिलाको सञ्चार माध्यमबाट पलायन हुनेक्रम रोक्न, पेशागत रुपमा स्थायित्व हुने गरी रोजगारीको शुनिश्चितता गर्न, सरकारी नियुक्तिहरुमा पत्रकार महिलालाई प्राथमिकता दिन, कार्यस्थलमा हुने हिंसा तथा समाचार लेखे वापत आउने धम्की तथा हुनसक्ने जोखिम व्यवस्थापनका लागि उजुरी गर्ने संयन्त्र र कारवाही गर्ने निकाय खडा गर्न पैरवीको काम गरिरहेको छ । यस्तै पत्रकार महिलाका विशेष अवस्था गर्भवती र सुत्केरीलाई सम्वोधन गर्दै तलबी विदाको व्यवस्था गर्न समेत माग गरेको छ ।






प्रतिक्रिया