अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय सामाग्रीमाथि लाग्दै आएको भन्सार शुल्क २५ प्रतिशतबाट १८ प्रतिशतमा झारिएको घोषणा गरेका छन् । रुसबाट तेल खरिद बन्द गर्न भारत तयार भएसँगै ट्रम्पले यस्तो घोषणा गरेका छन् ।
भारतले अब अमेरिकामाथि लगाएका व्यापार अवरोधहरुलाई पनि कम गर्नेछ । त्यस्तै, रुसको साटो अमेरिका र भेनेजुएलासँग तेल किन्नेछ ।
‘नरेन्द्र मोदीको आग्रहमा उनीसँगको मित्रता र सम्मानका कारण हामी तत्कालै अमेरिका र भारतबीच व्यापार सम्झौता गर्न सहमत छौंं,’ मोदीसँगको टेलिफोन संवादपछि ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन् ।
५ सय बिलियन डलरभन्दा धेरै मुल्य बराबरको अमेरिकी उर्जा, प्रविधि, कृषि र अन्य उत्पादक किन्नका लागि पनि मोदी प्रतिवद्ध रहेको ट्रम्पले बताएका छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यस निर्णयबाट खुसी रहेको बताएका छन् । ‘मित्र ट्रम्पसँग कुराकानी गर्न पाउँदा निकै खुसी लागेको छ । भारतमा बनेका सामाग्रीमाथि अब भन्सार घटेर १८ प्रतिशतमात्रै लाग्नेछ, यसले हर्षित छु’ मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘भारतका १ अर्ब ४० करोड जनताको तर्फबाट ट्रम्पलाई यस घोषणाका लागि धन्यवाद् छ ।’
विश्का दुई ठूलो प्रजातान्त्रिक देशबीच लामो समय चलेको व्यापार तनावपछि यस्तो सहमति भएको हो । गत अगस्टमा ट्रम्पले भारतबाट अमेरिकामा आयात हुने सामाग्रीमा भन्सार शुल्क दोब्बर बनाएर ५० प्रतिशत पुर्याउने चेतावनी दिएका थिए ।
भारतलाई रुसी तेल खरिद नगर्नका लागि दबाब दिन यसरी भन्सार शुल्क बढाइएको थियो । यसै महिनाको सुरुवातमा अमेरिकाले रुससँग तेल खरिद बन्द गर्नका लागि फेरि दबाब दिएको थियो । -ekantipur






प्रतिक्रिया