हेटौंडा । हेटौंडा बजार क्षेत्रको मुख्य सडकमा ५ सय ३१ संरचना शनिबार एकै दिन भत्काइएका छन् । डिभिजन सडक कार्यालय हेटौंडाले बिहान झिसमिसेदेखि साँझसम्मै डोजर चलाएर संरचना भत्काएको हो ।
हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको पसल रहेको भवन सबैभन्दा पहिले भत्काइएको थियो । संरचना हटाउन कडा सुरक्षाबीच आधा दर्जन डोजर प्रयोग गरिएको थियो । रातोमाटेदेखि चौकीटोलको लोकप्रिय होटलसम्म र बुद्धचोकदेखि राप्ती पुलसम्मका संरचना भत्काइएको डिभिजन सडक कार्यालय हेटौंडाका प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिए ।
सडक दायाँबायाँका संरचना हटाउने विषयमा लामो समयदेखि विवाद हुँदै आएको थियो । हेटौंडा बजार क्षेत्रमा ‘सडक अतिक्रमण गरी बनाइएका संरचना’ भत्काउने भन्दै सूचना सार्वजनिक भएपछि त्यसविरुद्ध १६ मंसिरमा सर्वोच्च अदालतमा रिट दायर भएको थियो । रिटमाथि सुनुवाइ गर्दै शुक्रबार सर्वोच्चले ‘सूचना कार्यान्वयन नगरी यथास्थितिमा राख्नू, राख्न लगाउनू’ भनी अल्पकालीन अन्तरिम आदेश जारी गरेर २६ मंसिरमा दुवै पक्षलाई छलफलमा बोलाएको थियो । अदालतको आदेश नसुनेको र पत्र पनि नआएको भन्दै डिभिजन सडक कार्यालयले संरचना भत्काएको हो ।
सडकको सीमा क्षेत्रभित्र पर्ने संरचना हटाउने कोसिस गर्दै आएको तर पहिले नसकिएको सडक विभागका महानिर्देशक विजय जैसीले बताए । ‘०२१ सालको राजमार्ग ऐनले सडकको सीमा क्षेत्र २५ गज तोकेको थियो,’ उनले भने, ‘पहिलादेखि नै सडक सीमाका संरचना हटाउन लागिरहेका थियौं तर अदालती मुद्दामामिलाका कारण रोकिँदै आएको थियो ।’






प्रतिक्रिया