मिटरब्याज पीडितहरूको काठमाडौं केन्द्रित पैदल न्याय मार्च तीन दिनदेखि बाराको निजगढमै रोकिएको छ । सरकारसँग वार्ता जारी रहेकाले पीडितहरू विगत तीन दिनदेखि निजगढ उद्योग वाणिज्य संघको सभाहलमा बसिरहेका छन् ।
मंगलबार बिहानदेखि गृहमन्त्री सुधन गुरुङसँग चार चरणमा वार्ता भए पनि ६ बुँदे मागसम्बन्धी मस्यौदामा लिखित सहमति हुन नसक्दा अन्योल कायम छ ।
मिटरब्याज पीडित अभियन्ता लक्ष्मी घिमिरेका अनुसार बुधबार राति ८:१५ बजेदेखि सरकार र आन्दोलनरत पक्षबीच चौथो चरणको वार्ता तथा संवाद करिब चार घण्टा चलेको थियो तर, वार्ता निष्कर्षमा पुग्न नसकेपछि कुनै सहमति हुन सकेन ।
उनका अनुसार विवादको मुख्य विषय ६ बुँदे सहमति–पत्रको मस्यौदा नै हो । ‘गृहमन्त्रीज्यूले स्वीकार गरिसक्नुभएको ६ बुँदे सहमति–पत्रको मस्यौदालाई हुबहु लिखित रूपमा हस्ताक्षर गरी आधिकारिक वैधानिकता दिनुपर्छ भन्ने हाम्रो स्पष्ट अडान छ,’ घिमिरेले भनिन् ।
जनकपुरधामबाट असार २५ गते काठमाडौं केन्द्रित पैदल न्याय मार्च सुरु गरेका मिटरब्याज पीडितहरूले फर्जी तमसुक तथा लिखत खारेज, मिटरब्याज नियन्त्रणका लागि विशेष कानुन निर्माण, विशेष न्यायिक संयन्त्र गठन तथा विगतका सम्झौताहरू कार्यान्वयनलगायत ६ बुँदे माग अघि सारेका छन् ।






प्रतिक्रिया