मनसुनजन्य विपद् प्रतिकार्यमा जुट्यो सरकार, सुरक्षा निकाय हाई अलर्टमा « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

मनसुनजन्य विपद् प्रतिकार्यमा जुट्यो सरकार, सुरक्षा निकाय हाई अलर्टमा



देशभर मनसुनी प्रणाली सक्रिय भएसँगै बाढी, पहिरो र डुबानको जोखिम बढेको छ। बुधबार र बिहीबार मौसम थप प्रतिकूल रहने पूर्वानुमानपछि सरकारले विपद् प्रतिकार्यका लागि सुरक्षा निकाय र सरकारी संयन्त्रलाई उच्च सतर्कतामा राखेको छ।

बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मनसुन थप सशक्त बनेपछि देशभरका जोखिमयुक्त क्षेत्रमा उद्धार र राहतका लागि सुरक्षाकर्मीहरू तैनाथ गरिएको छ।

सशस्त्र प्रहरीको ५४ मनसुन प्रतिकार्य बेस

सशस्त्र प्रहरी बल (एपीएफ) ले विपद्का बेला तत्काल उद्धार टोली खटाउन सहज होस् भनी देशभर ५४ स्थानमा ‘अस्थायी मनसुन प्रतिकार्य बेस’ स्थापना गरेको छ। एपीएफ प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार १६ वटा अति जोखिमयुक्त स्थानमा भने जनशक्ति र स्रोतसाधनसहितका स्थायी बेसहरू नै तयारी अवस्थामा छन्।

विपद्को सूचना लिन सशस्त्र प्रहरीले ‘एपीएफ कम्युनिटी अलर्ट सिस्टम’ मोबाइल एप र १११४ हटलाइन सेवा सञ्चालनमा ल्याएको छ। प्रवक्ता कार्कीले भने, ‘नागरिकले एपमार्फत सूचना दिनेबित्तिकै नजिकको बाहिनीमा जानकारी पुग्छ र उद्धार टोली तत्काल घटनास्थलमा खटिन्छ। हामी चौबिसै घण्टा तयारी हालतमा छौँ।’

‘एकीकृत बस्ती नहुँदा व्यवस्थापन चुनौतीपूर्ण’

प्रतिनिधिसभाको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले विपद् व्यवस्थापनका लागि जनशक्ति र प्रविधिको व्यवस्था विगतभन्दा सुधारिएको भए पनि भूगोलका कारण केही चुनौती बाँकी रहेको बताए। छरिएर रहेका पहाडी बस्ती र खोला किनारमा रहेका तराईका बस्तीमा राज्यको पहुँच पुर्‍याउन अझै मिहिनेत आवश्यक रहेको उनको भनाइ छ।

उनले भने, ‘स्थानीय तह विपद्को अग्रपङ्क्तिमा रहेकाले उनीहरूलाई थप स्रोत–साधनयुक्त बनाउनु आवश्यक छ। विशेषगरी राजमार्ग क्षेत्रमा रहेका ‘ब्ल्याक स्पट’ पहिचान गरी सुधार गर्न र पूर्वसूचना प्रणालीलाई कडाइका साथ पालना गर्न हामीले ध्यान दिनुपर्छ।’

नेपाली सेनाको तीन चरणको विशेष कार्ययोजना

नेपाली सेनाले पनि बाढी–पहिरोबाट हुने क्षति न्यूनीकरण गर्न तीन चरणको पूर्वतयारी अघि बढाएको छ। प्रवक्ता राजाराम बस्नेतका अनुसार पहिलो चरणमा योजना अद्यावधिक र संयुक्त अभ्यास, दोस्रोमा स्रोत-साधनसहितको पूर्व तैनाथी र तेस्रोमा प्रतिकार्य र पृष्ठपोषणलाई प्राथमिकता दिइएको छ।

बस्नेतका अनुसार, नेपाली सेनाले हवाई उद्धारका लागि इटहरी, सुर्खेत र काठमाडौँमा हेलिकप्टरहरू तयारी अवस्थामा छन्। त्यस्तै, पूर्वाधार सहयोगका लागि धादिङ, चितवन र बारामा बेली ब्रिज स्ट्यान्डबाइ राखिएको छ।

त्यस्तै, स्वास्थ्य सेवाका लागि आपत्कालीन मेडिकल किटसहितका फिल्ड अस्पतालहरू तयारी हालतमा रहेका बस्नेतले जानकारी दिए ।

सेनाले विपद्का घटनामा तत्काल जानकारी गराउन स्थानीय विपद् व्यवस्थापन समिति वा सेनाको जनसम्पर्क निर्देशनालयमा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। साथै, सरकारले जारी गर्ने मौसम पूर्वानुमानलाई नियमित पछ्याउन र उच्च सतर्कता अपनाउन पनि सेनाले अपिल गरेको छ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  १२ : २७ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री