राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य डा. लिली थापाले अनाधिकृत मान्छेहरू गएर वीरगञ्जमा सडक विस्तारको नाममा नागरिकको घर तथा पसलमा डोजर चलाएको आरोप लगाएकी छन्।
आइतबार शान्तिका लागि सामूहिक अभियान (कोक्याप)ले आयोजना गरेको मानवअधिकार रक्षकहरूको राष्ट्रिय सम्मेलनमा उनले गृह मन्त्रालयबाट आएको भन्दै अनाधिकृत मान्छेहरूले सडक भत्काएको बताएकी हुन्।
पर्याप्त समय र वैकल्पिक व्यवस्था नदिई सडक विस्तारका लागि संरचना भत्काइएको उनको भनाइ छ। थापाका अनुसार सडक विस्तारका क्रममा बैंक ऋण लिएर व्यवसाय सञ्चालन गरिरहेका सर्वसाधारणलाई आफ्नो पसल तथा सामान समेत सार्नसमेत नदिएको उनले बताइन्।
उनले विकास आयोजनाका नाममा नागरिकलाई विस्थापन गर्न नहुने बताइन्। भरतपुरमा सडकको चौडाई ३० मिटरबाट ५० मिटर बनाउने प्रस्ताव गरिएको उल्लेख गर्दै उनले त्यसले थप १० हजार व्यक्ति प्रभावित हुन सक्ने बताइन्।
उनले भनिन्, ‘सिडिओलाई अगाडि राखेर बाहिरको मान्छे गएर दबाएर बाटो भत्काएर रुवाबासी गराएको छ। हिजो भत्काएका सुकुम्बासीले चिउरा खान नपाएर मरिरहेका छन्। हामीलाई के एकदम बेइजिङको जस्तो हाइवे बनाउनु छ? अब भरतपुरमा पनि ३० मिटरबाट ५० मिटर बनाउने रे! भनेर नगरपालिकाले निर्णय गर्न लागेको छ रे। त्यो बनायो भने अर्को १० हजार सुकुम्बासी हुन्छन्। के हामी त्यो कम्पन्सेसन दिन सक्षम छौँ?’






प्रतिक्रिया