काठमाडौँ । बालविवाह अन्त्यका लागि सक्रिय राष्ट्रिय सञ्जाल ‘बालिका दुलही होइनन् नेपाल (जिएनबी नेपाल)’ ले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा ध्यानाकर्षण पत्र हस्तान्तरण गर्दै “बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तथा कार्ययोजना, २०८२” को प्रभावकारी कार्यान्वयनका विषयमा आग्रह गरेको छ।
जिएनबी नेपालका अध्यक्ष प्रकाश खतिवडाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री सीता बादीसमक्ष उक्त ध्यानाकर्षण पत्र बुझाएको हो। सो क्रममा जिएनबी ग्लोबलका तर्फबाट सृष्टि कोलक्षपतीले बालविवाह अन्त्यका लागि गरिएको प्रयास बारेमा बताउँदै मन्त्रालयसँग समन्वय र सहकार्य आवश्यक रहेको बताइन् ।

ध्यानाकर्षण पत्रमा सन् २०३० सम्म नेपालमा बालविवाह अन्त्य गर्ने राष्ट्रिय प्रतिबद्धता हासिल गर्न राष्ट्रिय बाल अधिकार परिषद्, प्रदेश तथा स्थानीय बाल अधिकार समितिहरूलाई नेतृत्वदायी, जवाफदेही तथा अनुगमनकारी भूमिकामा सक्रिय बनाउनुपर्ने, तथ्याङ्क प्रणाली सुदृढ गर्नुपर्ने, समयबद्ध कार्यतालिका र प्रगति सार्वजनिक गर्नुपर्ने, प्रदेश र स्थानीय तहमा बजेट सुनिश्चित गर्नुपर्ने, लैङ्गिक रूपान्तरणकारी दृष्टिकोणसहित बहु–क्षेत्रीय सहकार्य बढाउनुपर्ने लगायतका सात बुँदे सुझाव समेटिएका छन्।
ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री बादीले बालविवाह अन्त्य जस्तो गम्भीर सामाजिक समस्यामा जिएनबी नेपालको निरन्तर प्रयासको प्रसंशा गरिन् । सरकारले गर्नुपर्ने काममा सहयोगी भूमिका निर्वाह गर्दै नीतिगत वकालत गरेकोमा धन्यवाद ज्ञापन गर्दै मन्त्रालय सरकारका कार्यक्रम र नीतिहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न जिएनबी नेपालसँग सहकार्य गर्न तयार रहेको मन्त्री बादीले बताइन् । उनले बालविवाह अन्त्यका लागि यसको मूल कारणमा काम गर्नुपर्ने र लैङ्गिक रूपान्तरणको क्षेत्रमा विशेष ध्यान दिनुपर्ने धारणा राखिन् ।
भेटघाटमा जिएनबी नेपालका निवर्तमान अध्यक्ष निरिजना भट्ट, निवर्तमान उपाध्यक्ष सुनिल यादव, सदस्य संस्था ‘आवाज’की कार्यकारी निर्देशक पवित्रा शाही, सचिवालय प्रबन्धक इलावती केसी तथा लुनिभा सचिवालय प्रतिनिधि सुचित्रा थापाको सहभागिता रहेको थियो।
जिएनबी नेपालले सरकारसँगको सहकार्यलाई अझ सुदृढ बनाउँदै बालविवाहमुक्त नेपाल निर्माणका लागि निरन्तर नीतिगत वकालत, सामाजिक सचेतना र समुदायस्तरका कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।






प्रतिक्रिया