मला कार्की स्मृति प्रतिष्ठानले महिला भिडियो ग्राफर विष्णु पन्थीलाई सम्मान गरेको छ ।
नेपाल टेलिभिजनकी पहिलो महिला भिडियो पत्रकारको रूपमा इतिहास रच्न सफल पन्थीलाई सञ्चार क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै सम्मान गरिएको हो।
चन्द्रागिरि नगरपालिकास्थित कमला कार्की स्मृति प्रतिष्ठानले आइतबार आयोजना गरेको १०औँ स्मृति दिवसको अवसरमा उनलाई ताम्रपत्रसहित सम्मान पत्र प्रदान गरिएको थियो । लामो समयदेखि काँधमा क्यामरा बोकेर समाजका दृश्य र आवाजहरूलाई सञ्चार माध्यमसम्म पुर्याउँदै आएकी पन्थीलाई एक कुशल तथा समर्पित भिडियो पत्रकारका रूपमा सम्मान गरिएको आयोजक पक्षले जनाएको छ।
सम्मान ग्रहणपछि बोल्दै पन्थीले भिडियो पत्रकारिता केवल एउटा पेशा मात्र नभई समाजलाई बुझ्ने र देख्ने विशेष माध्यम भएको उल्लेख गरिन्। उनले भनिन्, “सुरुका दिनमा महिलाले पनि भिडियो पत्रकारिता गर्न सक्छन् र ? भन्ने प्रश्नहरू धेरै उठ्थे । तर दृढ संकल्प र निरन्तर मिहिनेतले आज मलाई यो स्थानसम्म ल्याएको छ। यो सम्मानले म जस्तै भिडियो पत्रकारितामा भविष्य खोजिरहेका अन्य महिला साथीहरूलाई पनि थप हौसला मिल्नेछ भन्ने विश्वास लिएकी छु।”
समारोहमा उपस्थित वक्ताहरूले पन्थीलाई नेपाली भिडियो पत्रकारिताको क्षेत्रमा ‘ब्रेकिङ ब्यारियर’ अर्थात् स्थापित मान्यतालाई तोड्ने व्यक्तित्वको रूपमा उल्लेख गरेका थिए। नेपाल टेलिभिजनकी पहिलो महिला भिडियो पत्रकार हुनुका नाताले पनि यो सम्मानको विशेष अर्थ र महत्व रहेको उनीहरूको भनाइ थियो।
ब्राइट फ्युचर माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।






प्रतिक्रिया