अजवी पौड्याल
मकवानपुर । मकवानपुर मनहरी प्रतापपुरमा बस्ने विमला तामाङ निर्माण तथा कृर्षि मजदुर हुन् । उनी आफै पनि श्रमीक हुन् भने अन्य श्रमीक महिलालाई परेको अन्यायको विषयमा आवाज उठाउँछिन् ।
अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमीकहरु मिलेर प्रतापपुरमा गोदावरी कृषक समुह खोलेका छन् । यसको सदस्य पनि हुन विमला । यो समुहले कृषि मजदुर र निर्माण श्रेत्रमा काम गर्ने महिलाहरुको हकहितको विषयमा आवाज उठाउँछ । गतबर्ष मनहरी गाउपालीका ६ प्रतापपुरमा रहेको स्थानीय सडक मर्मतका लागी पालीकाबाट बजेट आएको थियो । बाटोको पर्खाल निर्माणमा विमला लगायतका महिलाहरु खटिए ।
गाउँमै गठन भएको उपभोक्ता समितीले पालीकाबाट प्रत्येक कामदारको ८७५ का दरले ज्याला पाउने रैछ । तर काम जिम्मा लिएको ठेकेदारले काम गर्ने श्रमीक महिलालाई ७०० का दरले मात्रै ज्याला थमाए । यो विषयमा विमला लगायतको समुहले पालीकामा गुनासो गरे । उनीहरुले यो पटक देखी ८०० का दरले ज्याला दिने बताएका छन् । तर पर्खाल बनाउँदा उपभोक्ता समितीको ठेकेदारले खाएको ज्यालाको विषयमा सम्वोधन भएन । पालिकाले महिला श्रमीकलाई न्याय दिएन ।
विमला भन्छीन्, ‘महिलाहरु जता पनि ठगीन्छन् । सरकारी काममा नै महिला श्रमीकहरु यसरी ठगीन्छन् । श्रमीकको ज्यालामा समेत गाँउकै विचौलीयाको आखा लागेपछि यो बर्ष काम गर्न मन लागेन । समितीको हातमा मजदुरको पैसा पठाउँदा सधै ठगीने उनले बताइन । उनी भन्छिन्, ‘हामीले काम गरेको हो भने पालिकाले तोकेकै ज्याला हामीले सवै पाउनुपर्छ । विचमा बसेर हाम्रो ज्याला खाने अधिकार कसैलाई छैन ।’ यो त एउटा उदाहरण मात्रै हो । यस्तै घटना श्रमीक महिलाले प्राय सधै भोग्छन । यो समस्या मकवानपुरको मात्रै नभएर देशैभरको हो ।
मनहरी गाउपालीकाको हाडिखोलामा बस्ने सविता भुजेलको श्रीमान श्रीमतीले काम गरेको ज्याला पाउनको लागी प्रहरी कार्यालयमा धाइरहेकी छन् । गत वर्ष उनीहरुको दम्पती काम गर्नको लागी जनकपुर पुगेको थियो । त्यहाँ उनीहरुले ६ महिना १५ दिन काम गरे । पेटी ठेकेदार बलबहादुर राईले उनीहरुलाई जनकपुर लगेका थिए । उनीहरुले काम गरेको ज्याला मात्रै २ लाख बढि लिन बाकी छ । तर अहिलेसम्म पाएका छैनन् ।
यो बीचमा सविताको श्रीमान बिरामी भएर विते । तर उनले काम गरेको ज्याला अहिलेसम्म पाएका छैनन् । श्रीमान बिरामी हुँदा उपचार गर्ने पैसा नभएर श्रीमान गुमाउनुपरेको सविताले बताइन् । सविता पटक पटक जनकपुर पुगीन, उनीहरुलाई काम दिलाउने मुख्य ठेकेदार विरुद्ध उजुरी पनि गरिन । प्रहरीले पक्राउ पनि ग¥यो । मुख्य ठेकेदारले मजदुरले पाउने सवै ज्याला बलबहादुर राईलाई दिएको बताएका थिए । प्रहरीमा प्रमाण पनि देखाए र छुटे । उनीहरुको ज्यााल खाएर भागेका बलबहादुर राई अहिले फरार छन् ।
डोटी जिल्लाको दिपायल सिलगढी नगरपालीकाको न्यायिक समितीमा केहि समयअघि एउटा उजुरी प¥यो । उजुरी श्रमीक महिला सिताकुमारी पार्कि लगायतले काम गरेको ज्याला नपाएको भन्दै न्यायिक समितीमा उजुरी दिएका थिए । पार्कि दिपायलमै निर्माण क्षेत्रमा काम गर्ने श्रमीक महिला हुन् । उनले घर बन्दै गर्दा गिट्टी बालुवा वोक्ने, मसला बनाउने, गाह्रो लगाउने जस्ता काम गर्छिन । दिपायलमा उनीसंगै काम गर्ने धेरै महिला श्रमीक छन् ।
न्यायिक समितीमा परेको उजुरीमा घर बनाउने काममा संलग्न महिलाहरुलाई ज्याला नै नदिई ठेकेदार फरार रहेको विषय थियो । पार्कि भन्छिन्, यो भन्दा पहिले त झन सरकारी स्कुल बनाउने काममा खटिएका श्रमीकले नै ज्याला पायका थियनन् । स्कुल निर्माणमा खटिएका श्रमीकहरुलाई काम लगाउने ठेकेदार पैसा लिएर भागेका थिए । उनीहरुले अहिलेसम्म पनि ज्याला पाएका छैनन ।
नगरपालिकाको उपमेयर तथा न्यायिक समिती प्रमुख कलावती महर साउदका अनुसार काम जिल्ला लिने ठेकेदार नै पहिचान नभएकाले ज्याला दिलाउन समस्या परेको छ । उनी भन्छिन्, यो मुद्दाको विषयमा हामी पटक पटक अनुगमनमा गएका थियौं । घर बनाउने ठेक्का एउटाले लिने र उसले अर्कोलाई ठेक्कामा दिने हुदा श्रमीकहरु समस्यामा परेका हुन् ।
पाल्पाको बगनाशकाली गाँउपालीकाकी अनिता गाँहा कृषि तथा निर्माण काममा सक्रिय श्रमीक हुन् । उनी उक्त क्षेत्रमा श्रमीकहरुमाथी हुने विभेद, असमान ज्याला, सेवासुविधा लगायतको विषयमा आवाज उठाउँदै आएकी छन् । उनी भन्छीन्, ‘श्रमीक महिलामाथी हुने असमान ज्याला र विभेदको समस्या डोटी र बर्दियामा मात्रै हैन, काम लगायर पैसा नदिइ ठेकेदार भाग्ने समस्या पुरानै हो । पछिल्लो समय त सरकारी ठेक्का जिम्मा लिएका व्यक्तिहरुले उक्त काम अरुलाई जिम्मा दिने प्रवृति ‘पेटी ठेकदार’ हरुको कारण देशभरका श्रमीक पीडित छन् । न उचित सेवासुविधा न त दुर्घटना बिमा, वा स्वास्थ उपचारको सेवा नै । र पनि न्यून ज्यालामा काम गर्न बाध्य छन् श्रमीकहरु ।
उनी भन्छिन्, ‘बगनाशकाली गाँउपालीकामा केहि समय अघि पालीकोको संरचना निर्माण गरेको ज्याला नै नपाएर श्रमीकहरु समस्यामा परेका थिए । पालीकाले एउटालाई ठेक्का दिन्छ र भुक्तानी गर्छ । उसले अर्कालाई जिम्मा दिन्छ, यस्तो प्रवृतिले श्रमीकहरु ज्याला नपाउने समस्या भोगीरहेका छन् ।
नेपालको श्रमशक्ति सर्वेक्षण २०१७÷१८ का अनुसार कुल रोजगारीको ८४.६ प्रतिशत जनसंख्या अनौपचारीक श्रममा संलग्न छन् । यसमा ९० प्रतिशत संलग्नता महिलाहरुको छ । कृषि क्षेत्रमा काम गर्ने महिला श्रमीकले पुरुषभन्दा झण्डै १० प्रतिशत कम ज्याला पाउने गरेका छन् । अनौपचारिक श्रमक्षेत्रमा काम गर्ने महिलाहले ज्यालामा विभेद, हिंसा तथा कर्यस्थलमा असुरक्षित वातावरणको सामना गरिरहेका छन् ।
अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक महिलाहरु काठमाडौमा भेला भएका थिए । ५ प्रदेशका १३ जिल्लाबाट प्रतिनिधित्व गर्दे काठमाडांैमा उपस्थित भएका श्रमीक महिलाहरु विभिन्न मागहरु राखी, पुरा गर्नको लागी सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । उनीहरुले श्रमीक महिलाहरु आधारभूत सेवा सुविधाबाट समेत बञ्चित हुनुपरेको बताएका थिए । कामको सिलसिलामा अन्यायपूर्ण व्यवहार हुने गरेको तथा न्यूनतम ज्याला समेत पाउन नसकेकोे गुनासो गरेका थिए ।
कामको क्रममा हुने चोटपटकको उपचारका लागि दुर्घटना बिमाको व्यवस्था हुनुपर्ने, श्रमिकको शोषण भएकोबारे सम्बन्धित निकायले प्रभाकारी अनुगमन हुनुपर्ने तथा योगदानमा आधारित सामाजिक सुरक्षाको व्यवस्था हुनुपर्ने उनीहरुको माग छ । आफूहरूको समस्या समाधानका लागि स्थानीय पालिकाले वेवास्ता गर्दा थप समस्या हुने गरेको उनीहरूले बताएका थिए ।
बर्दियाकी महिला श्रमिक अभियन्ता गीता कुमालले महिला श्रमिकहरूले घरायसी, कृषि, निर्माण तथा इँटा भट्टाजस्ता क्षेत्रमा काम गर्दा न्यूनतम अधिकारसमेत नपाएको बताउँछिन् । उनी भन्छीन्, बर्दिया, बाके, लगायतका जिल्लाहरुमा पेटी ठेकेदारको आतंक नै छ । केहि समयअघि ६०० बढि श्रमीकहरु ज्यालाको विषयमा ठगीएको भन्दै हामीले स्थानीय तहमा निवेदन दिएका थियौ । ज्यालाका लागी आन्दोलन नै गर्नुप¥यो । निजी काममा भन्दा सरकारी कामको ठेक्कामा ठगीनेहरु धेरै छन् ।
बर्दियाको कृषि क्षेत्रमा काम गर्ने श्रमीक गीता भन्छीन्, ‘घरायसी श्रमिकले बिनाछुट्टी काम गर्नुपर्ने, बिरामी पर्दा उपचार खर्च आफैं बेहोर्नुपर्ने तथा कामबाट एक दिन छुट्टी लिँदा दोब्बर काम गर्नुपर्ने अवस्था छ । यो सारै विभेदकारी विषय हो । राज्यको प्राथमिकतामा कहिल्यै पनि श्रमीक अझ महिला श्रमीक पर्दे नपर्ने उनको गुनासो छ । उनी भन्छिन्, बच्चा बच्ची साना भएका महला श्रमीकको अवस्था त झन् भयावह छ । उनीहरुले काम गर्ने ठाँउमा बच्चालाई लग्दा काम नै खोसिने तथा गाली खाइने डर हुन्छ ।
इँटा भट्टामा तातो इँटा समाउँदा हातको छाला नै उखेलिने, कार्यस्थलमा शौचालय, पानी र छानाको अभाव हुने गरेको छ । महिनावारीका समयमा सरसफाइ र विश्रामको व्यवस्था नहुँदा महिलाहरु थप पीडा भोग्नुपर्छ ।
यस्तै समस्या भोगीरहेका छन्, पर्साकी कृषि श्रमीक आमना खातुन, धादिङकी सजिना राई, महोत्तरीकी रन्जु कुमारी चौधरी । पर्साकी कृषि मजदुर अमना खातुङ भन्छिन्, दिनभरी काम गरेको २ किलो धान दिन्छन् । उनीहरुलाई काम पर्ना साथ पुगीहाल्नुपर्छ । १ दिन जान नसके कामबाट निकालिदिन्छन् । डढेलधुराकी कलावती देवी वोहोरा निर्माण र कृर्षि श्रमीक हुन् । उनी भन्छिन्, ‘श्रमीक महिलामाथीको विभेद र असमान ज्याला जहाँ पनि उस्तै छ । कामको ग्यारेन्टी नै नहुने । काममा जान नसके साझ विहानको गास नै बन्द हुने ।’
अनौपचारिक श्रेत्रमा काम गर्ने श्रमिकलाई स्थानीय तहमा सूचीकृत गर्ने व्यवस्था, न्यूनतम तथा न्यायपूर्ण ज्यालाको सुनिश्चितता, सुरक्षित कार्यस्थल र सुरक्षा सामग्री, दुर्घटना तथा स्वास्थ्य बिमा, गरिनुपर्ने उनीहरुको माग छ । यस्तै महिला श्रमिकमैत्री शौचालय, शिशु स्याहार केन्द्र, स्तनपान कक्ष, नियमित श्रम अनुगमन संयन्त्र, योगदानमा आधारित सामाजिक सुरक्षा र न्यूनतम रोजगारीको ग्यारेन्टी गर्नुपर्ने श्रमीक महिलाको माग छ ।






प्रतिक्रिया