भदौ १७, बुटवल। लुम्बिनी प्रदेशका महिला राजनीतिकर्मीहरूले आफ्ना काम र भूमिकाले मिडियामा स्थान नपाएको गुनासो गरेका छन्। उनीहरूका अनुसार मिडियाले सार्वजनिक चासोका विषयभन्दा व्यक्तिगत जीवन र चरित्रलाई प्राथमिकता दिने प्रवृत्ति देखिन्छ।
मंगलबार बुटवलमा युएन वुमन र मिडिया एडभोकेसी समूहले आयोजना गरेको ‘मिडियामा महिला राजनीतिकर्मी परामर्श कार्यक्रम’ मा सहभागी महिलाले मिडियाले पुरुष सरह आफ्नो कामलाई स्थान नदिएको टिप्पणी गरेका हुन्।
पूर्व प्रदेश मन्त्री भगवती अधिकारीले महिला भएकै कारण जनप्रतिनिधि र राजनीतिकर्मीका रूपमा गरेका कामलाई समाचारमा प्राथमिकता नदिइने बताइन्। कांग्रेस प्रमुख सचेतक जमुना ढकालले मिडियाले महिलालाई कमजोर चित्रण गर्ने, साझा विषयमा स्थान नदिने र योग्यतामाथि शंका गर्ने प्रवृत्ति रहेको उल्लेख गरिन्।
प्रदेश सभा सदस्य जानकी न्यौपानेले महिला प्रमुख अतिथि भए पनि समाचारमा पुरुषलाई मात्र प्राथमिकता दिने प्रवृत्ति रहेको गुनासो गरिन्। प्रदेश सभा सदस्य हेमा बेल्वासे केसीले महिलालाई व्यक्तिगत र पारिवारिक टिप्पणीमा सीमित गर्ने, कसैको पत्नी वा छोरीका रूपमा मात्रै चित्रण गर्ने प्रवृत्तिले राजनीतिकर्मी महिलालाई निरुत्साहित बनाउने धारणा राखिन्।
सिद्धार्थनगर उपप्रमुख उमा अधिकारीले महिला राजनीतिकर्मीको निजी जीवनलाई जोडेर समाचार लेखिने गरेको र यसले राम्रा संचारमाध्यमप्रति पनि नैराश्यता बढाएको बताइन्। बुटवल उपमहानगरकी उपप्रमुख सावित्रा देवी अर्याल, देवदह नगरकी उपप्रमुख विद्यालक्ष्मी गुरुङ र सैनामैना नगरकी उपप्रमुख विना रानाले पनि महिला भएकै कारण उपप्रमुखका जिम्मेवारी र कामलाई समाचारमा प्राथमिकता नदिइने गुनासो गरे।
कार्यक्रममा वरिष्ठ पत्रकार बबिता बस्नेतले महिलाले गरेका कामलाई प्रभावकारी रूपमा प्रस्तुत गर्दै ब्रान्डिङ गर्न आवश्यक रहेको सुझाव दिइन्। लेखक तथा सहजकर्ता उमेश पोखरेलले महिला राजनीतिकर्मी र मिडियाबीच समन्वय र सहकार्य बढाउनुपर्ने धारणा राखे।
परामर्श कार्यक्रममा संविधान सभा सदस्य सोनिया यादव, पूर्व प्रदेश सभा सदस्य रमा अर्याल, राजनीतिकर्मी रीता सेन, सावित्रा घिमिरे, विजयलक्ष्मी यादव, अनिता चौधरीलगायतले अनुभव आदान–प्रदान गरेका थिए।
आयोजकका अनुसार कार्यक्रममा महिला राजनीतिकर्मीहरूको निजी जीवन र चरित्रभन्दा उनीहरूले गरेका काम र एजेन्डालाई प्राथमिकता दिन सामूहिक रूपमा पैरवी गर्नुपर्ने निष्कर्ष निकालिएको छ।
कार्यक्रमको सञ्चालन सञ्चारिका समूह लुम्बिनी प्रदेश अध्यक्ष अमृता अनमोलले गरेकी थिइन्।






प्रतिक्रिया