राजविराज । सप्तरीको राजविराज नगरपालिका–११ मा बुधबार साँझ बलात्कृत भएकी १५ वर्षीया बालिकाको परिवारले प्रहरीमा जाहेरी दिन नमानेपछि पीडित न्यायाविहीन भएकी छन् । बुधवार राती ८ बजे चार जनाका समूहमा आएका ती युवाहरुले घर अगाडी उभिरहेकी पीडित नाबालिकालाई सामूहिक बलात्कार गरेका थिए । छिमेकीले बालिकामाथि जबरजस्ती भएको भन्दै परिवारलाई खबर गरेसँगै खोजीकार्य सुरु गरिएकोमा बालिका भोलिपल्ट बिहान मात्र गाँउ नजिकैको एक कोठामा थुनिएको अवस्थामा भेटिएकी थिइन् ।
आरोपी १९ वर्षीय राजु यादवलाई पीडित परिवारले हातपात गरेपछी घटना सार्वजनिक भएको हो । तर प्रहरीको नियन्त्रणमा रहेका यादवविरुद्ध पीडित परीवारले डर, धम्कीको कारण उजुरी दिन नसकेको पाइएको छ । सामूहिक बलात्कार घटना खुलेपछि मिलापत्रका लागि बसाइएको ‘पञ्चायती’ मा पीडित परिवारले जाहेरी दिने अडान नछाडेपछि प्रलोभन देखाउन र धम्क्याउन थालिएको थियो ।
बालिका घर फर्किएदेखि नै जाहेरी नदिन पीडक पक्षले दबाब दिँदै आएको थियो । मिलापत्रका लागि वडाध्यक्ष उदितनारायण यादव समेतको उपस्थितिमा शुक्रबार बिहान साढे ८ बजे स्थानीय स्वास्थ्य चौकीमा ‘पञ्चायती’ बोलाइएको थियो । पीडित परिवार पनि पञ्चायतीमा उपस्थित भएको थियो । पञ्चायती एक घण्टामै बिथोलिएपछि आरोपीका परिवारजनले घरमै आएर जाहेरी नगर्न आग्रह गरेको र नमानेपछि विस्थापित गरिदिने धम्की दिन थालेको स्थानीयको भनाइ छ ।
पीडित बालीकाकी दाजुले पञ्चायतीमा उपस्थित सबैले एक लाख रुपैयाँ लिएर घटना मिलाउन दबाव दिएको बताए । जातीय आधारमा आरोपी पक्षको बाहुल्य भएको र जाहेरी दिनसाथ उनीहरुसँगको सम्बन्ध बिग्रने जोखिम देखेपछि उजुरी दिन समस्या भएको परिवारले जनाएको छ । जिल्ला प्रहरीछेउमै रहेको जिल्ला समन्वय समिति परिसरमा शुक्रबार साँझ ६ बजे चिन्तित अवस्थामा भेटिएका पीडितका हजुरबुवाले भने, ‘मिलापत्रका लागि पैसा लिन मानेका छैनौं । मुद्दामा जाँदा इज्जत पनि जाने र गाउँका कोही आफ्नो नरहने चिन्ता छ ।’
उता वडाध्यक्ष यादवले भने पञ्चायतीमा गल्ती गर्नेलाई कानुनअनुसार कारबाही हुनुपर्ने विषय मात्रै आफूले बोलेको दाबी गरे । आफूमाथि लागेको आरोपको खण्डन गर्दै पञ्चायतमा आफ्नो सहभागीता नरहेको उनको दाबी छ ।
जल्ला प्रहरी कार्यालयले बिहीबार पीडित बालिकालाई समेत बोलाई प्रारम्भिक बयान लिएको थियो । बालिकाले १८ र १९ वर्षका दुई जनाले बलात्कार गरेको तथा अन्य दुई जनाले सघाएको बयान दिएकी छन् । जिल्ला प्रहरीका सूचना अधिकारी डीएसपी जितेन्द्रकुमार बस्नेतले पीडित परिवारबाट घटना भएको दुई दिनसम्म पनी जाहेरी नपरेको बताए । जाहेरी नआउँदा मुद्दा प्रक्रिया अघि बढाउन समस्या भएको प्रहरीले जनाएको छ ।






प्रतिक्रिया