काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले एमालेकी राष्ट्रिय सभा सांसद भगवती न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त गरेका छन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले राष्ट्रपति पौडेलले न्यौपानेलाई मन्त्री नियुक्त गरेकी जानकारी दिए ।
यसअघिका सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले मंगलबार बिहान राजीनामा दिएका थिए । घूस संवाद गरेको अडियो सार्वजनिक भएपछि उनले राजीनामा दिएका थिए ।
को हुन् नवनियुक्त मन्त्री न्यौपाने?
तनहुँको भानु नगरपालिका–८ देउरालीटारकी न्यौपाने २०७६ माघमा भएको राष्ट्रिय सभा निर्वाचनमा तत्कालीन नेकपाबाट उम्मेदवार भएर निर्वाचित भएकी थिइन्।
गण्डकी प्रदेशबाट न्यौपाने र तत्कालीन नेकपाका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए। श्रेष्ठ अहिले नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष छन् भने न्यौपाने एमालेकी केन्द्रीय सदस्य तथा राष्ट्रिय सभामा दल नेता छिन्।
यसअघि २०७४ सालको स्थानीय निर्वाचनमा न्यौपाने भानु नगरपालिकाको मेयरमा उम्मेदवार बनेकी थिइन्। नेपाली कांग्रेसका उदयराज गौलीसँग मेयर हारेपछि न्यौपानेलाई तत्कालीन नेकपाले राष्ट्रिय सभाका सांसद बनाएको थियो।
राष्ट्रिय सभा सांसद बनेपछि न्यौपानेलाई एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले २०८० फागुन २१ गते राष्ट्रिय सभामा एमाले संसदीय दलको प्रमुख सचेतक नियुक्त गरेका थिए।
राष्ट्रिय सभामा उनको कार्यकाल आगामी फागुनसम्म छ।
२०५१ सालदेखि एमालेको सदस्यता लिएकी न्यौपाने २०५६ सालमा जिल्ला कमिटी सदस्य बनेकी थिइन्।
अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य र तनहुँ जिल्ला इन्चार्ज भएकी उनी चितवनमा भएको एमालेको दशौं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी थिइन्।






प्रतिक्रिया